Saturday, December 17, 2011

केहि थुंगा / केहि गुच्छा

ईन्द्रधनुष

त्यतिन्जेल नटांग

कि माकुराले जाल हालोस्

--------------------------

रुख नढाल 

तार फेरि चुँडिन्छ

बत्ति पर्खीबस्नेको मन कुंडिन्छ

------------------------------------

सुनसान जंगल

हतार-हतार हिंड्दा

आफ्नै प्रतिध्वनि

--------------------------

हल्का हिमपात

घामको हस्तक्षेप

सबथोक धुवाउंछ

--------------------------

तीखा कांस

हरेकको टुप्पामा

शीत उनेको

---------------------------

खेतको ठूलो ढुङ्गो

उप्काएर फालेपछि

गहिरो भ्वांग !

------------------------

युद्धका महानायक

बुद्धका गायक 

पैसाको पायक !

----------------------


नेपालको राजनीति

बाह्रै मास फुल्ने

तर कहिल्यै नफल्ने

ओत/छायाँ पनि राम्रो नदिने

बतास पनि छेक्न नसक्ने

तैपनि

सबैलाई अल्झाईरहने

अजबको रुख

के हो भनि कसैले सोधे भने

भन्दिनु,

त्यो यहि कविताको शिर्षक हो |

------------------


झाल र रुख

लहरे झाललाई हेरेर

रुखको अन्दाज नलाउनु

बर्खामा

झालहरुले छपक्कै छोप्छन रुखलाई

झालका पातलाई नै रुखका भन्ठानौला

झालका डाँठलाई नै रुखका भन्ठानौला

त्यो गल्ती नगर्नु

झाल पन्छाएर हेर्नु

बरु यसो गर्नु ,

हिउंदमा पढ्नु रुखलाई !

----------------


मणिहरु

मणिहरु असाध्यै सफा थिए

निकै उज्यालो चहक थियो तिनमा

हजारौं रंगीबिरंगी स्वप्नहरुको

आभा छल्किन्थ्यो

दुर्भाग्यबश ती घुले

खूब चाख मानेर, पानीमा

बर्षौंसम्म यसरी घुलिरहे कि   

पानीको बदलिँदो स्वादको

हेक्कै भएन तिनलाई

अब संतृप्त भएर

फेरि केही उत्रेका छन् सतहमा

जे पनि घुलेर

पानी सहिनसक्नु फोहोर भएको ज्ञान छ तीसँग

तर घुल्न तयार भै बसेका

अरु नयाँ सफा मणिहरु

त्यो कुरो पटक्कै सुन्न चाहंदैनन |

Friday, December 2, 2011

देश फर्कने कुरा

थुइक्क!

स्टेट्स र क्यानाडाको मौसमको कुरा छाडेर

लन्डन ओलम्पिकको रमझमको कुरा छाडेर

सिड्नी र पेरिस घुम्दाका प्रसंग नजोडेर

किन प्वाक्क सोधें हुँला मैले

जाबो देश फर्कने कुरा ?

गफै निकाल्नलाई

एप्पल र गुगल पनि त थिए नि !

शेयर मार्केटको उतार चढाव

'रिसेसन' र 'बबल' पनि त थिए नि !

------------------------------------------------------------

परदेशमा

हामी संगै एउटा रात्रिभोजमा छौं

भित्तामा देशकै तस्वीर टाँसिएको छ

तिनकुने झन्डा समेत टांगिएको छ

माहोल पनि किन्चित भिन्न छैन देशको भन्दा

तिमी भन्दैछौ-

“हेर्नुस्,

संबिधान अझै बनेको छैन

बन्ने छाँट पनि देखिंदैन

हड्ताल, बन्द र चंदाबाजी उस्तै छ

हत्या, अपहरण र गुन्डागर्दी उस्तै छ

यत्रतत्र राजनीतिक हस्तक्षेप छ

सर्बत्र घुसपैठ र दाउपेच छ

केहि गर्न खोज्नेलाई पनि

गरिखान दिए पो,

देख्नुभएन

अस्ति एउटा उद्दोग नै बन्द भो ?“


म सुनिरहन्छु、

“अँ, हो ” पनि भनिरहन्छु、

तिमी अझै थप्छौ-

“यहाँ यस्तो राम्रो, ब्यबस्थित छ

सबकुरा सफा, सुन्दर, सुरक्षित छ

बच्चाबच्ची पनि रमाएकै छन्

महिनावारी भत्ता समेत पाएकै छन्

बिजुली, पानी सबथोक फालाफाल छ

हेर्नुस् त काठमान्डूमा के हाल छ ?

