Wednesday, August 4, 2021

घर किन्दैमा

 घर किन्दैमा

घर हुँदैन
घर बनाउनुपर्छ
एउटा जीवंत प्राणीलाई झैं
घरका आँखा
घरका नाक
घरका कान
.............
र घरका हृदयमा
कम्तिमा पनि
एउटा जुन
एउटा फूल
एउटा संगीत
.............
र एउटा मीठो सम्झनाले
भरिरहनुपर्छ
बरू
घरै नहुनु सह्य हुनसक्छ
घर भएपछि भने
यसलाई मनाउनुपर्छ
घरजस्तै बनाउनुपर्छ ।

चोरले

 

चोरले
‘म चोर होइन’ भनिरहेको छ
र ऊ सही छ
फटाहाले
‘ म फटाहा होइन’ भनिरहेको छ
र ऊ सही छ
घूसखोर, तस्कर, भ्रष्टाचारी……
जो जो आफ्नो कसुर नकार्दै छन्
उनीहरु सबै सही छन्
हाम्रा प्रश्नहरू पनि गलत होइनन्
समय र सन्दर्भ फरक हुन्
ऐना र अनुहारको झैं
परिभाषाहरू दायां वायां परेका हुन्
हामी टिकट काटेर
मीठा मीठा सपनाको प्लेटफर्ममा कुरिरहंदा
उनीहरू सित्तैंमा बिपनाको बजार भरिरहेछन् ।

उभिने धराले

 उभिने

धराले पनि हो
जराले पनि हो
आँफुसंग
ठोक्किन आउने बतासमा
संगीत भरिदिनु
आँफुसंग
जोतिन आउने भलबाढीलाई
बाटो चिनाईदिनु
थकित यात्रीलाई
शरण दिनु
र उसका केही भाका सुन्नु
घामलाई सहनु
उस्ले चरक्क पोलेपनि
आँफु शीतल नै रहनु
उन्मादमा नआउनु
भाँचिदा पनि हजारपल्ट
नयाँ पालुवा पलाउनु
धराको भर नभएमा
जरा अझै फैलाउनु
आँत बलियो राख्नु
देखेको छु
जीवन उसैले लामो बांचेको छ
जो यसलाई छोटो सम्झिन्छ ।

गहिरा अक्षरहरु

 वैली जाने फूल

डुबी जाने घाम

छिनमै भागिहाल्ने पुतली

र हराइजाने इन्द्रेणी

यी त हुँदै भए,


पग्लिहाल्ने मन

रसाइहाल्ने आँखा

बसिजाने वाक्य

र उडिजाने अनुहारको रंग

यस्ता नाजुक चिजहरू

नहेरूँ भन्छु, नछोऊँ भन्छु

दुनिया त्यसै गर्न सुर्याउँछ


तर फेरि तिनैले

किन कोर्छन् मेरो हृदयमा

यति गहिरा अक्षरहरू ?

माध्यम

 फूल झैं शब्दको जवाफ

काँडामा आयो त काँडाघारीबाट आयो

प्रेमका उज्याला अक्षरहरू

अँध्यारोको लेप लगाएर फर्किए त

कुनै घृणाको दलदलमा टेकी आए

तिम्रो अन्दाजले ठेस खाएको बेला

नआत्तिऊ,

तिमी आफ्ना शुभेच्छाहरू

पठाई नै रहन सक्छौ जहाँकहीं

कुनै विषाक्त तगारोले नछेक्नेगरी

तिम्रा सन्देशहरू

तिमीले टेकेको धर्तीसंग पठाऊनु

तिम्रा शुभकामनाहरू

तिमीले श्वास फेरेको वायुसंग पठाऊनु

तिमीलाई बचाईराख्ने अग्निसंग

तिमीलाई उठाईराख्ने आकाशसंग

र तिम्रा नसानसामा रक्तप्रवाह गराउने जलसंग

यिनै माध्यमहरूसंग पठाऊनु

यिनको सामर्थ्यमा विश्वास गर्नु

फेरि पनि यसरी

कुनै संकीर्ण क्रुरतासंग हैरान नहुनु

शृष्टिको विशालतामा आफूलाई डल्लै सुम्पिदिनु।

नयाँ बर्ष

 एउटा बाटो

र एउटा वटुवा

दुबै दिग्भ्रमित छन्

मानौंबन्न सकिरहेकै छैन

कुनै परिभाषा

यात्रा र अस्तित्वको

समयको क्यानभासमा

निस्किरहेको छैन

कुनै रंगको अर्थ

यतिवेला

शुरू भएको छ

अर्को एउटा नयाँ वर्ष !

