Saturday, September 17, 2011

बाटोका कुरा

खोइ,

जति

ठूला

कुरा गरे पनि


कुनै गतिला बाटा बनाएनौ तिमीले


यतिन्जेल

धेरै चौडा

बाटा

बन्नु पर्ने थियो

धेरै ठुला सबारी हिंड्नुपर्ने थियो

जताततै बाटैबाटा हुनुपर्थ्यो

तिम्रा भाइबहिनी र सन्ततिका लागि,

अब उनीहरुले

कहाँ कहाँ बाटो देखे र गए

अझै बाटो हेर्दैछन फर्की आउनलाई

आफैं बाटो खन्छु भन्ने त कमै हुन्छन

त्यस्तालाई पनि धपायौ तिमीले

अब त्यसो नगर है

किनभने

बाटाहरु प्रशस्तै चाहिन्छन हामीलाई

एउटा बाटो खन्दै गर्दा

अर्को खोज्दै गर्नुपर्ने समय भयो अब

बाटामाथि र बाटामुनि पनि

बाटा बनाउनु पर्ने बेला भयो अब


मैले नबुझेको कुरो यहि छ-

तिमी भन्छौ-

बाटाहरु धेरै भएपछि मानिस हराउँछ

म भन्छु-

बाटै नभए पो मानिस हराउँछ

जस्तै होस्,

बाटो एउटा भेट्यो भने
मानिस आफ्नो घर आउँछ


Friday, September 2, 2011

माकुराको घर

जत्ति हेर्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !


यस्तरी तन्कने

यस्तरी जेलिने

जे छोयो तेसैमा बेरिने

यो माकुराको घर

छिन छिनमा हुत-हुत कुदिरहने यो हावामा

(एकै डल्लो परेर फुत्त नझरिकन)

कसरि झुन्डिरहने होला

यति सुन्दर भएर !









यत्तिका झ्यालै झ्याल भएको

यत्तिका प्वालै प्वाल भएको

जताबाट पसे पनि हुने

जताबाट निस्के पनि हुने

यो अनौठो घर

के अन्दाजले ठड्याएको हो !

कति झिना रेशाले अड्याएको हो !

तैपनि

बिल्कुल निडर र निसंकोच   

यो घरको थानेदारलाई हेर

बसेरै ढुक्कैले आहारा जुटाउँछ

घरैले अरुलाई निशाना लगाउँछ


यार, छानो कता छाउने हो !

यार, चुलो कहाँ लाउने हो !

भुइँ र सिलिंग

भित्ता र दलिन

माथि-तल, सुल्टो-उल्टो

सब एकसमान छन् यसका लागि

कहीं छेकबार छैन, टाँगीदिए पुग्ने

जालमा पर्नेलाई तानिदिए पुग्ने

न घंडेरी किन्नुपर्ने ,

न जग खन्नुपर्ने ,

ढुंगा या इंट्टा नगांसेरै पनि

हेर यसका फुल बुट्टा!


देख्न मिलेपनि प्राय नदेखिने

एकातिर तोडे, अर्कोतिर जोडिने

जो घेरियो फन्दामा

उसैले मात्र बुझ्ने, 

कसैगरी नचुँडिनलाई

अजस्र रेशाहरुको मुहानसंग सम्पर्क भएको…..


जत्ति सोच्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !

javascript:void(0)