विचारै नभएदेखि तिमी बिचरा हौ
पन्छी बिनाका पिंजडा हौ
तिमी खोला भए बिचार पानी हो
हरपल सफा,कलकल पानी
खोलाको सफल जिन्दगानी हो
त्यसको मुहानीमा मैला भरियो भने
हरिया वृक्षको दोहोलो गरियो भने
पानी अबश्य सुक्छ
तर
पानी हिड्नलाई नै खोला हो
पानी नै नभएपछि त्यो बगर हो
बग्ने शाखै गुमाएको सुक्खा डगर हो
हुन त कहिलेकाहीं
विचारहरु
भलबाढी बनेर पनि आउँछन्
आफुलाई गाँजिराखेका
झार पतंग उप्काउँछन्
त्यतिबेलै त्यसलाई चट्ट छोपेर
कुलेसो खोपेर
आफ्नो सामर्थ्यको बारीमा
सोझ्याउन सक्यौ भने पनि
ठूलो परिबर्तन हुनेछ - नसोचेको परिवर्तन !
यसरी
बेलैमा
विचारलाई संगाल्न र अंगाल्न जान्यौ भने
तिमी कहिल्यै कम्जोर हुनेछैनौ
तर, होस गर
बेला टरेपछि,
एक कदम पनि अघि नसरेपछि
विचारहरु फेरि भलबाढी झैं हराउने छन्
तिमीसंग थुप्रै राम्रा बिचारहरु छन् भने
नलुकाऊ
ल्याऊ, बिचारहरुको बिस्कुन फुकाऊ
र आँगनमा उज्यालो घाममा सुकाऊ
तिम्रा बिचारहरु,
एकपल्ट जांची हेरौं
हावामा तैरिंदै सर्दै जाने विचार
विचार होइन, भुस हो त्यो
भुक्क फुलेर फिस्स घट्ने विचार
विचार होइन, तुष हो त्यो
यस्तै नक्कली बिचारहरुले
हाम्रो सारा यौवन खाएका छन्
देशका पुर्जामा खिया जमाएर
उर्जालाई लाहुर पठाएका छन्
रंगीन चुनावी आवरणमा बेरिएका
निकम्मा परजीवी बिचारहरुले
जगदेखि धुरीसम्मै
गाँजेका छन् हामीलाईजागिर पकाउन गुरुहरुले
स्कूलमा यस्तै पढाउँछन्
अखबार यस्तैमा गुजारा चलाउँछन्नेता, प्रणेता, पाका, पठित
यस्तैमा गोलचक्कर लगाउँछन्
आजित भैसकेका छौं हामी
ल्याऊ निकाल स्वाभिमानी बिचारहरु
तिता अमिला नै किन नहून
दिगा भरिला बिचारहरु
खोइ कहाँ छन् खंदिला बिचारहरु ?
खोइ कहाँ छन् जुग परिबर्तनका आधारहरु ?
परिबर्तनको नाममा पटक पटक
उही टिस्स्युले
मुख पुछेका छौं हामीले |
विचारै छैन भने भो आँखा नचम्काऊ
बिचारले हाँक्नेका पछाडी आऊ
किनभने
विचारै नभए तिमी हलुका सुत्ला हौ
घोगाबिनाका भुत्ला हौ
विचारै नभएदेखि तिमी बिचरा हौ
पन्छी बिनाका पिंजडा हौ