Monday, May 22, 2023

बन्दुक र किताब

 

बन्दुकलाई भुइंमा टेकाएर

किताब हेरिरहेछ

एउटा तालेवान लडाकु

रहर त हुंदोरहेछ नि !

मलाई थाहा छैन

ऊ कुन किताब पढिरहेछ

तर,

मलाई के थाहा छ भने

यस्तो किताब हुनैसक्तैन

जो कसैको प्रेम छुटाउंछ

जो कसैको जीवन टुटाउंछ

जो घृणा फैलाउंछ

जो द्वेष बढाउंछ

र डरको आगो झोस्छ

यो मेरो विश्वास हो कि

संकीर्णताको मसीले कुनै किताब लेखिन्न

मानवताको झिल्को नै नभएको

अहं, त्यस्तो त किताबै हुन्न

यो हुनैसक्तैन कि

किताबले बन्दुकको सराहना गरोस्

र त्यसले भड्काएको युद्धले

एउटा निर्दोष मरोस्

किताब सांच्चिकै पढ्नु छ भने

ए मनुवा, बन्दुक छोड

किताब पढेका छौ भने

ए मनुवा, घमंड छोड

मानवता नछोड ।

No comments:

Post a Comment

javascript:void(0)