Saturday, February 15, 2014

नाङ्गोपनको पक्षमा

नांगिनुलाई तिमी अनैतिक नभन
बरु नांगिएरै नैतिक बनेका छन्
कैयौं अनैतिकहरु
हेर,
नांगाहरु कति नजिक छन् एकआपसमा,
कति आत्मीय छन्,
केही नभएरै पनि साथमा
बाँडिरहेका छन् निस्फिक्री प्रेमको माधुर्य   
सृष्टीको अमर, अमुल्य उपहार  
त्यसैले
मुटु चोपेर बनाउँछन् नांगा तस्वीर, कलाकारहरुले
आगो र नौनी एकैसाथ मुछ्न सक्छन तिनीहरु,  
कविहरु खाली छटपटाउंछन् मात्रै,
शब्दहरु खश्रिएर अड्किन्छन - तिनका घांटीमा !

हरे बेहोशी,  
जब प्वाँख लगाएर भुरुरु उड्छ नांगो पुतली  
जब घुम्टो फ्याँकेर फक्रिन्छ नांगो गुलाफ
जब डोल-परेली खुल्छन नायिकाका  
या नांगो ओंठ फुस्फुसाउंछ,      
हजार केसिकाहरु एकैसाथ खिचिंछन् -
दर्शक अन्तस्करणमा,
र कौतुहलका हजार घिर्निहरु एकैसाथ चल्छन - घुरुरुरु
समय सुक्ष्म निद्राको ओडार छिरी निस्कंदा      
देख्छ,
निमेष ननिभेका नयनभित्ते दियोहरु  
अविराम अनुभूत भैरहेको तिनको न्यानोपन     
पिंग-मन मच्चिएर उरालिइरहेको        
र बेजोड सिर्जनाहरु लहलहाइरहेका स्वप्न-बगानमा !
तिनलाई समेल्ने मोह-बाजीमा       
कोही मिहिन सर्का गाँसेर अमर बन्छन्
(कोही भद्दा धर्का टाँसेर हराउंछन् )
चोक चोकमा
थप नांगा आकृति उभिन्छन्
(भीड जम्छ संग्रहालयमा ! )
र युगले सभ्यताको अर्को पुंजी थप्छ
त्यसैले,
नांगिनुसंग नडराऊ
नांगिनेसंग नकराऊ  
ए नांगिनेहरु हो,
निस्फिक्री, आफुखुशी नांगिऊ
यसरी कि,   
संसार आनन्दित बनोस् ,
भुलोस् उसले आफ्ना निरस तानाबाना
र एकैछिन किन नहोस्
निसंकोच तारिफ गर्दै हेरिरहोस्
रातो फुललाई झैं !  

Tuesday, February 4, 2014

सगुनको बेला

एअरपोर्टको लोडरले भन्यो-
यो साल झन् धेरै भित्रिए,                                 
काठका बाकसहरु काठमाडौँमा |

फूल थाप्दै गरेका    
यस्तै बाकसहरु टुलुटुलु हेर्दै
हातैको पासपोर्ट अझ दह्रोसित थामेर   
ऊ विदेशिएको थियो -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

आफन्तहरु भन्दैथिए –
बाबु, उता नहेर,
यो सगुनको बेला हो |

--------------------------------

जहाज उडिरहेकै बेला
अनिद्रामै उसले देखेथ्यो     
कहालीलाग्दो
भीर-भीरै दौडिरहेको सपना !
अघि कहिल्यै नदेखेको
त्यो सपनालाई
उसले साँच्चिकै आफ्नो भन्ठानेन |

बिचबाटोमा संगीहरु झैं    
अनिच्छापूर्बक उसले पुछेथ्यो  
आफ्नो निधारको रातो अक्षता |

दिर्घायुको आशिर्बाद  
त्यहि चम्किलो अक्षता झैं
गाउँभरका सबैलाई थाहा थियो
उसको परदेश बसाइं-अबधि |

सगुनको बेला
लटरम्म सपनाहरु मात्रै आफ्ना थिए | 


Tuesday, January 7, 2014

धनगढी, अझै चिस्सिऊ, अझै चिस्सिऊ

घामलाई हावा खुस्केको भकुण्डोलाई झैं निचोरेर

रद्दीको टोकरीमा कतै फालिदेऊ

हावालाई रेफ्रिजेरेटरबाट निकालेर

ढुंग्रीले फुक्दै उडाऊ

पानीमा जमीनको तातो बाँकी छ भने

त्यहि हावाले सेकाऊ, (या भ्याकुम लगाएर तान !)

त्यतिले मात्रै कहाँ पुग्छ ?

