Saturday, August 30, 2014

बाटो र याद

  
ढुंगाका छपनी टाँसेर
ढुंगाकै बिसौनी राखेर
वरपर पर्खाल उठाएर
फूल र रुखहरु लगाएर 
कसले बनायो होला यो बाटो
पछिसम्मलाई सोचेर

यो बनाउँदा उसको हरेक साँझ
बाटोकै चिन्तनमा डुब्यो होला
सपनामा बाटो नै घुम्यो होला
बिहान उठेर धेरैबेर
छपनीकै छनौटमा गम्यो होला
हिंजोभन्दा आज बोटहरुको उचाई
आँख-आँखै दांज्यो होला
छिटछिटो भएको हेर्ने हतारो या   
बेचैनीले गाँज्यो होला

मनको लामो शृंखलाबाट निकालेर
त्यत्रो धैर्यका साथ
कसले जन्मायो यो सुन्दर कला ?

ख्वै,
ऊ कहाँ छ, पत्तो छैन
बर्षौंअघि बितेको पनि हुनसक्छ
बाटो बनाएकै कहिले हो, थाहा छैन
तैपनि हरेक बटुवा उसलाई कल्पन्छ | 

Tuesday, August 26, 2014

धर्ती-पुत्र


धर्तीले बाक्लो हुस्सु ओढदा
मैले पनि पछ्यौरी ओढें
धर्तीले तातो सास फेर्दा
मैले पनि पसिना काढें
धर्तीले हिउँको दोसल्ला बेर्दा
मैले पनि बक्खु भिरें
धर्ती रुझ्दा म रुझें
धर्ती खुल्दा म खुलें
त्यसैले
धर्ती खुम्चिंदा म पनि खुम्चिन्छु
धर्ती टुक्रिंदा म पनि टुक्रिन्छु 
किनभने म धर्ती-पुत्र हुँ | 

झरीको किनार


हिंड्दा हिंड्दै झरी पर्यो  
रुझिनबाट बच्नलाई होला
मानिसहरु ओत खोज्दै दौडिए
झरी बिसाउने आशामा पर्खिरहे
म भनें झरीमा छिरें, लहडमै    
निथ्रुक्क भिज्दै हिडें   
आखिर मलाई थाहा भयो    
झरीको पल्लो किनार पनि हुँदोरहेछ     
जहाँबाट भेटिंदो रहेछ,
अथाह घामको साम्राज्य |

javascript:void(0)