Friday, May 8, 2020

तेजोवधको घोषणा र बुद्धपुर्णिमा


थोरै भए पनि अँध्यारोमा
एक एक दियोहरु बलिरहेको बेला

गाह्रै भएपनि अक्करमा

एक एक फूलहरु फूलिरहेका बेला

मानिसहरु आफ्नो धर्म सम्झेर

भोकालाई खुवाउन
र रोगीलाई बचाउनको लागि
आफ्नो छाक त के, 
प्राणसम्म उत्सर्ग गर्न तयार भएको बेला

एकथरी सिनोमा घुमिरहने गिद्दहरु

सिनोबाहेक केही नसोच्ने मांसभक्षीहरु

उन्मादको आगो ठोस्दै

अहंकारको गीत गाउँदै

दुखीहरुलाई सराप्दै

पौरखीहरुलाई खिसिट्युरी गर्दै

संरक्षक हुनुको अभिनय गरिरहेछन्


'कसैको घरमा बोको काटेमा....

कसैको घरमा दुलही भित्र्याएमा.....

कसैले दान,यज्ञ, भोज चलाएमा.......'
आह,
लिगलिगकोटका मानसिंको झल्को दिनेगरी

घोषणा पढिरहेका छन्-


"ए चाकडी नबजाउने प्रहरी !
ए चाप्लुसी नजानेका डाक्टर !
ए खोट मात्रै खोस्रने इन्जिनियर !
ए भोट मात्रै घटाउने पत्रकार !
ए भ्रष्टाचारको राग गाउने कलाकार !
ए स्वस्ति गर्न नजान्ने प्राध्यापक !
ए देखेको कुरा फटाफट बोलिहाल्ने 
पाईलट या प्रशासक !
.........
अब, कान खोलेर सुन !
नभए, इतिहास पल्टाएर हेर !
भीम काजीहरुको क्षति र गेहेन्द्र समशेरको नियति 
'मकैको खेति' र सुब्बा कृष्णलालको दुर्गति 
यो मुलुकको मूली जो छ 
उस्ले आफ्नो खिलाफ ठान्यो भने    
निमोठ्न सक्छ सहजै फूलहरुको कण्ठ

या उखेलेर फालिदिनसक्छ बोट  

पोखिदिन सक्छ दियोको तेल

या निकालेर फालिदिन सक्छ ज्योति-धागो
अरुलाई लागेको निषेध उसलाई लाग्दैन

अरुमा हुने लज्जाबोध उसलाई हुनुपर्दैन 
मात्र उसलाई सिनो पुगिरहनुपर्छ
पर्याप्त, स्वादिष्ट सिनो !  
जसका निमित्त ऊ 
इन्द्रेनीका रङ्गहरु पनि

थुतेर मिल्काउन सक्छ 
मध्यरात्रिको सन्नाटामा 
कसैको घर फोड्ने तारतम्य रच्छ
र नसके 
एक पोलो बारुला उडाएर 
स्वजनहरुकै समेत सातो लिन्छ 
थाहा छ ?
बिहानको कलिलो घामको पनि
तेजोवध गर्नसक्छ उसले

साँझको शितल चन्द्रमाको पनि

तेजोवध गर्न सक्छ उसले

लुट्नसक्छ उसले पौरखीहरुको पसिना

र निल्न सक्छ ज्यानै पनि !"

तथागत,

यत्रो हिंसाको भय लट्काएर शिरमाथि   

यत्रो अहंकारको तमासा मच्चाएर आँखै सामुन्ने

तेजोवध गर्दै यो बुद्धभूमिको

उही स्टाटस लेखिरहेछ हजुरको नाममा

र बाँडिरहेछ ओठे शुभकामना -

'अप्पो दीप भव:

अप्पो दीप भव:

बुद्धम शरणं गच्छामी !'

Monday, April 13, 2020

नयाँ बर्ष र भयाक्रान्त स्वरहरु











पाठक महोदय !
यो कविता होइन, समाचार हो 
र यसमा आजैको खबर छापिएको छ 
अघि कहिल्यै कसैले नजानेको  
यो 'लकडाउन' र 'क्वारेन्टाइन'को समयमा सुनिएका 
अनपेक्षित र अनमेल आवाजहरू 
यहाँ यथारूप प्रेषित गरिएका छन् 
  
खबर आफैंबाट शुरु गरौं,
मध्यरातमा
चराहरु सधैं झैं निदाइसकेका हुन्छन्
सडक चकमन्न हुन्छ,
एकाएक कोठाभित्र
किताबको दराज मचक्क गर्छ,
झ्यालका खापा कक्रक्क पर्छन्,
ढलानघरको छतको रड टन्ग्रंग बज्छ
र टिनको छाना समेत कटक्क गर्छ 
बादल एकपल्ट गडंग गर्छ
र पानीका दुइचार थोपा मात्रै झारेर 
हठात् चुप लाग्छ,
कुनामा थन्क्याएको मेरो किबोर्ड समेत 
आफैं कर्र कर्र गर्छ
यसरी शुरु हुन्छ, यो पल्टको नयाँ बर्ष !

