Friday, March 26, 2010

शोकगीत (+)

शोकगीत

झरीले केही लेखिरहेछ
पोखरीको पानीमा
स्मृति विस्मृतिका भुल्काहरु खोपेर
छालहरू फुट्दै फैलिंदै बिलाइरहेछन्
छेवैका अग्ला रुखहरु पनि सोचमग्न छन्
सेता फूलहरु शोकमा डुबे झैं देखिन्छन
आज यो काठको बार पनि तप्तपाइरहेछ
कैयौं आँखा रसाए झैं गरी
हिंड्ने बाटो पनि चिप्लो देख्छु म

भाउजु चिया पकाउंदै हुनुहुन्छ चूलोमा
आगोले पनि
पानीकै भाषा बोल्दोरहेछ कहिलेकाहीं-
मौनता

असीन- पसीन हुँदै
दाई छिर्नुहुन्छ पसलमा
र भन्नुहुन्छ -
आज शहरको महसूर खेलाडीले जर्सी साट्यो
मैदान छोड्नै नमान्ने मानिस आज थाक्यो
उसंग
एउटा अन्तिम गोलको आशमा थियौं हामीहरु ......
बिहानैदेखि

भाउजुलाई पसल सुम्पेर
उसैको अबसान हेरेर फर्किंदैछु म

झरीले केही भरिरहेछ
आँगनको खोल्सोमा
आफैंले जमाएको पानीमाथि

------------------------------------------

हराएको मान्छेको बयान

आज सबै विवरण भरेर आएँ
नछुटाई दस्तखत गरेर आएँ
तिर्नुपर्ने सबैको, तिरेर आएँ
प्रिये, आज म हिंडेर आएँ

चोक गल्ली सबै नापेर आएँ
दिनभरिका घाम तापेर आएँ
आज सबै बत्ती कुरेर आएँ
शहरका सबै झ्याल घुरेर आएँ

हर भित्ताका नारा पढेर आएँ
सबै खण्डहरमा अडेर आएँ
सुन, आज सबैकहाँ पसेर आएँ
चिया पिउँदै एकछिन् बसेर आएँ

नबोल्नेसित पनि बोलेर आएँ
ओस्सिएको नाता खोलेर आएँ
सबैका पुरै कुरा सुनेर आएँ
आज मनमनै गुनेर आएँ

प्रिये, आज म यसरी हराएँ
कि आफ्नो शहर चिनेर आएँ
र बाँकि हिसाब छिनेर आएँ

Saturday, March 6, 2010

हिउँको जबाफ

( हिउँ छर्ने त कहीं भेटिएन,
हिउँले भने जबाफ पठायो):

प्रिय गुनी जन,
म हिउँ हुँ, शिर्फ हिउँ
म कुनै वीउ होइन
उंचा आकाशबाट झर्नुपर्दा
कसैलाई चोट नपुगोस भनेर
फुस-फुस झर्ने गरेको छु
यो जाडो याममा
काम आउँला कि भनेर
कपासकै सिको गरेको छु
म हिउँ हुँ, सादा सेतो हिउँ
म चिसो छु कि के छु
मलाई के थाहा ?
मानिसहरुले 'हिउँको सिरक' भनेका छन्
मानिसहरुले 'हिउँको पछ्यौरी' भनेका छन्
'हिउँको दोलाईं ', 'हिउँको तन्ना',
'हिउँको बिछ्यौना' समेत भनेका छन्
कवितामा, कथामा, यात्रा-गाथामा
खुबै नै तारिफ गरेका छन्
तस्वीरले पाना भरेका छन्
त्यसैले फुर्किएर,
नौमास पर्खिएर
मंसिरैदेखि
उत्सुकतापूर्वक म कुरिबस्छु
र मौका मिल्नासाथ खस्छु,
वीउ झैं उम्रेर
फेरी वीउ बनाउने र
अनन्तसम्म निरन्तर हुनखोज्ने
कुनै ध्येय छैन मेरो
मलाई भेट्नुछ निर्वाणको पँधेरो