किनेर खाने चिजमा कुनै छैन भरोसा

पढिहाल्नुभो होला नि गुद्पाकको तमाशा ! “


म मुण्टो हल्लाउँछु

तिमी झन् उत्साहित हुँदै भन्छौ-

“बरु हजुर,

बिदेशमै बसेर

हामीले देश बचाएका छौं

अर्थतन्त्र गिर्न नदिन

रेमिटान्स पठाएका छौं

चाडबाडमा जमघट गरेर

संस्कृति समेत जोगाएका छौं

देशको माया कसलाई हुँदैन र ?

सकेसम्म त राखेकै छौं नि स्वदेशको नाम

अब उतैकाले गरे पो हुन्छ राम्रो काम !

हैन र हजुर ?”


बिस्तारै तिमी यसो पनि भन्छौ-

"पाखुरीमा बल छउन्जेल

२/४ पैसा कमाउने बेलामा

यस्तो स्वर्गजस्तो ठाउँबाट

देशै भनेर फर्कने कुन मुर्ख होला र ?”


बिदा हुने बेलामा

लामो अभिवादन गर्दै

मनमनै तिमीलाई भनिरहें -

“यत्तिका जानकार,

दिग्गज होनहार,

तहैपिच्छेका छात्रवृत्ति,

मानपदवी, अलंकार

तिमी नै यसो भन्दैछौ

उसोभए

कसले बनाइदिएर

कहिले देश फर्कौला तिमी ?”

--------------------------------------------------------------

देश नफर्कनलाई तिमीसंग अनगिन्ती तर्कहरु छन्

देश फर्कनलाई तिमीसंग अनगिन्ती शर्तहरु छन्

तिनको झारफुक समाधान नदेखेर हो कि

तिम्रा शब्दका अस्थिपंजरमा विदेश पलाइरहेको देख्छु म

तिम्रो देशप्रेमको परिभाषाबाट देश डराइरहेको देख्छु म !


