Thursday, December 18, 2014

ढुंगाको शहर

एकदिन शहरलाई भनें-    
तिमी ढुंगै ढुंगाको शहर हौ  
दुइपाटे चौरको शिर भएपनि  
तिम्रो घांटीमै भीमढुंगा 
छातीमै ढुंगे बगर 
मुटुमा साँढे झैं बसेको चिप्लेढुंगा 
कम्मरमा नागढुंगा र
पाउमा ढुंगे-शांघु छन्
शहरले तात्तातै जवाफ दियो -
तैपनि, यहाँ
ढुंगा चिरेरै नदी बगेको छ
ढुंगाकै बिचमा तलाउ जमेको छ
ढुंगा खोपेरै गुफा बनेका छन् र
ढुंगाकै कापबाट झरना फुटेका छन्
ढुंगाले कोमलतालाई कहाँ रोकेको छ ?
ढुंगामाथि नै फूल फक्रिन्छ यहाँ  
मेरो सिरपोश भै बसेको माछापुछ्रेमा समेत   
ढुंगैमाथि हिउँ पोतिन्छ |
सोचें-
दुनियाका तारिफले नथाक्ने शहरलाई
जिस्काउनु व्यर्थै हो !
javascript:void(0)