Friday, February 7, 2020

माड्साबलाई सुझाब

















जोसंग नङमासु छ बलियो सरकार
जोसंग हातेमालो खोज्छ समुद्रपार  
त्यस्ता विज्ञहरुको तर्कमाथि प्रहार ?

माड्साब, यो त भएन
जोड-घटाउ जानेको आधारमा
गणितलाई बिज्ञानसंग नजोड्नुस् 
थरि थरिका जीवनतत्व एकत्र गरी
हिसाबको जुंगेकोष्टभित्र बलजफ्ती नछिराउनुस्
हेर्नुस् त,

E=mc2,     g = 9.8 m/sec2
h2=p2+b2,    x = [- b ± √( b2-4ac)]/2a

यी अंकमाथि अंक बुई चढेका संख्याहरू
यी अक्षरमाथि समेत अंक चढेका समीकरणहरु,
कठै, यो नचाहिँदो सकस र भार
कलिला मस्तिष्कमाथिको अत्याचार !

घोक्न नसकेर ऐच्छिक गणितका साइन-कस  
खप्न नसकेर लठ्ठी, गाली र उठबस
बिज्ञान छोडेर स्कूलमा कक्षा सर्ने मै छु     
गैर-गणित कार्यक्रम खोज्दै मुश्किलसंग  
प्रविणता प्रमाणपत्र तह पढ्ने मै छु
कम्ता ऐंठन त पारेन यसले यार !      
मैले बिर्सिसकेका उबेलाका कुरा
सम्झी सम्झी भन्न बाध्य नपार्नुस्

स्कूल पढ्न छोडेर
३६० गीगाटन बिषालु कार्बनको डल्लो बोकेर
संसार हल्लाउँदै हिंड्ने 
ग्रेटा थनबर्ग किन चाहियो हामीलाई ?
सोलार कम्पनीकै मिस्त्री आउने भएपछि
घामको पाता कति डिग्रीमा कता फर्काउँदा ठीक हो,   
त्यो नालीबेली किन चाहियो हामीलाई ?
उत्तर चीनबाट हिमाल काटेर आउने रेल
किलोमीटरमा गुड्छ कि माइलमा,
किन सोधिराख्न पर्यो हामीले ?

वाइघात,
पल्लो डाँडामा स्कूलको घन्टी बजेपछि
घरबाट झोला बोकेर दगुर्ने हर्कबीरको प्रवेग 
मकै पिन्ने पानीघट्टको आरपीएम 
नयाँ धरहराले धान्ने भूइंचालोको रेक्टर स्केल
नदीको छालको चाल बताउने अभिव्यक्ति
टाढा पुछ्रेताराबाट आएको तरंगको आवृत्ति
फुस्रेमाथि भर्खर बनेको पुलको सेफ्टी फ्याक्टर
कृष्णभीर खसाल्नसक्ने झरीको मिलिमिटर
अकस्मात बारा छिरेको विध्वंसक आंधीको गति
कोशीबाढको क्युसेक र जिउधनको क्षति  
चिल्लो लड्डुको रंगमा सिसाको मात्रा  
दुर्घटनाको तथ्यांक र राजमार्गको यात्रा   
फेवातालमा जलकुम्भीको बिस्तार दर   
हिमालमा जलबायु परिवर्तनको असर
शहरमा दमकलको माग र क्षमता
माटोको चिस्यान र हावाको आर्द्रता  
सम्भावित पश्चिमी वायुको प्रभाव
( उफ् यो बिश्वब्यापिकरणको युगमा )
हैन, कतिबिधि गणना चाहिएको !
शेषनागका हजार जिब्राजस्ता  
नानो, पिको, मेगा र टेरा रटाएर
कति साह्रो यातना रचिएको !