अब देशका कुरा गरौं,
धेरै भयो, अखबार आएका छैनन्
तर खबर असाध्यै धेरै आएका छन्
प्रधानमंत्रीको 'भिडियो कन्फरेन्स'देखि  
पत्रकारका 'लाइभ रिपोर्टिंग' समेत 
कुनै क्षण खालि छैनन् 
कोरोनाबिरुद्ध सरकारको तयारी र 
राहत वितरणका समाचारहरुले,  
तर, 
कतैबाट पनि आश्वस्त हुन नसकेर 
यसैबीचमा 
भोकले मर्नुभन्दा 
बहुलाउनु निको ठानेर 
मध्यरातमै कोही मजदूर
फिटिक फिटिक चप्पल बजाउंदै
सात आठ दिनको संकल्प गरेर  
राजधानीबाट मधेश झर्छ
र उ हिंड्दा हिंड्दै 
लखतरान भएर सुस्ताएको बेला 
बाटैमा शुरु हुन्छ नयाँ बर्ष !

त्यसरी नै
सीमापारिको क्वारेन्टाइनबाट भागेर  
पुलिसलाई छल्दै छल्दै
झाडी, बस्ती र खरबारी छिचोल्दै
अबैध बाटोबाट घर फर्किन
बिल्कुलै जनावरजस्तै चारपाउ गर्दै
मध्यरातमै कोही जंगलमा खसर खसर गर्छ  
या महाकालीमा झ्वाम्लांग हाम्फालेर
फ्याँ-फ्याँ गर्दै वारि तर्छ,
यसरी शुरु हुन्छ यो पल्टको नयाँ बर्ष !

हुन त म पत्रकार हुँदै होइन 
तैपनि, 
कुनै कबिताभंदा आकस्मिक 
आजको समाचार भएको छ 
हामी बाँचेको यो मुलुकमा 
संबिधान र सरकार बर्करार छँदा छंदै
यी पछिल्ला 
भयाक्रान्त आवाजहरुले 
मेरो अस्मितामा प्रहार भएको छ 
मेरो स्वाभिमान डगमगाएको छ| 

त्यसैले 
पाठक महोदय .............



Friday, April 10, 2020

आमाको काबु






















आमा विदेश घुम्न गएका दुई महिना 
घर बेकाबु थियो
गमलाका फूल सुकेर झरिसकेका थिए
करेसाका कलिला सिमी 
पाकेर फुटिसकेका थिए 
र यी दुबैथरिका बोट 
घामले खंग्रंग र खैरो भैसकेका थिए
तिनको ठाउँमा 
हलहली पलाएको अग्लो झारले
रजाईं गर्दै थियो
भान्साकोठामा कमिला बाहेक 
भुसुना र साँग्ला पनि
प्रवेश गर्ने तयारीमा थिए
भण्डारकोठामा मुसा र पुत्ला घुसेर 
बित्पात मच्चाउन तम्तयार थिए
बारीमा फतक्कै एकैसाथ पाकेर ३/४ घरि केरा
मलाई आच्छु आच्छु पारिरहेका थिए
म बिल्कुल अनाडी थिएँ
र बिस्तारै जटिल बन्दै गएको परिस्थितिदेखि   
असुरक्षित महसूस गर्दै थिएँ

आमा आएकै दिनदेखि 
सारा चिज काबुमा आउन थाल्यो
किनेको दूध हरेकपल्ट बिग्रिजान छोड्यो
मलाई कुनै सुइँको नदिई
भित्तामा र कहिलेकाहीं भाँडामा समेत
माकुराले जालो लगाइहाल्न पाएन
बाटोदेखि उड्दै आएर
कार्पेट, कुर्ची र झ्यालमा समेत लपक्कै जमी बस्ने
धूलोले सताउन छाड्यो
र तेलाम्य चुलो समेत टलक्क टल्क्यो 
फेरि अर्को खेप सिमी फल्यो
फेरि अर्को खेप साग उम्रियो, झारको बदलामा
गमलामा अर्काथरी फूल अन्कुराए   
मुसा, भुसुना, कीरा, कमिला
साराका सारा काबुमा आए
आमा नहुँदा
घर यतिबिघ्न अलपत्र होला भन्ने मलाई लागेको थिएन
ममाथि यतिथरी चिजले
एकैसाथ आक्रमण गर्छन् भन्ने कुनै अन्दाज थिएन

