Thursday, July 12, 2018

ब्याधा र शिकार









एकदिन यस्तो आउँछ
शिकार नै ब्याधा खोज्दै हिंड्छ
र उसलाई
असाध्यै बिरामी भेट्टाउंछ
अचेतमै बर्बराइरहेको यस्तो बिरामी
जसको स्वयम्लाई कुनै होश हुँदैन
त्यो देखेर
शिकार दुखी हुन्छ 
उप्रति सम्बेदनशील बन्छ
र यसअघि
आफुलाई बार बार झम्टने ब्याधालाई  
बिल्कुलै निर्दोष करार गरेर
उसको स्वास्थ्यलाभको प्रार्थना गर्दै फर्कन्छ
एकदिन यस्तो पनि आउँछ ........                 

एकदिन यस्तो पनि आउँछ
शिकारले नै ब्याधालाई पछयाउंछ
र उसलाई अत्यन्त भयभीत पाउँछ
र शिकार खूब सर्माउँछ
आफूमाथि पटक पटक थोपरेको भय
उसको भयको एक सानो टुक्रा मात्र रहेछ
यो सम्झेर शिकार दयालु हुन्छ
र शिकारीलाई डराइदिनेले
उसको डर घटाइदिउन् भनि कामना गर्छ

त्यसदिन शिकारलाई थाहा हुन्छ
ब्याधामाथि पनि
अर्को ब्याधा सबार हुँदोरहेछ
शिकारीलाई पनि शिकार बन्ने डर हुँदोरहेछ
एकदिन यस्तो पनि आउँछ

एकदिन यस्तो पनि आउँछ
शिकार ब्याधादेखि डराउन छाड्छ
र उप्रति अगाध करुणा भावले उद्देलित हुन्छ
अब उसलाई मर्नदेखि पनि डर हुँदैन |


javascript:void(0)