Friday, November 18, 2011

गोधुलीका स्वरहरु

परिबर्तन

अंगालोमा कस्न खोजें बतासलाई

अडिएन

तानेर धुकधुकीमै राखें

निस्कँदै जाँदै गर्यो हरेकपल्ट


अन्जुलीमा राख्न खोजें पानीलाई

काप कापबाट झरेर गयो

परेलीका खोल्सामै पनि अडिएन

पिएर नशाहरुमै पुर्याएं

तैपनि घट्दै जाँदो रहेछ

भरिरहनुपर्ने


तापिरहेको घाम पनि पातलिँदो रहेछ

ओझेल पर्दो रहेछ

बगैंचामा निस्केर फूललाई भनें- नओइलाउनु है

शुभ्र हिमाललाई भनें - नपग्लिनु है

आश पाली बसें


अहँ, केही भएन सोचेजस्तो

सबथोक अदलबदल भए

काखैमा हुर्केका छोरा समेत

तन्नेरी भएर विदेश लागे

छोरीहरु कहिलेकाहीं आउँछन्


देश बदलियो, सरकार बदलिए

जनता अझै बदली (परिबर्तन) माग्दैछन

समय तीब्र चलेको छ भन्ने सुन्छु


किन हो कुन्नि

कहिल्यै नबिग्रेको यो नाडीघडी भने

अचेल धीमा भएको छ

थाहा थिएन,

परिबर्तन यसरी 

आफ्नै नशामा समेत बग्दोरहेछ |

---------------------------------------------


गीत

आए आए जस्तो लाग्थ्यो बैंश आफ्नो गैगएछ

पातमाथि रात बस्ने शीतजस्तो भैगएछ


झर्दा झर्दै आँगनमा घाम अर्कै भैगएछ

छिर्दा छिर्दै बगानमा याम अर्कै भैगएछ 

चुनी लाउँदा फूल एउटा, बास बेग्लै भैगएछ

जुनीभरी संगालेको प्यास सग्लै रही गएछ


रेट्दा रेट्दै सारंगीको ताल अर्कै भैगएछ

हिंड्दा हिंड्दै पैतालाको चाल अर्कै भैगएछ

यत्ति धेरै तृष्णा साँची, यत्ति धेरै स्वप्न साँची

भिडदा भिडदै जोबनको रंग थाँती रही गएछ

छोए छोए जस्तो लाग्थ्यो .......


No comments:

Post a Comment

javascript:void(0)