Monday, May 22, 2023

राम्रा शब्दहरू

 

काखमा कोशी नदी र

खल्तीमा च्छो रोल्पा बोकेर

बादल कुदिरहेको देखें भनें भने मैले

तिमी पत्याउंदैनौ

हावाले

धर्तीको जम्मै ओस

चुसिरहेको देखें भनें भने मैले

तिमी सुन्दैनौ

यस्ता वाईघात कुरा नगर भन्छौ

झन् मैले

जंगलमा आफैं आगो लागेको

फूलहरू नफक्रिंदै वैलाएको

बोटहरूमा फल नलागेको

खोलामा माछा देखिन छाडेको

चिहानबाट मुर्दा निस्कन खोजे झैं

समुद्रले ठुंडो उठाएको

पानीको फोका झैं फुटेर

राराताल सुकेको

चियामा चिनी घुले झैं

वरफका पहाडहरू घुलेका

गीलो पीठो झैं भीरहरू लच्केका

कुनै आतंककारी झैं

घरबस्तीमा बाढीले पहरा हालिरहेको

कुरा गरें भने

तिमी के पत्याउला ?

कस्तो नकारात्मक सोच

र कतिभांति दुस्वप्नहरू भनौला

शनै शनै

सर्पहरू सल्वलाउंदै दूलोबाट निस्के झैं

डरले म पछि पछि हटे झैं

…………..

भटाभट

एकपछि अर्को

बारूदी सुरूंग पड्के झैं

………..

भैगो, यो म भन्दिन

म हैरान छु

मनै नभएपनि

तिमीले नसुन्दा भने

सांच्चिकै आईपर्ने विपद्को परिभाषा गर्न

मलाई राम्रा राम्रा शब्दहरू चाहिएको छ ।

No comments:

Post a Comment

javascript:void(0)