Thursday, October 25, 2018

ऐलान




एउटा ठूलो पीर थियो मसंग
आज त्यसलाई मैले
अग्लो भीरबाट खसाएर आएँ
अब मसंग कुनै पीर बाँकी छैन

एउटा ठूलो डर थियो मसंग
आज मैले त्यसलाई
एउटा मसाने बगरमा गाडेर आएँ
अब मसंग कुनै डर बाँकी छैन

अब मेरो मनको मालिक मै हुँ
अब मेरो स्वाभिमानको सम्राट मै हुँ
अब मेरो आरोहणको अगुवा मै हुँ
मेरो उडानको उर्जा पनि मै हुँ

धन्य आंधी बतास,
धन्य अंध्यारो रात,
ज-जसले मलाई उचाल-पछार पारेर  
मेरो निजत्व चिनाए   
कालो पत्थरभित्रको हीरा   
र सुनाखरी थेग्ने जरा देखाए
भने – हिंड्ने भए खश्रो भुइं रोज,
चिल्लो – चिप्लोको भर हुँदैन     

अन्यथा  
म के हुन्थें
हावामा निरुद्देश्य तैरिरहेको
एउटा अर्को
सिमलको भुवाभंदा बढ्ता ? 

एउटा ठूलो संकोच थियो मसंग
आज मैले त्यसलाई
नदीको खोंचबाट बगाएर आएँ 
अब मसंग कुनै संकोच बाँकी छैन |


No comments:

Post a Comment

javascript:void(0)