Thursday, October 25, 2018

घाम / रूख















एकदिन घामले भन्यो - 
'रुख ! म तिम्रो फेदैमा आएर बस्छु 
जुग जुगांतरको मेरै तापले
म अत्यन्त प्रताडित छु
तिमी मलाई एकछिन छहारी देऊ  
थोरै शितल हुन देऊ’

रुखले बिनम्र भै आग्रह गर्यो –
‘प्रभु, अनन्त ऋणी छु म हजुरको,
हजुर भएकै कारण म छु
मेरो बीउ, बेर्ना देखि यो बिशाल वृक्षसम्म
म हजुरकै कृपा हुँ
मेरा पात पातमा हजुर छाउनु हुन्छ
र मेरो शरीर र प्राण बन्छ  
मेरा नशा नशामा हजुरकै करुण रस बग्छ
हजुर बिना म मेरो अस्तित्व कल्पनै सक्तिन

तर लाख बिन्ति छ  
हजुर मेरो यत्ति नजिक नआईदिनुहोला
हजुरको सन्ताप ममा नसारिदिनुहोला
म काबिल छैन त्यसको
असीम कृतज्ञताबाहेक
म हजुरलाई कुनै चिज चढाउने सामर्थ्य राख्दिन
मै भष्म भैजाउँला बरु
मेरो छहारीमा हजुर अट्नुहुन्न’

रुखको बचनबाट निरास घाम  
पर क्षितिजमा पुगेर डुब्नै लाग्दा
उसका दुई आँखामा
सागरका छालजस्तै केही
टिलपिलाइरहेको देखिन्थ्यो |


ऐलान




एउटा ठूलो पीर थियो मसंग
आज त्यसलाई मैले
अग्लो भीरबाट खसाएर आएँ
अब मसंग कुनै पीर बाँकी छैन

एउटा ठूलो डर थियो मसंग
आज मैले त्यसलाई
एउटा मसाने बगरमा गाडेर आएँ
अब मसंग कुनै डर बाँकी छैन

अब मेरो मनको मालिक मै हुँ
अब मेरो स्वाभिमानको सम्राट मै हुँ
अब मेरो आरोहणको अगुवा मै हुँ
मेरो उडानको उर्जा पनि मै हुँ

धन्य आंधी बतास,
धन्य अंध्यारो रात,
ज-जसले मलाई उचाल-पछार पारेर  
मेरो निजत्व चिनाए   
कालो पत्थरभित्रको हीरा   
र सुनाखरी थेग्ने जरा देखाए
भने – हिंड्ने भए खश्रो भुइं रोज,
चिल्लो – चिप्लोको भर हुँदैन     

अन्यथा  
म के हुन्थें
हावामा निरुद्देश्य तैरिरहेको
एउटा अर्को
सिमलको भुवाभंदा बढ्ता ? 

एउटा ठूलो संकोच थियो मसंग
आज मैले त्यसलाई
नदीको खोंचबाट बगाएर आएँ 
अब मसंग कुनै संकोच बाँकी छैन |


Saturday, October 20, 2018

द्वैधता





















संसारको सबैभन्दा दुखी मानिस हिंड्ने बाटो हो-
द्वैधता
जहाँ कोही बुझ्दैन फूलको सुन्दरता
तैपनि ऊ भनिदिन्छ : ओहो क्या सुन्दर प्रकृतिको छटा !
जहाँ कोही बुझ्दैन जुनको उज्यालो
तैपनि भनिदिन्छ – ख्वै अब कहाँ बाँकी छ अँध्यारो ?

ऊ हिसाब गर्छ मनमनै
एक झुप्पा फूलको बजारमूल्य
र त्यसैबाट योजना बनाउँछ कुनै शिकारको
एउटा क्रुर, निर्लज्ज, कुरूप योजना !

टहटह पूर्णिमाको रातमा पनि
औंशीको भन्दा भयानक कालो हृदय बोकेर  
ऊ बाहिर निस्कन्छ 
र बोलाउँछ अबोध शिकारजन्य प्राणीहरुलाई-
‘आओ, उत्सवको निम्ता मान्न आओ
तालमा ताल मिलाओ, नाच, गाओ’
यसरी हाँस्दै रमाउंदै गर्दा
आफ्नै संगीको गला निमोठ्ने मनसाय लुकाइराख्नु
कत्ति कष्टकर होला ?
कत्ति दयनीय होला,
पलपलमा तूफानी सत्यसँग ठोकिंदै जोगिन खोज्नु,
अनायास झस्किनु पटक पटक ?

ऊफ, जिन्दगी नै यसरी
एकपछि अर्को नक्कली भेषमा कटाउनु
र बनावटी श्वास फेर्नु
कत्ति निरस, बिरक्तिलाग्दो र ग्लानिपूर्ण होला ?

निसन्देह, 
संसारको सबैभन्दा दुखी मान्छे
हिंड्ने बाटो हो-द्वैधता !

javascript:void(0)