म हिउं हुं, निष्कपट सेतो हिउं

आफ्नै कति रहरहरु थाँती राखेर
सबैको खुशीको निम्ति
विनय र संवेदनले चुलिंदा चुलिंदै पनि
किन हो किन आजभोलि
अनिष्टका शंकाले मन घेरिएको छ
समय निकै नै फेरिएको छ
अग्ला शिखरहरु समेत
खलखली पसिना काढ्न थालेका छन्
'ऊफ, कस्तो गर्मी!' भन्दै
पछ्यौरी उतार्न थालेका छन्
कसैले त तताएकै छ है तलबाट !
काला धुवाँहरु बुर्कुसी मार्दै
उँभो उँभो सरेको मार
मैमाथि पोखिएको छ
'लौ, हिउँ त पग्लियो' भनेर
अखबारमा लेखिएको छ
खडेरी,अनिकाल र बाढीपहिरो समेतका
हर-सम्भावित हाहाकारमा
कारण मेरै देखिएको छ
कसै कसैले फेरि मलाई
'पानीको वीउ' भन्न थालेका छन्
माफ गर्नुस है, ए हजुर,

पग्लेपछि त म नै हुन्न
पानीको जिम्मा म लिन्न,
पानीको जिम्मा पानीलाई
कुवा,खोला,ताल र सागर
पानीका जुनसुकै मुहानीलाई

जाबो यौटा हिउँको जुनी,
यसो गरेपनि नहुनी,
उसो गरेपनि नहुनी !

नोट : यो कविताको प्रसंग केहि हदसम्म यसअघिको कवितासंग जोडिएको हुनाले (पहिला नपढ्नुभएको भए) त्यो समेत पढ़नुहुन अनुरोध गर्दछु

Thursday, February 18, 2010

हिउँ छरेको दिन

आज हिउँ छर्ने दिन रहेछ
कामको छट्पटीले
रातभरि निद्रा नपरेर होला,
सबै सुतेको मौका छोपेर
अंधेरैमा उठेर
खोइ कसले हो कुन्नि,
यत्रो हिउँ छरिभ्याएछ

उठ्ताखेरि
अलि बढ्तै उज्यालोले पोल्यो आँखामा
अलि बढ्तै सुनसान घुल्यो बिहानीको भाकामा
ओहो, लौ हेर,
लतमन्न हिउँ सुतेको खेतबारी
(धानका निहिन भन्दा बढ्ता!)
मानौं, यसैको कुनिउं लाउने हो यसपाली,
मानौं, यसैको बाली भित्र्याउने हो यसपाली,

झ्याल खोलेर हेर्न खोज्दा
अलि गाह्रो गाह्रो पर्यो,
साह्रो साह्रो पर्यो,
र कतर - कतर बज्यो पनि
ए, लौ हेर..
कस्तो ढंग नपुर्याई छरेको होला यो हिउँ?
यहाँ झ्यालका कापसम्म आइपुग्ने गरी,
यो हिउँ छर्नेलाई
घरका झ्याल हुन्छन भन्ने पनि थाहा छैन कि कसो ?
घरका ढोका हुन्छन भन्ने पनि ज्ञान छैन कि कसो?
आँगनमा पनि छरेको छ,
छानामा पनि छरेको छ
कसको जग्गा, के लाउने हो
केही पर्वाह छैन उसलाई,
खेल्ने चौर र हिंड्ने बाटो त कुरै छोडौं
कहिं ठाउँ नै नपाए झैं गरी,
फुक्ला रुखमा पनि सेतै भरेको छ

हे भगवान !
न जमीन जोतेको छ,
न भुईं खोपेको छ,
झार फाल्ने र ब्याड हाल्ने त
नामोनिशान छैन
एकछत्र सबैतिर छोपेको छ!
यसरी, बिनसित्ती,
किन छरेको होला यत्रो हिउँ ?

