Sunday, December 31, 2017

बुद्ध-पलायन


सबेरै कुनै कारणले 
जुरुक्कै उठेका महादेवले  
नमिलाई छोडेको सिरकजस्तै देखिन्छ
यो हिमश्रृंखला     
र उनी सुत्दाखेरिको छाती र घुंडातिरको भागमा
बनेका छन् दुइटा अग्ला चुली  
अघिल्लो चुलीको पाखै-पाखा
कोही सुटुक्क भागिरहेको तिमीले देख्यौ ?
ती बुद्ध हुन्
ती उनै बोधिसत्व बुद्ध हुन्

तिनी भाग्नुको कारण बुझ्न गाह्रो छैन
पछिल्लो चुलीमा  
कुनै धनाढ्य
तस्कर
ब्यापारी हो या कर्मचारी
या नेता पनि हुनसक्छ
(एउटै दुइथरी पनि हुनसक्छ)  
उनको तीब्र खोजी गरिरहेछ
सिरकको ढुङ्ग्रोभित्र चियाईरहेको  
उसको शिर र घांटी पनि
प्रष्टै देख्यौ होला तिमीले

ऊ बुद्धलाई चपक्क समाएर
आफ्नो व्यापार गर्न चाहन्छ,
उनलाई मोडेल बनाएर  
बिज्ञापन गर्न चाहन्छ
‘हाम्रो कम्पनीका उत्पादन
हाम्रो पार्टीका सिद्धान्त  
या हाम्रो सरकार पद्धति    
बुद्धकै नापो लिएर
उनलाई नै सुहाउने गरी बनेको हो’ भन्न चाहन्छ

आफू असाध्यै सुन्दर भएपनि  
बुद्ध त्यो पटक्कै चाहदैनन्
र उनी असिनपसिन हुँदै भागिरहेछन्
यति निर्जन, बिकट चिसो ठाउँमा पनि
उसले पीछा नछोडेकोमा
बुद्ध अचम्म मानिरहेछन् |   

Friday, December 29, 2017

अझै एकपल्ट













अझै एकपल्ट
यी पाखाभरि गुराँस फुलेको हेरेर मर्न पाऊं 
अझै एकपल्ट
यी पर्बतभरि हिउँ चुलिएको हेरेर मर्न पाऊं
जीवन त अघाउन्जेल बाँचें म
अब बाँच्न मन छैन
तर हेरेर अघाएको छैन यो गुराँस
हेरेर पुगेको छैन स्निग्ध सेता हिमाल
अरुलाई के के दिए भगवानले
मलाई पर्वाह छैन
धरोधर्म, मेरो सर्वस्व बाजी राखेर भन्छु -  
धर्तीमा यति राम्रो ठाउँ अरु हुनै सक्तैन
धर्तीमा मेरो जस्तो गाउँ अरु हुनै सक्तैन
होला उस्तै कुनै भए,
यै नेपालभित्र होला
अन्यत्र कतै हुनै सक्तैन

मेरो अन्तिम धड्कन छुटाउने रहर हो यो 
मेरो श्वासको बन्धन फुकाउने रहर हो यो 
भगवानले मलाई जे दिए,धर्तीको नाउँमा
त्यसलाई आँखा भरि भरि साँचेर  
म चिम्लन चाहन्छु यी आँखा
र निदाउन चाहन्छु चिर निद्रा !

Thursday, December 21, 2017

पहाड र पंखेटा













एकदिन पहाडहरुसंग म बेस्सरी रिसाएँ
ए पापी पहाडहरु,
नदी बौलाएर शहर पस्न थाल्दा तिमीले किन छेकेनौ ?
बादल मडारिएर असिना झर्न थाल्दा
तिमीले किन देखेनौ ?
आकाशमा उड्दै गरेको जहाज धर्मराएपछि
तिमी होचिंदा के हुन्थ्यो ?
राजमार्गमा गुड्दै गरेको बस ढल्पलाएपछि
तिमी कोल्टिदा के हुन्थ्यो ?
तिम्रा छातीका हिमताल आफैं थाम्नु पर्दैन ?
तिम्रा आंगका पहिरा आफैं धान्नु पर्दैन ?