त्यसैले,
छोड्नुस्, माड्साब, छोड्नुस्
यो असह्य यातनाको बोटलाई नगोड्नुस्
प्रकाश बर्षका कुराले भुलाएर  
यो असीम अन्धकारमय तथ्यलाई नमोड्नुस
सरकारसंग मिलेर उद्धारमा जुटेका
स्वप्नदर्शी विज्ञहरुको प्रतिकुल नबोल्नुस् 

कृपया,
बिज्ञहरुले बुझे जसरी नै बुझ्नुस् 
बिज्ञहरुले बुझेजत्ति नै बुझ्नुस् 
कमलको निर्मल फूलको कुरा गर्दा बिज्ञहरुले 
हिलोभित्र त्यसको जरा नखोज्नुस्, 
माड्साब, गणितलाई बिज्ञानसंग नजोड्नुस् 

Thursday, December 5, 2019

जीवनबोध












ए शितल बतास उठाऊ मलाई
ए न्यानो प्रकाश जगाऊ मलाई
भुलेर यो पीडा म हिंड्न चाहन्छु 
ए सेतो हिमाल बोलाऊ मलाई

यी तारा र चन्द्र, यो बादल हेरुंला
यी पर्बत र मैदान, त्यो जंगल हेरुंला  
यी मेरा नयनका परेली खुलुन्जेल
यिनै सम्झनाले मथिंगल भरुंला

यो चिर्बिर चराको, म सुन्दै बसुँला  
यो कल्कल खोलाको, म रम्दै बसुँला  
मेरो दुक्ख होला यो छोटो परिक्षा
फेरि मुक्त हाँसो, म गम्दै बसुँला

यो जोबन् यो जीबन् कति किमती छ
यो पलपल छ सुन्दर, अनौठो त्यति छ
मेरो प्रार्थनामा जति सत्य म छु
त्यति प्राप्ति मेरो वशमा रहेछ  

अब जिन्दगीको जति फुर्को बाँकी
छ ज्युने छु पुरा, कुनै धक् नराखी
म मान्छे हुनेछु, यो धर्तीको मान्छे  
डटी लड्छु जत्रै उठोस् न ल आंधी !  


Wednesday, December 4, 2019

महाराज जुद्ध समशेरका नाममा


महाराज जुद्ध शमशेर,
आइबक्स्योस् मालिक !
कहाँनेर उभ्याउं हजुरको शालिक ?

'म यहाँ किन ल्याइएं?' भनेर
बाटोमा हिंड्ने बटुवा, बिद्यार्थी या अरु कसैलाई
हजुरले नसोधी बक्सेला
हजुरले शिर्फ बेला बेलामा
आफ्नो गर्जन दिईबक्सेला
आफ्नो हुकुम दिईबक्सेला
'यस्तो छाडातन्त्र चल्दैन' भनिबक्सेला |

मालिक,
हजुरले 'यो कुन ठाउँ हो?' नभनिबक्सेला
छक्क नपरिबक्सेला, ( उतिबेला थिएन पनि )
यो बिश्वबिद्यालय हो
विश्वकै सोच राखेर पढाई हुने
राष्ट्रको आँखा
समाजको गहना
सभ्यताको सूचक
बिचारको पुन्ज  
बहसको चौतारी
भविष्यको निर्माता
अनुसन्धानको कारखाना
अग्रगतिको इन्जिन .............
(कठै, हेरिबक्स्योस् त ब्याक-गियरमा लम्पसार परी बसेको !)

मालिक !
'यहाँ मेरो के काम?' नभनिबक्सेला
हजुरको हुकुमी राज टुटेको
सत्तरी सालपछि पनि 
यहाँ उसरी नै हुकुम चल्छ
एउटा निरीह प्राणीलाई सिंहाशनमा राखिदिएर 
सिंहदरबारले उसरी नै नायवी चलाउँछ  
र कुत असुल्छ, 
   
उतिबेलाका भाइ भारदारहरुको जस्तै 
यहाँ पनि भागबन्डा र कटाक्ष चल्छ,
र चल्छ-
बाहुबलीहरुको बलमिच्याइँ
फरक अलिकति मात्रै छ, 
भारदारहरुले जिउमा या कतै लुकाइराखेको 
खुँडा, खुकुरी, भाला या अरु कुनै हतियारको साटोमा 
एउटा भुत्ते ताला हुन्छ सबैको खल्तीमा
र त्यसैको सहारामा, 
कुनै धूर्त लालचीको इशारामा  
कसैसंग बदला लिने आत्महत्याको शैलीमा 
'यहाँ बर्षमा तेह्र महिना तालाबन्दी हुन्छ' भनें भनेपनि  
हजुरले अट्टहासको हाँसो नहाँसिबक्सेला,
अपत्यार नगरिबक्सेला, 

मालिक !
म सुटुक्क भन्छु हजुरलाई
उनीहरु दावा गर्छन् आफूलाई 
उनै विश्वेश्वर र पुष्पलालका अनुयायी !