टुक्राहरू

 

बगाउला फूल

पखाल्दैन झरीले

फूलको रंग

झर्ला भुईंमा

उड्दैन असमय

फूलको रंग

 ______________________---

जेठको झरी

भिजेको दाउरामा

तीनोटा आँखा

 ---------------------------

 

एकाबिहानै

पिंग खेलिरहेछ ईन्द्रेणी

माकुराको जालोमा

 

करेलाको फूल

भँवराले नाघिगएको

आजसम्म देखेको छैन ।

 

Don’t get intoxicated

On my false eyes

On the true ones, my wisdom lies.

 

दिनको तलाउमा

पौडंदै गएको घाम

तैरिरहने अन्तिम कसरतमा झैं देखिन्छ

 

बसन्तको फूलले कोरोना भन्दैन

बर्खाको मुलले कोरोना भन्दैन,

यो के भयो भोले, सकस जति हामीलाई

चराहरूको हूलले कोरोना भन्दैन ।

 

चराहरूले किन हेर्नु

आफ्नै काममा खटिएको

सिपाहीतिर ?

 

सिस्नुलाई के थाहा

किन उस्को खोजी हुँदैन

गुलाबको फूलसंगै ।

 

बिशाल ताल

र ठुल्ठुला माछाहरू

मनको अघि सानै हुन् ।

 

ऐना

फूलले हजारचोटी हेरेपनि

कांडाले ? अहँ , थाहा छैन ।

 

आज बल्ल देखियो

जाँतोको घामघडी

जो जुगौंदेखि लुकेरै घुम्दो थियो।

 

Oh, big stone !

We let our shadows penetrate

Into your hard memory

Do you still cherish

The noise of our togetherness?

Unthinkable but

If you ever opt to break apart

Please first let our shadows

Escape together.

 

कोलाहलसंगै उभिन सिकेको

नीरव शान्तिको स्तम्भ

माटेपानी गुम्बा

 

The bus will never pass by

The pedestrians will never reach the other side

Save your precious time, fellow

When you stick to a scene, it flies.

न यी यात्रु कहिल्यै सडक पारी पुग्लान्

न त्यो सबारी अगाडि नै गुड्छ

आफ्नो समयको ख्याल राख,साथी !

तिमी कतै अल्झिंदा त्यो भुर्र उड्छ ।

 

बाटाहरू जोडिन्छन्

र संगसंगै एउटा थुम्को घुम्छन्

फेरि फाट्नुअघि ।

 

 

 

धेरै समयपछि

एउटा फूलले सम्झाउँछ

सीसाकलम ताछेको ।

 

एउटा तस्बिरले

हजारौं तस्बिरहरू बोल्न थालेपछि

म मौनतामा डुबें ।

 

 

तस्वीरमा

एउटा चराको कमी छ

जो मेरो मनभित्र चिर्विराइरहेको छ !

 


 

 

सामान्य कुरा

असामान्य हुनु

केही दिनको फरक रहेछ !

 

रूखहरूले यहाँको माटो भन्दैनन्

यहाँको बाटो भन्दैनन्

हामी पनि रूखलाई त्यस्तो केही भन्दैनौं ।

 

There is only thing

That can break the beautiful silence

A trapped object inhaling air.

 

आफू जे रंग भएपनि

सबैका रंग उजिल्याऊ

आफ्नै रंगले अरुलाई नमैल्याऊ !

सके ईन्द्रेणी भएर बाँच

नसके एउटा फूल भएर हाँस

अग्लै छौ भने अलिकति निहुरिएर समान बन,

अग्लिंदै गरेका कलिला आंकुरालाई नभांच ।

 

जति आंट छ

रहको पानीमा

त्यति यी तन्नेरीहरूसंग पनि होला

 

ऐसेंलु

कांडाकै कारण

तिमीतिर नहेरूं ?

उसोभए

गुलाफमा किन उनिन्थे

करोडौं आंखाहरू ?

 

पानीमा घामको चित्र

पौडिंदै उत्रिंदै

चरा नजिकै पुग्छ

 

मलाई

मेरै मनसंग जोड्ने पुल पनि

झोलुंगे पो हो कि ?

It seems

A suspension bridge

Joins me with my mind.

 

आफन्तको बोझ

नबोकी सुख छ र

आगो र पानी हुंदा पनि ।

Take me across water

Oh my friend

I will become fire!

 

छैठौं यानले

मंगल ग्रहको धर्ती टेक्यो

तिमी जंगलबाट शहर पसेकै दिन ।

 

घामले समेत

औंठाछाप लगाएको छ

फेवाको पानीमा

Even the sun

Claims with fingerprint

Water in the Fewa-lake !

 

शहरमा कोही नयाँ मंत्री भएको खबर छ

उन्का बारेमा तात्तातै मलाई बोलिहाल्न के कर छ ?

जेलनेल उतिबेला भरपूर गरेकै हुन् योग्यता बटुल्दैछन् भनेकै थिएं

प्रदेशको मंत्री त थोरै हो उनलाई प्रधानमंत्रीमै देख्ने रहर छ !

 

 A long wait is over

Dear sunshine

Our impatience has but short memory.

 


 


 

javascript:void(0)