अर्को एउटा कुरा पनि मेरो हेक्का रहेनछ
मैले सोचेको थिएँ
यी चराहरु पनि त्यस्तै आक्रमणकारी हुन्
बिस्कुन चोर्ने लुटेराहरु हुन्
होइन रहेछ,
आमाले यिनलाई दिनदिनै कनिका छरिदिनुहुँदो रहेछ
सानो थालीमा 
पानी पनि राखिदिनु हुँदोरहेछ छतमा
बिस्कुन बढ्तै पोखे भने 
'हा..., अब जाओ !' पनि भन्नुहुँदो रहेछ 
आमाले माया गरेको बुझे पनि, नबुझे पनि
त्यसमा यिनलाई बानी परेको मलाई थाहा थिएन 

घरमा आमा नहुँदा 
यिनीहरुले पनि शायद
मैले जस्तै व्यग्रतापूर्वक
आमालाई नै कुरिरहेका थिए !

Thursday, March 26, 2020

प्रश्नहरुमा चरा



















चराले आकाशलाई के भन्दो हो ?
चराले धर्तीलाई के ठान्दो हो ?
सुखदुख त उसको हाँगामै कट्ने हो,
चराले रुखलाई कति मान्दो हो ?

उड्दा उड्दैका चरा यसै कहाँ खस्छन र ?
चरालाई खस्ने डर कति हुँदो हो ?
आंधीको संकेत उस्ले पक्कै बुझेको हुनुपर्छ,  
फेरि आंधीमै फसेमा ऊ कति रुँदो हो ?

ऐना त देखिन्न चराको गुँडमा, बिचरा !
चराले आफू अर्को कसरी चिन्दो हो ?
कम्ता खट्दैन ऊ यौटा गुंड बनाउनलाई,
त्यही फेरि चट्टै छोडी कसरी हिंड्दो हो ?

माउले फेरि बचेरा कहिले भेट्दो हो ?
बचेराले उही आकाश कति रुन्ग्दो हो ?
कहिलेकाहीं लाग्छ म पनि चरा भएर हेरुं,
आकाश बाँडियो भनी मलाई कति ठुन्गदो हो ?

चराले आकाशलाई............?

Wednesday, March 25, 2020

खलाँसी
















एउटा मैलो ध्वाँसे रङको चेग्वेरा टी-शर्ट बाहिर
जम्मै टाँक फुस्केको कमिज लगाएको
थोरै लामो कपाल पालेको
एक कानमा मुन्द्रा समेत लगाएको
कतै रंगीन र कतै खुइलिएर 
सेतो धब्बा भैसकेको पेटी बाँधेको  
ठाउँ ठाउँमा घोट्टिएर र च्यातिएर  
अलिकति घुंडा समेत देखिएको  
धोल्ले जिन्स पाइन्ट पहिरेको
पातलो स्यांखुले मानिस 
जब तिर्खाले आत्तिएर  
खिइएको चप्पल पड्काउँदै
साँझमा तल सडकबाट
एक अंखोरा पानी माग्न आएको थियो
मैले उसलाई खलाँसी भनेर चिनिहालें
र पानीको साटो मोही दिएर पठाएँ |

श्रीमान्, हजुरले के सोचिबक्स्यो कुन्नि, 
मलाई मेरै सासुआमाले भन्नुभएको हो-
“टाढाको यात्रामा   
खलाँसीभन्दा भगवान अरु हुनै सक्तैन
र उसको गुन पुरै तिर्न पनि सकिंदैन !

एउटा दुधे बालकलाई काखमा च्यापेर
अर्कोलाई बायाँ हातको औंलाले डोर्याएर
पीपी झोलामा यावत लुगाफाटा र अरु कुराहरु
अटेसमटेस खाँदेर 
सकी नसकी बोक्दै
भाइसंग बिदाइको हात हल्लाएर   
उतिबेला म बन्दीपुरबाट बिराटनगर जाँदा
हात तानेर मलाई बसमा चढाईदिने
हात थामेर मलाई बसबाट झराइदिने
एकैछिन बच्चालाई काखमा लिईदिने
उसको दाजुलाई ललिपप किनेर ल्याइदिने
र मलाई प्लास्टिकको झोला हातमा थमाएर
उल्टी नआउने दवाई खोज्न दगुर्ने   
कहिले झ्याल खोलिदिने
र कहिले त्यही बन्द गरिदिने
कहिले सीट उठाइदिने
र कहिले त्यही सुताइदिने
अन्तिम स्टेशन पुगेपछि पनि फेरि
ऊ... परको रिक्सा बोलाएर
मेरा केटाकेटी र झोला समेत चढाएर
मन्दिरको बायाँतर्फको गल्ली देखाउंदै  
मलाई यहाँसम्म पुर्याईदिन लगाउने   
बाटोको मेरो यौटै भगवान् उही थियो |”

