Monday, May 22, 2023

छोरीलाई क्षेप्यास्त्र देखाउंदा

छोरी यो हेर

यो क्षेप्यास्त्र हो

टाढा टाढा मार हान्न सक्ने

टोक्योदेखि न्यूयोर्कसम्म

या अझ पर

हाम्रा हजुरबाको दुरदृष्टिले

बिकास हुँदै आएको

हाम्रा बाको समेत

वलिदानी सोचले उत्प्रेरित

महान उपलब्धि ।

हामी दुश्मनहरूले घेरिएका छौं

हाम्रो देशको केही भाग लुटेर

अमेरिकी कठपुतलीले शासन गरिरहेछ

अमेरिकाकै पाल्तु छ जापान

अपहरण र नानाथरीको आरोप लगाउने

हाम्रो खिसिट्यूरी गर्ने

हामी डराउन्नौ

बरू डराइदिन्छौं समय समयमा तिनलाई

जाबो

घड़ी, रेडियो, मोवाइल फोन, लुगा धुने मेशिन, फ्रिज र गाडी बेच्दैमा

त्यत्रो फुर्ति नगरे हुन्छ

हाम्रा जनतालाई

आफ्नै मौलिक रहन-सहन

आफ्नै गीत संगीत

आफ्नै रोटी मकै

यति काफ़ी छ

कसैले कपाल नकाट्ला

दक्षिणका पिशाचहरूको जस्तो

कसैले नसुन्ला

पश्चिमी गीत

कसैले नजोड्ला इन्टरनेट

कोही नबहकिएला

जुछेमार्गबाट

त्यो देशलाई घात हुनेछ भनेर

मैले महावाणी दिएको छु

हाम्रा बाले

एक एक हलिउड सिनेमा हेरेर

तिनको अनर्थता बुझ्नुभएको प्रमाण छ हामीसंग ।

छोरी

हाम्रो शान र स्वाभिमान

हाम्रो सामर्थ्यको पहिचान

यही क्षेप्यास्त्र हो

यसैले हामी दुश्मनहरूको सातो लिन्छौं

र उनीहरू पात हल्लिए झैं कांप्छन् । 

No comments:

Post a Comment

javascript:void(0)