Monday, May 22, 2023

आत्महत्याको जुलुस

 

छेउ लाग

निराशाको राजमार्गमा

शनै शनै आईरहेछ

आत्महत्याको जुलुस

त्यहां मिसिनु हुंदैन

त्यसका नाराहरूले तिमी आकर्षित हुनुहुंदैन

गाह्रो छ,

नछोइन, नसुन्न, उद्वेलित नहुन

तर सम्हालिनुपर्छ

जोगाएर राख्नुपर्छ तिमीले आंफूलाई

मैले देखिरहेछु जुलुसमा

एउटा सांचो उद्धमी

एउटा ईमान्दार शिक्षक

एउटा दृढ बैज्ञानिक

एकादुई असल डाक्टर

एक जोडी कलाकार

एउटा समाजसेवी अभियन्ता

केही सक्कली कृषकहरू र

फेरि

केही बेरोजगारहरू

ऋणीहरू, रोगीहरू, पीडितहरू, वलात्कृतहरु

मैले देखेको छैन जुलुसमा

एउटै छोटेमोटे नेता

एउटै उच्चपदस्थ कर्मचारी

एउटै न्यायाधीश

या

एउटै दलाल

तिनीहरू अन्त कतै व्यस्त होलान्

मलाई डर छ

मानिसहरू नबहकिउन्

तिमीजस्ता

भर्खरका तन्नेरीहरू समेत

जुलुसमा नछिरून् ।

No comments:

Post a Comment

javascript:void(0)