श्रीमान्, आमाको काखको त्यो दुधे बालक
जरुर पनि हजुर नै हुनुपर्छ|

आमा भन्नुहुन्थ्यो-
“जसका आँखा दूरबीनजस्ता तीक्ष्ण  
र मन नौनी जस्तो कोमल हुन्छ,
कालकुट बिष समेत पचाउन सक्ने
जसको निलकन्ठको जस्तो घांटी हुन्छ
हेर्दा जस्तोसुकै होस् ऊ
जो बुध्द र मुहम्मदले झैं
सबैको सबैबेला ख्याल राख्छ
र सबैलाई उसैगरी सेवा गर्छ  
जो वृन्दावनका कृष्णले जस्तै
हाँस्दै, हँसाउदै, नाच्दै, नचाउँदै
आफू किन्चित नसुतेर   
सुतेकालाई समेत उठाएर
गन्तब्यमा झारिदिन्छ
त्यो भगवान नभए अर्को को हुन्छ ?”

जब जब घरमा 
कुनै खलाँसीको कुरा उठ्थ्यो  
आमाको अनुहार धपक्क बल्थ्यो र
उसैलाई सम्झेर आमा भन्नहुन्थ्यो -
“बुहारी,
टाढाको असजिलो यात्रामा    
खलाँसीभन्दा अर्को भगवान कुनै हुनै सक्तैन !”

Sunday, March 8, 2020

फेरि पनि महाराज जुद्धसम्शेरकै नाममा


















महाराज जुध्दशमशेर,
धत्तेरिका !
कसले लुट्यो हजुरको मास्क ?
कि हजुरले नै
कसैलाई दिईबक्सेको हो, करुणाबश ?

बर्षौंदेखि यो काकाकुल शहरको
धुलो, हिलो, धुवाँ र दुर्गन्धले
आजित भैसकेको म,  
विश्व बाताबरण दिवसको साइतमा
प्रदुषणमुक्त शहरको सपना बोकेर सखारै
'स्वच्छ, सफा, हराभरा काठमाण्डौ' को प्लेकार्ड उचाल्दै  
जब गुज्रंदै थिएँ न्युरोड-गेट हुँदै
झट्ट हजुरको शालिक देखेर
मैले नै चट्ट लगाईदिएको थिएँ
हजुरको मुखमण्डलमा एउटा मास्क !
त्यसपछि, 
कहिलेकाहीं त हेर्ने गरेकै हुँ मैले  
गुगल इमेजमा हजुरको त्यही तस्बीर |   

तर,
म भोरमा परें, मालिक !
माफी बक्स्योस,
यो सरकार फरार भएको देशमा  
कहिले प्याजको भाउ सोध्दै बजार बजार भौतारिंदा
कहिले लसुनको भाउ सोध्दै पसल पसल चाहार्दा
मैले ध्यानै दिन भ्याएनछु हजुरलाई
आज
कोरोना भाइरसको हल्लाले चिमोटेर   
मास्ककै भाउ बुझ्न हिंड्दा बजारमा
बल्ल याद आयो हजुरको !

मालिक, त्यो को हो,
जसले थुत्यो हजुरको मुखैबाट मास्क ?
र जसले गायब गर्यो सारा बजारबाट समेत,
हजुरले च्याप्प समातिबक्सन पर्दैनथ्यो त्यसलाई ?
र जोर थप्पड लगाईदिबक्सन्थ्यो भने त्यसको गालामा ?
हजुरको एकदुइ शब्द गर्जनैले पनि
सातो उड्थ्यो त्यसको,   
नब्बे सालको महा-भूकम्पपछि  
हजुरको हुकुमैले काठ तस्करको हुर्मत लिएको  
कसले भुलेको छ र ?

होइन,
कि हजुर निदाईबक्सेको थियो ?

मालिक !
अबदेखि ध्यान दिईबक्सेला,
हजुरको शालिक बरु साँचो होला    
यो शहरमा धेरै कृतिम मानिसहरु छन्
कृतिम हल्ला फिंजाएर देशलाई
फनफनी भूमरीमा जाक्नेहरु छन्
आकासमा चील उडेको देखाएर
भुइंका कुखुरा ताक्नेहरु छन्
हजुरको गद्दी टुटेको  
यो सत्तरी सालपछि पनि
उतिबेलाको संस्कार टुटेको छैन  
सिंहदरबारमा
सातसय पल्ट बदलिएपनि
झन्डावाल र कुर्चिवाल
हाम्रो मनोबल अझै उठेको छैन
महाराज, अबदेखि 
हजुर साबधान होइबक्सेला,
समय बदलिए जस्तो देखिएको मात्र हो,
धोका नखाईबक्सेला
बिन्ति, अबदेखि ननिदाईबक्सेला ! 

javascript:void(0)