रातिदेखि नै  

सेतो, बाक्लो भिजेको सिरक खोजेर

टपक्क दायाँ बायाँ मिलाएर ओढ्न नबिर्सिऊ

धनगढी अझै चिस्सिऊ, अझै चिस्सिऊ

  
यहाँ सडक छेउमै फोहोर बालेर

आनन्दले आगो ताप्नेहरु छन् ,

यहाँ निद्रै लाग्नेगरी हिटर रन्काएर

बिदेशी पैसाका गाडी हाँक्नेहरु छन् ,

बजारमा अभाव भएपनि

लुकीछिपी ग्याँस खूब बिकेको छ,  

मुसाले अन्न ओसारे झैं

पटक पटक

जंगलबाट काठ दाउरा बाहिरिएको छ,

रिक्सावाला र ट्रक ड्राइभर 

संगसंगै भट्टी छिरेका छन् ,

जोरी खोज्दै महिनादिन अघिसम्म 

अलग अलग सुत्ने दम्पति 

जाडोकै निहुँमा फेरि मिलेका छन्  

चिया पसलमा पनि भीड छ, 

होश गर है, धनगढी, होश गर,

सडकमा बुंङ्ग धुलो उड्ने हुनाले

तिम्रो नजरले धोखा खाएको हुनसक्छ !



फागुन देखि नै जोरी खोज्दै आउने  

बाँकी बर्षभरीको भुन्ग्रे-तातोलाई माथ गर्न 

आफ्नो पौरख देखाउने यत्ति हिउँद हो

थोरै पनि कसैलाई सहुलियत गरेर

नाथे ज्याकेट, स्वीटर र पछ्यौरीका 

दासहरुसंग नजिस्किऊ 

दम, बाथ र रुघाखोकीको बहानामा  

आफैँ बिमार परेको सेती अंचल अस्पताल   

दिनभर रुंग्नेहरुसंग नमिस्सिऊ 

तिनलाई 

देउता चढेको मस्टा झाँक्री झैं काम्ने गरी 

शिरपाउ, सबैठाउँ डाम्ने गरी

धनगढी अझै चिस्सिऊ, अझै चिस्सिऊ

Monday, January 6, 2014

तीन थुंगा

         -१-

यहि बुझिनसक्नु छ, अंगराज   
तिम्रो हातमा परेपछि
किन हरेक चिज
तातो आलु बन्छ,
र त्यो थेचारिन्छ कसैको टाउको माथि ?

         -२- 

शहर सानो छ,
हामी जहाँतहीं ठोकिन्छौँ |
कहिले नबोली आफ्नो बाटो लाग्छौं
कहिले बोल्नलाई एकछिन रोकिन्छौँ | 

        -३- 

नांग्लो निफंदाका  
बयाँ-धान जस्तै
चारैतिरका कविहरु   
एकै ठाउँ समेलिएका छन्, 
स्वतन्त्रताको बीट समात्दै ! 

Tuesday, December 31, 2013

आलु (र ) कविता




















एकदिन म
कविताको बिषय खोज्दै थिएँ,
चेतनले भन्यो,
हामी स्कूलको होस्टेल बस्दा 
आलु ताछ्थे एकजना दाई,  
चालीस बर्ष
आलु ताछेरै बित्यो उनको,
आखिर एकदिन
आलु ताछ्दाताछ्दै 
ड्यांङ्ग लडेर बिते उनी,
आह ! जीबन यसरी पनि कट्दो रहेछ !

उस्का कुरामा कुनै काब्य-तत्व नभेटेर
भित्तातिर फर्कें,
र एकछिन सोचिरहें,
हठात् सम्झें, 
म पनि चालीस बर्ष पुगें
थाहै नभई,

टीक-टीक बजिरहेको भित्तेघडी देखाएर
बुझक्कड झैं, उसलाई भनें –
हेर, धेरै सालपछि भेट्यौं हामी,  
संसारलाई यसरी कुदाउने घडी त
आफु जहाँको त्यहीं रहन्छ,  
र एकदिन प्वाक्क खसेर फुट्छ, भुइंमा  
जीवन त्यस्तै न हो !  

उसले के बुझ्यो, कुन्नि !  
आफ्नै उत्तरले असन्तुष्ट म भने
अझै पटक पटक झस्किन्छु -
कतै म पनि
आलु ताछिरहेको त छैन,
यस्तै कविताको नाममा ? 

Sunday, December 29, 2013

मौन- सम्बोधन


-१-

मनमनै भनें,

सबै कुरा भनें,

भगवानलाई भनें,

यसो गर्दा-

कसैसंग बाझाबाझ हुने गुन्जायस रहेन !