मुठ्ठी फुस्किएर अलि धेरै बिउ
एकै ठाउँमा पर्दा त बाली बिग्रन्छ,
यसरी अँगालो अंगालो हिउँ
एकै ठाउँमा छर्दा के सप्रिएला ?
............................................

कतै त्यो हिउँ छर्नेवाला
आफ्नै हिउँको धरापमा फँसेर
घर फर्कने बाटो समेत नचिनेर
रणभूल्ल पर्दै
यतैतिर
पंधेरीको ढुंगे पर्खालमा
या पार्कको बेन्चमा
घसमस्स सुतिरहेको त छैन,
हिउँकै बर्को ओडेर ?

गाउँलेले भेटे भने
पाटी नै पाटीले बजाउने छन् उसलाई
आँगन र मोठ मात्रै होइन,
जुठेल्नो र गोठ पनि
सोहोर्न लगाउने छन् उसलाई!

Friday, February 5, 2010

जिन्दगी/अनुभूति

अनुभूति-१

घामले यति पोल्यो कि
पोल्दा पोल्दा
अब घाम न्याना लाग्न थाले
घाम बिनाका ठाम बेकाम लाग्न थाले

झरीले यति डाम्यो कि
डाम्दा डाम्दा
अब झरी रिमझिम लाग्न थाल्यो
बुँद बुँदको स्पर्शमा हर्ष बग्न थाल्यो

हूरीले यति हल्लायो कि
हल्लिंदा हल्लिंदा
अब हूरी मन्द लाग्न थाल्यो
सिरसिर मीठो छन्द लाग्न थाल्यो

जिन्दगीले यति बहकायो कि
बहकिंदा बहकिंदा
बहकाई नै मुलधार लाग्न थाल्यो
मुलधार किनार भै भाग्न थाल्यो
समयले हिसाब माग्न थाल्यो|

अनुभूति-२

बिहानैदेखि
सागर किनारमा
मानिसहरुको ओहोर-दोहोर चलिरहेछ
कोही खेलिरहेका, कोही पौडिरहेका
लच्किंदै बालुवामा दौडिरहेका,


घाम चर्किन्छ
तिनका छायाँहरु पनि
गाढा बन्छन

तिनीहरु पनि खेल्छन
नयाँ श्वास पाए झैँ

रमाउंदै,

त्यही सागरमाथि
सूर्यलाई हल्कासँग तान्दै गर्छ कसैले
पश्चिमतिर
माझीले नाउ ताने झैं,

एकछिनपछि

यो किनारामा
अग्ला, होचा, दुब्ला, मोटा
सयौं मानिसहरु
लहरै एकसमान उभिएर
सूर्य अस्ताएको हेर्छन
तिनका छायाँहरु पनि
क्रमश: पातलिंदै हराउंछन्
र मानिसहरु स्वयं
आ-आफ्ना छायाँजस्तै बनेर
अन्धकारमा बिलिन हुन्छन

भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी
किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !




Friday, January 22, 2010

मनको संगत

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली

हतासिन्छ खालि
बतासिन्छ खालि
यो कस्तो सबारी
बिना क्यै तयारी ?

म भन्छु एकैछिन
बिसाउँ देउरालीमा
ल हेर, ऊ कुद्छ
फूलमा, डालीमा!

न पुग्ने किनारा
न रुक्ने सिमाना
जे नै देख्छ राम्रो
त्यसैको दिवाना!

बेसुरैमा डुल्छ
बेहोशी भै भुल्छ
जब गल्ती खुल्छ
मसंग असुल्छ!

छिनैमा गमिलो
छिनैमा अमिलो
कति पार्छु संग्लो
ऊ बन्छ धमिलो!

रातोदिन् चाहारी
बिना जिम्मेवारी
मनै पो छ भारी!
म हिँडछु घिसारी

यो मनको संगालो
यो मनको भंगालो
कहाँ साट्न मिल्ला
यो मनको अंगालो ?

यो मनको उकाली
यो मनको ओराली
हिंडेकै छु साथी
आफूलाई सम्हाली.......

