Tuesday, December 31, 2013

आलु (र ) कविता




















एकदिन म
कविताको बिषय खोज्दै थिएँ,
चेतनले भन्यो,
हामी स्कूलको होस्टेल बस्दा 
आलु ताछ्थे एकजना दाई,  
चालीस बर्ष
आलु ताछेरै बित्यो उनको,
आखिर एकदिन
आलु ताछ्दाताछ्दै 
ड्यांङ्ग लडेर बिते उनी,
आह ! जीबन यसरी पनि कट्दो रहेछ !

उस्का कुरामा कुनै काब्य-तत्व नभेटेर
भित्तातिर फर्कें,
र एकछिन सोचिरहें,
हठात् सम्झें, 
म पनि चालीस बर्ष पुगें
थाहै नभई,

टीक-टीक बजिरहेको भित्तेघडी देखाएर
बुझक्कड झैं, उसलाई भनें –
हेर, धेरै सालपछि भेट्यौं हामी,  
संसारलाई यसरी कुदाउने घडी त
आफु जहाँको त्यहीं रहन्छ,  
र एकदिन प्वाक्क खसेर फुट्छ, भुइंमा  
जीवन त्यस्तै न हो !  

उसले के बुझ्यो, कुन्नि !  
आफ्नै उत्तरले असन्तुष्ट म भने
अझै पटक पटक झस्किन्छु -
कतै म पनि
आलु ताछिरहेको त छैन,
यस्तै कविताको नाममा ? 

No comments:

Post a Comment

javascript:void(0)