-२-

यो हजुरको कथन

सधैं रहोस् मनन् -

कि, हजुर श्रीखण्डको गींड

हामी खुर्पाका बींड,

हरपल टलपल ढलपल

हजुरको दम्भ

चलमल, अलमल गर्न नमिल्ने

हामी स्तम्भ,

होशियार छौं पलपल,

जब चढ्छ सरकारको पारो

खसिजान्छ नभको तारो

संसार बन्छ अँध्यारो


हजुर श्रीपांच - लवज! ठाँट!

हामी घाँस, पलाँस

हजुर दानी, अन्तर्यामी

हामी छुद्र, अज्ञानी

बात हजुरका महाबाणी

ईश्वर, नश्वर मुग्ध दिवानी,

कोही छिर्छ जब तारिफ गाउँदै

लुसुक्क, हजुरको दरबार

पाउँछ रे किमती उपहार, पुरस्कार

तैपनि घट्ने नाम लिन्न रे,

हजुरको अथाह भण्डार !


हजुर कुलीन, सुगन्धी-मगमग

हामी कीट-पतंग, रगरग

हजुर, मानिसभन्दा माथि

तैपनि बित्थैं दाँजिने हर्कत

गर्छ किन यो अटेरी छाती ?



रोकेर करले यसको धड्कन

जनाउँछु आफ्नो पूर्ण समर्थन

कि यो बातमा, म छु दृढ,

हजुर पावन श्रीखण्ड-गींड

हामी नगन्य खुर्पाका बिंड !

Tuesday, December 17, 2013

झोला
















लामो यात्रासंगै
म अत्यन्त थकित भैसकेको थिएँ,
हतार हतार झोला निकालेर
सिरानीमुन्तिर आड लगाउंदै 
लजको खाटमा
पल्टें र भुसुक्कै निदाएं,
हठातको मेरो निर्णय देखेर  
झोला सोचमग्न देखिन्थ्यो

कति बेला हो कुन्नि
झोलाका दुई फिता
दुई हात झैं बनेर उसका
पहिले सुस्त..री मलाई
र पछि आफैलाई छामेको देखें
एक एक गरी
गन्तीको शैलीमा झोला भट्टयाउँदो रहेछ -
अलिकति चिउरा र दालमोठ 
एक बोतल पानी, एक सानो मग  
आधि खोलेको बिस्कुट
आधा चाउचाउ,
यहाँ उहाँ टन्नै कोचिराखेका कपडा
एउटा टर्चलाइट, एकजोर थप ब्याटरी
एक पुरिया साबुन
फेरि अलिकति धुलो डिटरजेन्ट पनि
प्लास्टिकमा बाँधी राखेको,
रेजर, ब्रश र दंतमन्जन
सेभिंग क्रिम र सन्स्क्रिन
ओडोमस – लामखुट्टेको कवच  
एक तौलिया र एकरोल टिस्सू छुट्टै
क्यामेरा र चार्जरहरु
शिरैमा थपक्क राखेको
आइफोन, चश्मा र घडी 
बाहिरी खल्तीमा केहि किताबहरु
एउटा कलम, नोटबुक र नक्सा पनि
अलिकति औषधिहरु र घाऊ छोप्ने टेप
अरु खासै केही भेटिएन,
यति भएपछि यात्रा बन्दो रहेछ
लामै यात्रा,   

एकाएक बिजुली चम्के झैं
झोलाको अग्रभागमा
दुई आँखा झिमिक्क खुले
र झोला चलमलायो,
उसलाई मनमनै लाग्यो होला -
तिमीसंग भएको सबै त मैसंग छ 
आफैं एउटा यात्रा हिंड्छु अब

साँच्चै, पुलुक्क मतिर हेरेर
झोला हिंड्यो
गंडयौला झैं घिश्रेर ढोकासम्म,
ऊ बाहिर निस्कनासाथ
ठूलो आबाज आयो
भर्यांगको दंगदंग पछि   
एक्कासि भुइंमा पछारिएको आवाज !

मेरो निद्रा खुल्यो
बेशक झोला ठाउँमा थिएन
निस्की हेर्दा  
पर्खालले घेरेको लजको आँगनबाट
लाख प्रयाश गर्दा पनि
कतै बाहिर उम्किन नसकेर   
थकित, गलित, धुलित
र बेहिसाब घाइते भएको मेरो झोलाले   
आँखा तर्दै मसित भन्यो –
यसरी बिस्मयी नजरले हेरेर
मलाई लज्जित नपार,
एउटा उन्मुक्त यात्राको भ्रममा हिंडेका  
तिमी पनि त मजस्तै
झोला हौ कसैका !
javascript:void(0)