Sunday, January 10, 2010

एक साक्षात्कार- स्वाइन् फ्लु भाइरससंग



अलबिदा, ए मेरो प्रस्तावित साथी!
भरोसा रहेन अब तिमीमाथि

तिम्रै मायालु बच्चाको साथी बनेर
नर्सरी स्कूलबाट घरसम्म आएँ
र उसकी स्नेही आमालाई
बेलीबिस्तार लाएँ -
आमा हजुर !
अपरिचित नठानिबक्सेला,
म सबैथरी भेदभाव भन्दा माथि
म साथीको पनि साथी बन्ने साथी
मेरै दोस्तीको खातिर
कैयौंको जीवन समर्पण छ साक्षी
त्यसैले होला शायद,
दुश्मनले नजाती भन्दाभन्दै पनि
म चर्चामा आइसकेको जाति
बादल झैँ घुम्दै फिर्दै
संसारलाई आफ्नो बनाउने रहरमा
कैयौं फेसबुक र ट्वीटर बोकेर
आइपुगेको छु हजुरको शहरमा
अन्यथा नसोचिबक्सेला,
हजुरलाई पनि
मेरो मित्रताको हार्दिक आमन्त्रण छ!

बस्
आमाको मन
मैनको जलन !
भनिबक्स्यो-
पर्ख, मलाई त छट्पटी भयो
उहाँलाई छिट्टै बोलाउँछु
(भेटघाटको व्यवस्था मिलाउँछु!?)

राम्रै भयो, तिमी आयौ
तर, कसले के सुनाइदिए कुन्नि
पहिलो भेटमै मुन्टो फर्कायौ
शत्रुको अखाडाबाट नासो ल्याए झैं
मुखमा के त्यस्तो टांसो लगायौ
अरु त अरु,
आफ्नै जहान बच्चासंग पनि
खोइ कतिबेला गला मिलायौ ?

तिमीसंग दोस्तीको याचना गर्दै
भान्छाकोठामा ढुकेर बसें
बाथरुममा लुकेर बसें
त्यतिले पनि भएन
फुर्सदको घडी कुरेर
तिम्रो बिछ्यौनामै सुतेर बसें
अहँ,
तिमी त ढुंगाको दिल भएको मान्छे
सुत्दा पनि मुख ढाकेरै सुत्यौ
उठ्दा पनि मुख ढाकेरै उठ्यौ
मैत्रीका हर इमान्दार यत्नहरुमा
शंका र षड्यन्त्र भेटिरहयौ
मेरा हर पदचाप मेटिरहयौ
हदैसम्म बढेर
मेरा निर्दोष साथीहरुको मुहारमा
मित्रताको रापले कोरिएका हस्ताक्षरहरु
टामीफ्लुको इरेजरले घोटिरहयौ

यसरी
तिम्रो उपेक्षा र उदासिनताले
दोस्तीको शालीन पत्र
बीचमै अलपत्र पर्ने बुझेपछि
आफ्नो मैत्रीको बहिखातालाई
मान्द्रो झैं बेरेर
त्यो उकुसमुकुस बाताबरणबाट
म सुटुक्क हिंडें

अलबिदा, ए मेरा बन्न नसकेका साथी !
भरोसा रहेन अब तिमीमाथि

भेटेछु भने पनि कहीं कतै यात्रामा
चौतारीमा, बिसौनीमा, मेला जात्रामा
अबदेखि तिमीलाई पछयाउने छैन
खुबै मिल्ने साथीको सम्पर्कमा देखेपनि
तिम्रो प्रोफाइलमा चियाउने छैन
दोस्तीको निमंत्रणा पठाउने छैन

(२००९ सालको अन्त्यतिर क्रिसमस उपहार बोकेर आएको स्वाइन् फ्लुसंगको आफ्नै अनुभवमा आधारित कविता)

Wednesday, December 30, 2009

नयाँ सालको जुत्ता

(सर्बप्रथम, यहाँहरु सबैलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !)

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ -
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैताला भरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ?














यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका,

टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको

एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ -
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा...
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो
javascript:void(0)