मेरा खप्की सुनेपछि
पहाडहरुले कोक्याउँदै रुँदै भने –
प्रभु, सरकार !
खोइ कहाँ गए हाम्रा हातपाउ ?  
खोइ कहाँ गए हाम्रा पखेंटा
हामीलाई थाहै भएन
कुन श्रापका कारणले  
कसले लुट्यो हाम्रो स्वतन्त्रता ?
प्रतिदिन हाम्रो हृदय जल्छ
प्रतिपल हाम्रो आँखा रसाउँछ
र पनि हामी लाचार छौं, लज्जित छौं

त्यसपछि मैले इश्वरलाई भनें-
ए, उड्न देउ पहाडहरुलाई
कुनै दिन तिनले नचाहिँदो टक्कर गरे होलान्
अब नगर्लान्  
कुनै दिन तिनले अचाक्ली चकचक गरे होलान्
अब नगर्लान्
कहिलेकाहीं गह्रौं चिजहरु त्यसरी हल्का बनिदिंदा
तिम्रो क्रोध जाग्यो होला
अब फिर्ता देऊ  
तिनका पंखेटा र हातपाउहरु
अब मल्हमपट्टी गरिदेउ
तिनका हृदयका घाउहरु
अब पहाडहरु उत्ताउला हुने छैनन्
अब पहाडहरुले यज्ञको आगो छुने छैनन्

यत्तिको बुझ्झकी आग्रह सुनेर
इन्द्रको मन पग्लिएछ भने 
अब पहाडका हातपाउ निस्कनेछन् 
पहाडहरु पनि स्वच्छन्द चरा झैं उड्ने छन् |

Thursday, December 14, 2017

आगोको मसि

मेरो कलममा
आगोको मसि भरिएको छ
तैपनि यसले कोरिरहेछ सुन्दर फूल
फूलका यी हजार रंगहरु
आगोकै मसिबाट निस्केका हुन्
अहिले ती शान्त छन्,  
तर म अशान्त छु
कुनै दिन फूलबाटै डढेलो निस्क्यो भने
म के गरुँला ? 

झोला












उफ्......

भोलि फेरि उठाउनु छ त्यो झोला 
र बोकी हिंड्नु छ काँधमा
बोकेर
आफू र आफ्नो गह्रौं मनलाई

एउटा अमुक बन्द सुटकेससंगै
भित्तामा आड लागेर बसेको छ यौटा झोला
र त्यो भित्र छन्
एउटा पासपोर्ट,
बिदेश बसाईंको अनुमति
अक्षरहरुको भीडयुक्त एक कम्प्युटर  
केही स्वदेशी पैसा र
पढी नभ्याएका केही किताबहरु

उफ्......
भोलि फेरि उठाउनु छ त्यो झोला  
र बोकी हिंड्नु छ काँधमा
बोकेर
आफू र आफ्नो गह्रौं मनलाई

म हिंडेपछि
साँझसम्ममा
एउटा शून्यपनले भर्नेछ यहाँ
भित्तामा हाँसिरहेको तस्वीर
एकाएक अन्तर्ध्यान भए झैं
या
खेल्दा खेल्दैको एउटा सजीव साथी
बेखबर हराए झैँ

ठीक यसैगरी म आएथें यहाँ
अब जाँदैछु
माकुराले स्वयम् खिचेर हिंडे झैँ
आफ्नो जालो

एक जुग यसरी नै बितिरहेछ   


म नहुँदाको क्षण कल्पेर
मै दुखि हुनु के ठीक हो ? 
अहँ, उत्तर पाउँदिन

उफ्......
भोलि फेरि उठाउनु छ त्यो झोला 
र बोकी हिंड्नु छ काँधमा |

javascript:void(0)