मेरो बिन्ति छ मालिक,
हजुर शालिक भएपनि
( यो मास्क हटाएर )
मालिकले झैं बोलिदिन पर्यो बेला बेलामा
गर्जिन पर्यो गगनभेदी स्वरमा  
बोल्न नसक्नेहरुको आवाज 
र सुनाइरहन पर्यो पटक पटक 
चार भन्ज्यांग कटाइदिने त्रास !

यहाँ ताला खोल्ने हिम्मत कसैको नभएरै
मैले हजुरलाई गुहारेको हुँ   
यहाँ सत्य बोल्ने हिम्मत कसैको नभएरै
मैले हजुरलाई पुकारेको हुँ |

Thursday, October 31, 2019

खराब हावाको सकस





















यही बाटो भएर हिंडेको छ
चोर पनि, अपराधी पनि
यही हावामा सास फेरेको छ
ज्यानमाराले पनि, हत्याराले पनि
यहींको मूलको पानी पिएको छ

अत्याचारीले पनि, भ्रष्टाचारीले पनि 
यिनै चार भन्ज्यांगभित्र छ उसको बासस्थान
र यहीं छन् उसका आफन्त पनि, नातेदार पनि

मलाई निम्ता गर्नेले बोलाउँछ उसलाई पनि
मलाई इज्जत गर्नेले सह्राउँछ उसलाई पनि
मैले गतिला ठानेकाहरु पनि
उठबस गरेको देख्छु उसैसंग
संसार यस्तै हो कि म खराब हो !
कहिलेकाहीं मै पनि बाध्य हुन्छु 

‘नमस्ते’ साटासाट गर्न उसंग
र पछि पछुताउंछु, 

तर त्यसको के अर्थ ?
किन यति ढिट भएको हुँला म ! 

म आफैंसँग प्रश्न गर्छु 
सारा जगतले सजिलो मानेको बेला ?   

जब
उसलाई र मलाई
संगसंगै पुरस्कृत गर्छ सरकारले -एउटै अलंकारले
साउने झरी झैं बर्सने बधाईका हरेक घन्टीले
मेरो होश हवाश उडाउंछन् 
झन् उसैको फोन आउँदा
मलाई धिक्कार लाग्छ
जिउंदै मरे मरे झैं लाग्छ

हजुरबा भन्नुहुन्थ्यो –
हावाको ख्याल गर्नु
खराब हावा बगेको बेला
चोर साधु झैं बन्छ
साधु या त दुला पस्छ,
या चोर करार भई कुटिन्छ- चोरकै साटोमा
हावा खराब भएको बेला मानिस चिन्न गाह्रो पर्छ 
अहिले मलाई आफैंलाई चिन्न गाह्रो भैरहेको छ | 


Thursday, September 5, 2019

पांच टुक्रा


भित्ताको प्रश्न 

घडीका सुइहरु
जब प्वाँख भएर उड्ने तयारीमा थिए
दासताको बिरुद्धमा
जोर जोर नाराहरु घन्के
ब्याट्रीहरुले पनि दिए बर्षदिनको झट्का
र संगसंगै उडे,
भित्ता उदास भयो
 एकछिनपछि
उसले किल्लालाई सोध्यो-
साँच्चि तिमीले कहिल्यै घोचेका थियौ र उसलाई ?
किल्ला नाजवाफ थियो |    


आँशुको अनर्थ  

हठात् मेरो आँखामा पर्यो
सानो कीरा
र आँसुमा भिजेर त्यो मर्यो
मलाई खूब नमज्जा लाग्यो
मेरो आँसुले कहिल्यै
कसैलाई पोलेको थाहा थिएन |


सिरकको जवाफ 

जंगल छिचोलेपछि 
घामसँग बिदाबादी हुँदै
चिसो बताससंग हल्लिंदै

म पुगें
लेकका चिटिक्क परेका लजमा
र 
कोठाको सिरकलाई सोधें –
न्यानो त छौ नि ? 
म खूबै चिस्सिंदै आएको छु 

