Thursday, July 28, 2022

समयान्तरमा जीवन

टाँसिएकै रहेछन् आकाशमा ग्रह र ताराहरु उहिल्यैदेखि
कोरिएकै रहेछन् धर्तीमा हजारौं बाटाहरु उहिल्यैदेखि
कोही हिंडिसकेका रहेछन् अपत्यारिला यात्राहरु
जहाँ पुगेपनि
अघि कसैले देखिसकेको ठाउँ पुगिने
जहाँ टेकेपनि
अघि कसैले टेकिसकेको ठाउँ भेटिने
तिम्रो दुखाइ अरु कसैलाई दुखिसकेको हुने
तिम्रो भोगाई अरु कसैले भोगिसकेको हुने
सुरुंगहरुको लामो शृंखलामा भर्खरै उभ्याइएको एउटा पथचिन्हले
नियालेर भित्र हेर्दा देखेजस्तै
तिमी एक्लो होइन रहेछौ
समयको अघि पछिको फरक मात्रै न हो
तिमी जस्ता हजारौं रहेछन्
बाढीले उप्काएर किनारामा फालेको कन्टकारीको झ्यांग झैं
हुरीले पींग झैं मच्चाएर पिटिक्क भाँचेका मसलाका रुख झैं
हिउँले ढाड अँठ्याउँदै कुल्चिंदै पुरेका लहरे पीपल झैं
पटक पटकका प्रलय पछि
कोही क्रमश: वैलिएका, थलिएका रहेछन
कोही परखले सम्हालिएका रहेछन
यो सब भैसकेको रहेछ परापूर्वमै
तिमीले अचम्म, अभूतपूर्व भनेको कुरा
अघि नै लेखिसकिएको रहेछ
बिल्कुल नौलो होइन रहेछ संसार
मानिसका कथाहरु पनि नौला रहेनछन्
झन प्राचीन रहेछ भावनाको संसार
जहाँ हलाहल बिष पिएर जिउनेहरु पनि भेटिए
सत्यको मशाल बोकेर रेटिनेहरु पनि भेटिए
निर्दोषले पनि एकजुग ढुंगा हुने श्राप खेपेको
पापीले देउताको चरण छुनासाथ स्वर्गको भाग ओगटेको
कहीं मौनताभित्र पनि ज्वालामुखी सल्किएको
कहीं चित्कारमा पनि कपट छचल्किएको
ढोंगी जोगी भएर हिंडेको
कुनै घटना नौलो होइन रहेछ
खालि समयान्तरमा बुझिने रहेछ
जिन्दगीको एउटा रोलर कोस्टरमा घुमेर
तिमीलाई फेरी त्यहीं आइपुग्नु रहेछ
जहाँबाट तिमी चढेका थियौं
तिमी यसलाई आफ्नो खेल भन्दारहेछौ
खेल अघि कसैले खेलिसकेको हुँदोरहेछ
उही खेल आज कसैले खेलाईरहेको हुँदोरहेछ
तिमी शिर्फ अर्को घानका खेलाडी रहेछौ
एउटा अर्को घारका माहुरी
एउटा अर्को खेप माछाका भुरा
तिमी भुन्भुनाउंदै, सल्बलाउँदै यहीं घुम्ने रहेछौ
कुनै नयाँ संसार पाएसरी
र किन्चित बुझ्न थालेपछि
‘पृथ्वी गोल छ’ भन्दै
परम सन्तोषका ठीम्रा गोली निलेर
तिमी आफैंलाई ढाडस दिईरहेका हुँदारहेछौ |

Friday, June 24, 2022

ठीकै छ !

हावालाई सोधें-

सधैं यतैतिर, 

यसै यसै बहकिईरहेको देख्छु तिमीलाई  

कहाँ पुग्न हिंडेका हौ, कहाँ पुग्यौ

तिमी खुशी छौ ?

हावाले भन्यो- अबश्य

बहकिंदा बहकिएकै खुशीमा हुन्छु

रोकिंदा रोकिएकै खुशीमा रम्छु  

कुनै भार छैन मसंग

म उड्न खोज्नेको आधार बन्छु  

   

सोचें- म पनि हावा झैं बहकिन्छु पटक पटक

भगवानले मलाई हावा किन बनाएनन् ?

 

पानीलाई सोधें-

जलचक्रमा घुमिरहन्छौ

ओरालोमा एकोहोरो बगिरहन्छौ

लक्ष्य के थियो, के भेट्यौ

तिमी खुशी छौ ?

खोलाले भन्यो- अबश्य

बगुन्जेल बग्दाकै खुशीमा हुन्छु

रोकिंदा रोकिएकै खुशीमा रम्छु

बोकी हिंड्नुपर्ने केहि छैन

तैरिनेहरुको माध्यम बन्छु

 

सोचें- म पनि खोला झैं एकोहोरो बग्छु भावनामा

भगवानले मलाई खोला किन बनाएनन् ?

 

म मान्छे भएं, ठीकै छ,

ठीकै छ अबदेखि

भगवानसंग कुनै गुनासो नगरेर

जगतसंग आग्रह, पूर्वाग्रह नराखेर

कुनै तृष्णा, बितृष्णा नबोकेर

हलुका बाँच्छु – मान्छे भएरै सही   

बतास र खोला जस्तै |  

Thursday, May 19, 2022

समयसंग कटाक्ष

 


म हारें तँसंग 

समय मलाई खारेज गर्

तेरा प्रश्नहरुको मसंग कुनै जवाफ छैन

अब नयाँ प्रश्नहरु सुन्ने सामर्थ्य पनि बाँकी छैन

 

म त्यहीं छु जहाँ बर्षौं पहिले थिएँ

म त्यस्तै छु जस्तो बर्षौं पहिले थिएँ

भो अब कुनै अर्थ छैन म र मेरो पिढीको

कुनै उपादेयता छैन

 

भनिदे

तँ छँदै थिइनस्

तेरो पिढी एउटा स्वैरकल्पनामात्रै हो  

 

भनिदे- गेट आउट !