Thursday, November 24, 2011

मन राख्ने आग्रह

मन कसैको भाँच्न हुँदैन

भाँचिन्छ कि भनेर जाँच्न पनि हुँदैन

मन त राख्ने चीज पो

राखिदिनुपर्छ

सानो, ठूलो जो होस्, आफ्नो - पराइ

प्रेमको उज्यालोले ढाकिदिनुपर्छ


थाहा हुँदैन,

कतिबेला कसको मन लुलो भएर बसेको हुन्छ

घाउ सानै भएपनि पीर ठूलो भएर बसेको हुन्छ

मजाकमै सही

मनको कोमल तन्तुमा घोच्न हुँदैन

के नै फरक पर्छ भनी सोच्न हुँदैन


मन सबैको उस्तै भएपनि

उहीं हुँदैन

आफ्नो मन हिमाल झैं अग्लिंदै गर्दा

हिउँ झैं पग्लिँदो मनमाथि नटेक

आफ्नो मन इन्द्रेणी झैं रंगिएको बेला

कुहिरो झैं धुम्मिँदो मनलाई नहेप

मनको संबेदनलाई सम्बोधन गर


थाहा हुँदैन,

कतिबेला तिम्रो मन पनि

मसिनो छेस्को भएर हल्लिएको हुन्छ

कसैको नजर नपर्ने

साँगुरो गल्ली हुँदै रल्लिएको हुन्छ

बोलाएर बोलिदिने

कुनै मनको खोजीमा हुन्छ त्यो

त्यसैले, मन फर्किने बाटो राख

मनलाई मनकै साटो राख


मन भाँचियो भने धेरै थोक भाँचिन्छ

दुखले आर्जेका धेरैथोक नासिन्छ

फेरी जोड्दा पर्ने तोडलाई सम्झेर

मन कसैको भाँच्न हुँदैन,

भाँचिन्छ कि भनेर जाँच्न पनि हुँदैन |

Friday, November 18, 2011

गोधुलीका स्वरहरु

परिबर्तन

अंगालोमा कस्न खोजें बतासलाई

अडिएन

तानेर धुकधुकीमै राखें

निस्कँदै जाँदै गर्यो हरेकपल्ट


अन्जुलीमा राख्न खोजें पानीलाई

काप कापबाट झरेर गयो

परेलीका खोल्सामै पनि अडिएन

पिएर नशाहरुमै पुर्याएं

तैपनि घट्दै जाँदो रहेछ

भरिरहनुपर्ने


तापिरहेको घाम पनि पातलिँदो रहेछ

ओझेल पर्दो रहेछ

बगैंचामा निस्केर फूललाई भनें- नओइलाउनु है

शुभ्र हिमाललाई भनें - नपग्लिनु है

आश पाली बसें


अहँ, केही भएन सोचेजस्तो

सबथोक अदलबदल भए

काखैमा हुर्केका छोरा समेत

तन्नेरी भएर विदेश लागे

छोरीहरु कहिलेकाहीं आउँछन्


देश बदलियो, सरकार बदलिए

जनता अझै बदली (परिबर्तन) माग्दैछन

समय तीब्र चलेको छ भन्ने सुन्छु


किन हो कुन्नि

कहिल्यै नबिग्रेको यो नाडीघडी भने

अचेल धीमा भएको छ

थाहा थिएन,

परिबर्तन यसरी 

आफ्नै नशामा समेत बग्दोरहेछ |

---------------------------------------------


गीत

आए आए जस्तो लाग्थ्यो बैंश आफ्नो गैगएछ

पातमाथि रात बस्ने शीतजस्तो भैगएछ


झर्दा झर्दै आँगनमा घाम अर्कै भैगएछ

छिर्दा छिर्दै बगानमा याम अर्कै भैगएछ 

चुनी लाउँदा फूल एउटा, बास बेग्लै भैगएछ

जुनीभरी संगालेको प्यास सग्लै रही गएछ


रेट्दा रेट्दै सारंगीको ताल अर्कै भैगएछ

हिंड्दा हिंड्दै पैतालाको चाल अर्कै भैगएछ

यत्ति धेरै तृष्णा साँची, यत्ति धेरै स्वप्न साँची

भिडदा भिडदै जोबनको रंग थाँती रही गएछ

छोए छोए जस्तो लाग्थ्यो .......


Thursday, October 27, 2011

उर्जा

घाम कहीं त पर्छ, हावा कतै त चल्छ

हेर नदी बगेको, छाँगो कतै त झर्छ

खोज्छौ कहाँ बिकल्प, उर्जा छ यत्रतत्र

तानी निकाल्नु पर्छ, उर्जा छ आफ्नै भित्र


छन् यत्तिका बुट्यान, इन्धनका बोट होलान्

उर्जा समेल्न मिल्ने भान्सा र गोठ होलान्

टिपेर उर्जा निस्कौं, दियो यहीं त बल्छ

दियोले दियो बाल्छ, उर्जाले तिर्छ खर्च


संतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क

उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ

संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?

हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |


शुभ दिपावली तथा भाईटीकाको हार्दिक मंगलमय शुभकामना !

Friday, October 14, 2011

रुख भएपछि......

एकाएक म रुख भएँ

जरा हालें,

हाँगा हालें,

र पातहरु पलाएं,

भनें -

अब कहीं जान्न

यो ठाउँ छोडेर,

बरु अग्लो भै हेर्छु यहींबाट


स्थिर उभिएर,

धर्तीलाई छायाँ दिएँ मैले

पक्षीलाई मायाँ दिएँ

घाम-जुनको साथी बनें

झरी-हुरीको साक्षी बनें

र भनें-यो पनि जीवन रहेछ,

गहिराइले थाम्दो रहेछ यसको उचाईं !


धेरै भएको थिएन ,

कहाँ कहाँबाट पथिकहरु आए

हाम्रो यो बगैंचा हेरेर रमाए

र भने -

अहा, क्या रुखहरु रहेछन !

क्या बगैंचा !

हामीले पनि यस्तै बेर्ना सार्न पाए हुन्थ्यो

हामीले पनि यिनका बिउ उमार्न पाए हुन्थ्यो !
javascript:void(0)