सिरकको जबाफ थियो –
म पनि दुइ तिन दिन भयो
कठान्ग्रिएर बसेको
तिम्रै संसर्गले
न्यानो हुने आशामा छु |


फूल 

फूल, बस् ,
आफैंमा यति सुन्दर छ कि
तारिफमा उसलाई  अबिर लाइदिन पर्दैन
कसैले हार पहिर्याईदिन पर्दैन
उसको वरपर दियो पनि बालिदिन पर्दैन
फूललाई पूजा पटक्कै मन पर्दैन
तर ऊ नै नभई कुनै पुजा हुँदैन | 


शंका/ उपशंका  

कोही कोही मानिसहरु शंका खोज्दै हिंड्छन
जरूर तिनले भेट्टाउँछन् यसलाई
र यसैको 'ब्रेकफास्ट' गर्छन्

बीचमा टुप्लुक्क देखापर्छ- उपशंका
त्यो झन् अद्भूत मीठो ठहर्छ

र यसरी 
शंका र उपशंकाको खुराकले  
दिनभरि शहर चाहार्न पुग्छ | 

Monday, September 2, 2019

सुस्केरा















माथि माथि 
अझ माथि
अझैँ माथि
गाँस्दै छु खाँवा, मेरी आमा
नभन्नु कसैलाई यो कुरा
मनमा छ छुरा
जति पोल्छ बाहिर
पोल्छ भित्र झन् त्योभन्दा धेरै न 
यो हिमाल हैन, यो पहाड हैन म चढेको 
यो हैन चिसो भित्ता त्यो अरुण खोलाको
यो तातो तावाबाट निस्केको हावा हो
कहाँ रुख छ ? कहाँ ओत छ ?
कहाँ छाँगो, कहाँ कलकल हिउँको पानी ?
बालुवामा तररर 
चुहिएको पसिनाको मै हुँ खानी
कुन मृगतृष्णाले तान्यो यो मेरो जवानी

देख्दैछु जहाज उडेका नीलो नभमा 
निधारमा रातो टीका लगाएर बिदा मागी 
फेरि झर्लान् यहाँ कैयौं म जस्तै अभागी
कल्पिन्छु, सम्झन्छु अहिल्यै हो जस्तो - 
अध्यागमनमा अगाडी पछाडी
देश छाडी घर छाडी 
हिड्नेको लर्को उसपाली
तब चिच्याउँछ यो आत्मा - म हुँ नेपाली

मेरो बाबा, 
सुनगाभा यहाँ फुल्दैन, फुल्दैन गुराँस
यहाँ देख्न मिल्दैन बर-पीपल चौतारी
मन्दिर, पोखरी, रजहाँस
जब राति चर्किन्छ सिसा झैं यो शरीर
जब पोल्छ यो छाती
भेल झैं आउँछन् सम्झना भाँती भाँती
झस्किन्छु, तर्सिन्छु म 
आखिरी यति न रैछ लेखेको 
जब उठ्दैन साथी हिंजो संगै सुतेको 
अनि प्रश्न गर्छु बेहिसाब आफैं माथि,
प्रश्नहरु फुट्छन जाती-नजाती 

मेरा बुद्ध ! म छु क्रुद्ध
तर छन् अबरुद्ध सब बाटाहरु 
यहाँ मान्छे होइन म हुँ एक औजार
यहाँ सरकार कहाँ हुन्छ, 
हुन्छ औजार बजार्ने ठेकेदार 
एक भाँचिन्छ त अर्का भेटिन्छन् हजार  
यहाँ कस्का  बेदनाको के छ सार ?

ए, चन्द्र र सूर्यको झण्डा, मलाई
नपठाउ यसरी आधा जलाई 
मलाइ थेग्नु छ खालि 
एक छानो एक मानो 
जहान आफ्नो र सानो खेतबारी
मलाई फर्किन मन छ 
पिजडा खुलेको चरा झैं 
पंख उचाली

तर भन्ने कहाँ मैले, सुन्ने छ कहाँ ?
देख्न मिल्दैन ठूल्ठूलो सपना यहाँ
सपनाको बिंड छ धेरै टाढा
बिपनामा पनि यो निराशा 
गाढा.....गाढा ...... गाढा ....!

माथि माथि .......................

javascript:void(0)