द गेम इज ओभर

डोन्ट ट्राइ टू प्ले फाउल

यु आर अलरेडी आउटडेटेड एण्ड

आइ रिमुभ यु फ्रम माइ रेकर्ड्स  

 

सकुन्जेल मैले जवाफ दिएकै हुँ

मैले ठुल्ठुला आन्दोलन गरें भनें

मैले कस्ता कस्ता व्यवस्था बदलें भनें

मैले नेता राजनेता जन्माएं भनें

मैले पार्टी / संगठन निर्माण गरें भनें

मानिसहरु मुक्तिका खातिर शहिद हुन तयार भए पनि भनें

तैंले भनिस् – फूर्ति, वाईघातको !

 

मैले नायक, महानायकहरुको नाम लिएँ

सम्झी सम्झी सुधारक र अभियन्ताहरुको बखान गरें

तैंले ‘त्यो पनि अभिनय नै हो’ भनिस्

मसंग कुनै उत्साह बाँकी रहेन

तैंले मेरो हरियो पासपोर्ट मागेर भनिस् –

यो कहाँ कहाँ जान्छ

र यसको मूल्य कति छ ?

 

तैंले के के सोधिनस्

चप्पलदेखि चेभ्रोलेटसम्मको यात्रा 

राजस्वको खरिदारको आय

र बेपत्ताको परिवारको दु:ख,   

तैंले नमिता, सुनिता र निर्मला उचालिस्

तैले राजबंसी, बिक, तामांग, चौधरी, खातुन, श्रेष्ठ र अरु को को निकालिस्

भोकले छट्पटाएर जहानैसित खोलामा हाम्फाल्नेहरुलाई तैंले डाकेर सोध्न लगाइस्

दाइजोको हिंसा सहन नसकेर जंगलमा झुन्डिनेहरुलाई तैंले चिच्याएर सोध्न लगाईस्

मैले अपवादमा राखेका दासढुंगा र दर्बार हत्याकाण्डलाई तैंले 'नन-सेन्स' ठानिस्

जब तैंले चिहानै चिहानबाट मुर्दाहरुलाई बकाउन थालिस  

भो ! मलाई असह्य भयो 

अब ज्यूँदाहरु पनि 

एक एक प्रश्नमैदानमा उत्रेपछि म गलें 


मैले तेरो कुनै भेउ पाइन

मैले कहीं आँफू अस्तित्वमा भएको पुष्टि गर्न सकिन तँलाई

बरु मलाई खारेज गर्दे

तँ छँदै थिएनस् भन्

तेरो पुस्तै थिएन भन्

त्यो स्वीकार छ |

Wednesday, August 4, 2021

घर किन्दैमा

 घर किन्दैमा

घर हुँदैन
घर बनाउनुपर्छ
एउटा जीवंत प्राणीलाई झैं
घरका आँखा
घरका नाक
घरका कान
.............
र घरका हृदयमा
कम्तिमा पनि
एउटा जुन
एउटा फूल
एउटा संगीत
.............
र एउटा मीठो सम्झनाले
भरिरहनुपर्छ
बरू
घरै नहुनु सह्य हुनसक्छ
घर भएपछि भने
यसलाई मनाउनुपर्छ
घरजस्तै बनाउनुपर्छ ।

चोरले

 

चोरले
‘म चोर होइन’ भनिरहेको छ
र ऊ सही छ
फटाहाले
‘ म फटाहा होइन’ भनिरहेको छ
र ऊ सही छ
घूसखोर, तस्कर, भ्रष्टाचारी……
जो जो आफ्नो कसुर नकार्दै छन्
उनीहरु सबै सही छन्
हाम्रा प्रश्नहरू पनि गलत होइनन्
समय र सन्दर्भ फरक हुन्
ऐना र अनुहारको झैं
परिभाषाहरू दायां वायां परेका हुन्
हामी टिकट काटेर
मीठा मीठा सपनाको प्लेटफर्ममा कुरिरहंदा
उनीहरू सित्तैंमा बिपनाको बजार भरिरहेछन् ।

उभिने धराले

 उभिने

धराले पनि हो
जराले पनि हो
आँफुसंग
ठोक्किन आउने बतासमा
संगीत भरिदिनु
आँफुसंग
जोतिन आउने भलबाढीलाई
बाटो चिनाईदिनु
थकित यात्रीलाई
शरण दिनु
र उसका केही भाका सुन्नु
घामलाई सहनु
उस्ले चरक्क पोलेपनि
आँफु शीतल नै रहनु
उन्मादमा नआउनु
भाँचिदा पनि हजारपल्ट
नयाँ पालुवा पलाउनु
धराको भर नभएमा
जरा अझै फैलाउनु
आँत बलियो राख्नु
देखेको छु
जीवन उसैले लामो बांचेको छ
जो यसलाई छोटो सम्झिन्छ ।

गहिरा अक्षरहरु

 वैली जाने फूल

डुबी जाने घाम

छिनमै भागिहाल्ने पुतली

र हराइजाने इन्द्रेणी

यी त हुँदै भए,


पग्लिहाल्ने मन

रसाइहाल्ने आँखा

बसिजाने वाक्य

र उडिजाने अनुहारको रंग

यस्ता नाजुक चिजहरू

नहेरूँ भन्छु, नछोऊँ भन्छु

दुनिया त्यसै गर्न सुर्याउँछ


तर फेरि तिनैले

किन कोर्छन् मेरो हृदयमा

यति गहिरा अक्षरहरू ?
javascript:void(0)