तीर्थ दाई,
आउनुस्
लाहुरे फूलको नाम फेरौं
तपाईं र म मिलेर
एउटा नयाँ नाम हेरौं
शिलालेख झैं यसको चिनामा लेखिएका
“मुग्लान” र “भर्ती” जस्ता शब्दावली केरौँ
अब यसको चिनारीमा “स्वावलम्बन” लेखे कसो होला ?
जरैदेखि शिरा-शिरामा “स्वाभिमान” राखे कसो होला ?
धेरै भो, यो परदेशी नामले सताएको
घरको पिंढीबाट रौनक हराएको
अत्यासको डढेलोले बैंश सुकाएको !
भो ! अब यस्को नाम गाम-बेंसीकै राखौं
हिमाली, पहाडी या मधेसीकै राखौं
कुना काप्चा नभनी स्वदेशीकै राखौं
उदेकलाग्दो गरी,
अझै कतिन्जेल सुन्नु, भो !
फूलको गीतमा पनि लाहुर
फूलको कथामा पनि लाहुर
नाटकमा पनि लाहुर
उपन्यासमा पनि लाहुर !
तीर्थ दाई,
आउनुस्
यो अटुट शृंखलालाई तोडौं
लाहुरकै एकल स्वप्नमा रम्ने
यो असंगत रीतिलाई मोडौं
आजैबाट
यही नयाँ नाम लिएर
तपाईं पुतलीहरुलाई जम्मा पारेर भन्नुस
म माहुरीहरुलाई भेला गरेर भन्छु
तपाईं आकाशलाई सुनाउनुस
म बतासलाई सुनाउँछु
तपाईं घामसंग कुरा गर्नुस
म जूनको कान भर्छु
हुन्छ,
तपाईं बाटोलाई पनि भन्नुस
म माटोलाई भनुँला
तपाईं मल/जलमा मंतर्नुस
म बादललाई खबर गरुंला
तपाईं जंगल छिचोल्नुस
यही नामका साथ
म पर्बत छिचोलुंला
त्यतिले पनि भएन भने
यो नयाँ नाउँलाई
एउटा ठूलो बेलुनमा लेखेर
गाउँ शहरका सबैले देख्ने गरी उडाउँला,
केटाकेटीहरुलाई बुझाउँला
र तन्नेरीहरुलाई सुझाउँला,
बिगतमा जे भयो, धेरै भूल भयो
पसिनाको मूल्य कति असूल भयो ?
रगतको पैंचो समेत फजुल गयो !
अब भने यो फूल “नेपाल-फूल” भयो