Wednesday, August 4, 2021

माध्यम

 फूल झैं शब्दको जवाफ

काँडामा आयो त काँडाघारीबाट आयो

प्रेमका उज्याला अक्षरहरू

अँध्यारोको लेप लगाएर फर्किए त

कुनै घृणाको दलदलमा टेकी आए

तिम्रो अन्दाजले ठेस खाएको बेला

नआत्तिऊ,

तिमी आफ्ना शुभेच्छाहरू

पठाई नै रहन सक्छौ जहाँकहीं

कुनै विषाक्त तगारोले नछेक्नेगरी

तिम्रा सन्देशहरू

तिमीले टेकेको धर्तीसंग पठाऊनु

तिम्रा शुभकामनाहरू

तिमीले श्वास फेरेको वायुसंग पठाऊनु

तिमीलाई बचाईराख्ने अग्निसंग

तिमीलाई उठाईराख्ने आकाशसंग

र तिम्रा नसानसामा रक्तप्रवाह गराउने जलसंग

यिनै माध्यमहरूसंग पठाऊनु

यिनको सामर्थ्यमा विश्वास गर्नु

फेरि पनि यसरी

कुनै संकीर्ण क्रुरतासंग हैरान नहुनु

शृष्टिको विशालतामा आफूलाई डल्लै सुम्पिदिनु।

No comments:

Post a Comment

javascript:void(0)