Monday, September 2, 2019

सुस्केरा















माथि माथि 
अझ माथि
अझैँ माथि
गाँस्दै छु खाँवा, मेरी आमा
नभन्नु कसैलाई यो कुरा
मनमा छ छुरा
जति पोल्छ बाहिर
पोल्छ भित्र झन् त्योभन्दा धेरै न 
यो हिमाल हैन, यो पहाड हैन म चढेको 
यो हैन चिसो भित्ता त्यो अरुण खोलाको
यो तातो तावाबाट निस्केको हावा हो
कहाँ रुख छ ? कहाँ ओत छ ?
कहाँ छाँगो, कहाँ कलकल हिउँको पानी ?
बालुवामा तररर 
चुहिएको पसिनाको मै हुँ खानी
कुन मृगतृष्णाले तान्यो यो मेरो जवानी

देख्दैछु जहाज उडेका नीलो नभमा 
निधारमा रातो टीका लगाएर बिदा मागी 
फेरि झर्लान् यहाँ कैयौं म जस्तै अभागी
कल्पिन्छु, सम्झन्छु अहिल्यै हो जस्तो - 
अध्यागमनमा अगाडी पछाडी
देश छाडी घर छाडी 
हिड्नेको लर्को उसपाली
तब चिच्याउँछ यो आत्मा - म हुँ नेपाली

मेरो बाबा, 
सुनगाभा यहाँ फुल्दैन, फुल्दैन गुराँस
यहाँ देख्न मिल्दैन बर-पीपल चौतारी
मन्दिर, पोखरी, रजहाँस
जब राति चर्किन्छ सिसा झैं यो शरीर
जब पोल्छ यो छाती
भेल झैं आउँछन् सम्झना भाँती भाँती
झस्किन्छु, तर्सिन्छु म 
आखिरी यति न रैछ लेखेको 
जब उठ्दैन साथी हिंजो संगै सुतेको 
अनि प्रश्न गर्छु बेहिसाब आफैं माथि,
प्रश्नहरु फुट्छन जाती-नजाती 

मेरा बुद्ध ! म छु क्रुद्ध
तर छन् अबरुद्ध सब बाटाहरु 
यहाँ मान्छे होइन म हुँ एक औजार
यहाँ सरकार कहाँ हुन्छ, 
हुन्छ औजार बजार्ने ठेकेदार 
एक भाँचिन्छ त अर्का भेटिन्छन् हजार  
यहाँ कस्का  बेदनाको के छ सार ?

ए, चन्द्र र सूर्यको झण्डा, मलाई
नपठाउ यसरी आधा जलाई 
मलाइ थेग्नु छ खालि 
एक छानो एक मानो 
जहान आफ्नो र सानो खेतबारी
मलाई फर्किन मन छ 
पिजडा खुलेको चरा झैं 
पंख उचाली

तर भन्ने कहाँ मैले, सुन्ने छ कहाँ ?
देख्न मिल्दैन ठूल्ठूलो सपना यहाँ
सपनाको बिंड छ धेरै टाढा
बिपनामा पनि यो निराशा 
गाढा.....गाढा ...... गाढा ....!

माथि माथि .......................

No comments:

Post a Comment

javascript:void(0)