थोरै भए पनि अँध्यारोमा
एक एक दियोहरु बलिरहेको बेला
गाह्रै भएपनि अक्करमा
एक एक फूलहरु फूलिरहेका बेला
मानिसहरु आफ्नो धर्म सम्झेर
भोकालाई खुवाउन
र रोगीलाई बचाउनको लागि
आफ्नो छाक त के,
प्राणसम्म उत्सर्ग गर्न तयार भएको बेला
एकथरी सिनोमा घुमिरहने गिद्दहरु
सिनोबाहेक केही नसोच्ने मांसभक्षीहरु
उन्मादको आगो ठोस्दै
अहंकारको गीत गाउँदै
दुखीहरुलाई सराप्दै
पौरखीहरुलाई खिसिट्युरी गर्दै
संरक्षक हुनुको अभिनय गरिरहेछन्
'कसैको घरमा बोको काटेमा....
कसैको घरमा दुलही भित्र्याएमा.....
कसैले दान,यज्ञ, भोज चलाएमा.......'
आह,
लिगलिगकोटका मानसिंको झल्को दिनेगरी
घोषणा पढिरहेका छन्-
"ए चाकडी नबजाउने प्रहरी !
ए चाप्लुसी नजानेका डाक्टर !
ए खोट मात्रै खोस्रने इन्जिनियर !
ए भोट मात्रै घटाउने पत्रकार !
ए भ्रष्टाचारको राग गाउने कलाकार !
ए स्वस्ति गर्न नजान्ने प्राध्यापक !
ए देखेको कुरा फटाफट बोलिहाल्ने
पाईलट या प्रशासक !
.........
अब, कान खोलेर सुन !
नभए, इतिहास पल्टाएर हेर !
भीम काजीहरुको क्षति र गेहेन्द्र समशेरको नियति
'मकैको खेति' र सुब्बा कृष्णलालको दुर्गति
यो मुलुकको मूली जो छ
उस्ले आफ्नो खिलाफ ठान्यो भने
निमोठ्न सक्छ सहजै फूलहरुको कण्ठ
या उखेलेर फालिदिनसक्छ बोट
पोखिदिन सक्छ दियोको तेल
या निकालेर फालिदिन सक्छ ज्योति-धागो
अरुलाई लागेको निषेध उसलाई लाग्दैन
अरुमा हुने लज्जाबोध उसलाई हुनुपर्दैन
मात्र उसलाई सिनो पुगिरहनुपर्छ
पर्याप्त, स्वादिष्ट सिनो !
जसका निमित्त ऊ
इन्द्रेनीका रङ्गहरु पनि
थुतेर मिल्काउन सक्छ
मध्यरात्रिको सन्नाटामा
कसैको घर फोड्ने तारतम्य रच्छ
र नसके
एक पोलो बारुला उडाएर
स्वजनहरुकै समेत सातो लिन्छ
थाहा छ ?
बिहानको कलिलो घामको पनि
तेजोवध गर्नसक्छ उसले
साँझको शितल चन्द्रमाको पनि
तेजोवध गर्न सक्छ उसले
लुट्नसक्छ उसले पौरखीहरुको पसिना
र निल्न सक्छ ज्यानै पनि !"
तथागत,
यत्रो हिंसाको भय लट्काएर शिरमाथि
यत्रो अहंकारको तमासा मच्चाएर आँखै सामुन्ने
तेजोवध गर्दै यो बुद्धभूमिको
उही स्टाटस लेखिरहेछ हजुरको नाममा
र बाँडिरहेछ ओठे शुभकामना -
'अप्पो दीप भव:
अप्पो दीप भव:
बुद्धम शरणं गच्छामी !'
No comments:
Post a Comment