दिउँसोको न्यानो घाममा
मस्त पलेंटी कसेर बसेको शरद
मच्चिइ मच्चिइ
रुखका पात पातमा
पालिस लगाउंदै रहेछ
गृष्मको आरनमा रन्किएर
बर्षाले झ्वाइंयँ पारेका रुखहरु
सानी छोरीले
आमासंग कोरीबाटी मागें झैं
आनन्दले थापिइंदा रहेछन
शरदसंग
साँझ नपर्दै
फेरि शरद
कमिजका बाहुलाबाट सुस्तरी भित्र छिरेर
देहको न्यानोमा उँघिरहेका
रौँ रौंलाई उठाउंदै
मलाई बाहिर निस्कन अह्राउँछ
लौ
कानका डिल डिलै हुत्तिएर झरेको ऊ
सुनौला धानका बालाहरुमाथि
नौका शयर गरेको देख्छु म
नागबेली झैं रुखलाई बेर्दै
हर्लक्क बढेका झालपातहरुले
निहुरी निहुरी
तलाउमा ऐना हेर्दै गरेको बेला
नदेखे झैं गरी
त्यहींबाट सुटुक्क तैरिंदैजाने शरद
मक्ख हुँदै
जंगल पसेर रयाइं रयाइं गाएको सुन्छु म
बर्षको एकपल्ट
खरानीमा पकाएर धोएको तन्नाजस्तै
सुकिलो बादललाई
आकाशको एकछेउमा झुन्ड्याएर
जब शरद घुम्न निस्कन्थ्यो नि
घर पोत्न कमेरो र रातोमाटो खन्दै गरेकी
मेरी आमालाई देखेर
ऊ पनि
बुकीफूल र मखमलीलाई साउती मार्थ्यो
विस्मय भावले सयपत्रीलाई घुरेर हेर्थ्यो हेर त,
यसपाली पनि शरदले
आँखाका भित्ताहरुमा अनगिन्ति रंग पोत्दै छ
नाकका भित्र भित्रसम्म सुबास जोत्दै छ
फेरि शरद
मलाई चंगा बनाएर उडाउँछ
पिङमा झुलाउंछ
हाट बजार डुलाउँछ
दशैं, तिहार, जमरा, भाइटीका....
असंख्य मिहिन, शीतल औंलाहरुले मुसारेर
सान्त्वनाले मलाई भुलाउन खोजेपनि
वर्षभरिका भन्दा धेरै सम्झना फुकाउँछ शरद
बर्षभरिको भन्दा धेरै प्रबास दुखाउँछ शरद
तिमी कोठा भित्रै गुम्सिइरहू गम्भीरमान
म त शरद भर्न हिंडें