आमा विदेश घुम्न गएका दुई महिना
घर बेकाबु थियो
गमलाका फूल सुकेर
झरिसकेका थिए
करेसाका कलिला सिमी
पाकेर
फुटिसकेका थिए
र यी दुबैथरिका बोट
घामले
खंग्रंग र खैरो भैसकेका थिए
तिनको ठाउँमा
हलहली
पलाएको अग्लो झारले
रजाईं गर्दै थियो
भान्साकोठामा कमिला बाहेक
भुसुना र साँग्ला पनि
प्रवेश गर्ने तयारीमा थिए
भण्डारकोठामा मुसा र
पुत्ला घुसेर
बित्पात मच्चाउन तम्तयार
थिए
बारीमा फतक्कै एकैसाथ
पाकेर ३/४ घरि केरा
मलाई आच्छु आच्छु पारिरहेका
थिए
म बिल्कुल अनाडी थिएँ
र बिस्तारै जटिल बन्दै
गएको परिस्थितिदेखि
असुरक्षित महसूस गर्दै थिएँ
आमा आएकै दिनदेखि
सारा चिज काबुमा आउन
थाल्यो
किनेको दूध हरेकपल्ट
बिग्रिजान छोड्यो
मलाई कुनै सुइँको नदिई
भित्तामा र कहिलेकाहीं
भाँडामा समेत
माकुराले जालो लगाइहाल्न
पाएन
बाटोदेखि उड्दै आएर
कार्पेट, कुर्ची र
झ्यालमा समेत लपक्कै जमी बस्ने
धूलोले सताउन छाड्यो
र तेलाम्य चुलो समेत टलक्क
टल्क्यो
फेरि अर्को खेप सिमी
फल्यो
फेरि अर्को खेप साग
उम्रियो, झारको बदलामा
गमलामा अर्काथरी फूल
अन्कुराए
मुसा, भुसुना, कीरा, कमिला
साराका सारा काबुमा आए
आमा नहुँदा
घर यतिबिघ्न अलपत्र होला
भन्ने मलाई लागेको थिएन
ममाथि यतिथरी चिजले
एकैसाथ आक्रमण गर्छन्
भन्ने कुनै अन्दाज थिएन
अर्को एउटा कुरा पनि मेरो हेक्का रहेनछ
मैले सोचेको थिएँ
यी चराहरु पनि त्यस्तै आक्रमणकारी
हुन्
बिस्कुन चोर्ने लुटेराहरु
हुन्
होइन रहेछ,
आमाले यिनलाई दिनदिनै कनिका छरिदिनुहुँदो रहेछ
सानो थालीमा
पानी पनि राखिदिनु
हुँदोरहेछ छतमा
बिस्कुन बढ्तै पोखे भने
'हा..., अब जाओ !' पनि भन्नुहुँदो रहेछ
आमाले माया गरेको बुझे पनि, नबुझे पनि
त्यसमा यिनलाई बानी परेको मलाई
थाहा थिएन
घरमा आमा नहुँदा
यिनीहरुले पनि शायद
मैले जस्तै
व्यग्रतापूर्वक
आमालाई नै कुरिरहेका थिए !
No comments:
Post a Comment