Monday, February 18, 2019

शब्द-सारंगी


















ढुंगाको छानु, माटोको छानु
टिनको छानु, सुनको छानु
आ-आफ्नो कमाइ, आ-आफ्नो मानु
कस्ले पो छ र, अरुको खानु
के छ र हजुर बोकेर लानु
आखिरी बेलैमा
बरै, दुइदिने चोलैमा ! 
बरै, दुइदिने चोलैमा !

मै राम्रो भन्नु,मै जाती भन्नु
लोकैको कहनु कौडीमा गन्नु
सांचामा मान्छे सत्तुर पार्नु
झूठामा मान्छे अंगालो मार्नु
जतिन्जेल रहुला सत्ताको राप
त्यतिन्जेल रहुला लुच्चाको धाप
बलेको आगो, पोलेको मासु
भोकोमा मान्छे रोऊँ कि हाँसु
दाइँ हात तान्नु, बाइं हात तान्नु
देख्नेले सोधे, पोल्दैछु भन्नु
अंगेनामाथि घेरै पो हाली
झुन्डिएको सुकुटी
राजै, राष्ट्रको ढुकुटी !
राजै, राष्ट्रको ढुकुटी !

क्यामा दिउँ भोट, क्यामा लाउँ छाप
यस्पाली हो कि घामैको राप
रुखको छायाँ रुखैमा गढ़यो
दुर्जनको संगत्ऐठन बढ्यो 
बैरीका सामु शिर ठाडो पारी 
शानको बोली बोल्नेले फेरि 
दुइ पाटी मिलाई स्थिरैको सर्कार
बनाउंछौं भन्छन् गरिबको घरबार
घरिमा घरि, दश औंला जोडी
घुमेका घुम्यै नौ-ताल गरी 
बिन्तिमा सुनी, लौ त नि भनी
मालैमा उनी, फुलैमा उनी  
छाप है दिई लइनमा बसी
अबिरै घसी
पठाइयो दरबार ......
कठै, घांटीको तरबार ! 
कठैघांटीको तरबार !

श्री३ का पाला, श्री५का पाला
निमुखो जाति, नबोली खाला
जैलेमा होला रैतीको शासन्
तैलेमा होला न्यायको आसन्
भन्दै नभन्दै आइगयो पालो  
सबैको थिति भैजाला भलो 
आशैमा भुली हेर्दा छन् चुली 
चरीमा उड्ला पिंजडा खुली 
गरिबकी छोरी, भोरैमा परी
'ऐया नि आमा !' भन्दैमा मरी !
पशुका नंग्रा, पापका भारी 
आफूले मारी सोझालाइ पारी   
दोषीमा बस्यो दर्बारमा छिपी
बाटोमा हिंड्ने मान्छेलाई टिपी
आँखामा छारोशैतानी पारो 
'मै हुँ' भन् नत्र होलास् नि ठाडो  
गोलीको  निशानी
कठै, न्यायको फुटानी !
कठै, न्यायको फुटानी !

उँधैमा शिर, उँभैमा खुट्टा
यो अधम् केटी केजाती भट्ट
भन्याको मानी ठीकै छ जानी
भन्या नमानी, खन्याइदेऊ पानी
'ऐया'मा भन्ली फतक्कै पर्ली
तर्सेर आखिर सकार गर्ली 
मैल्यै हो भन्ली योजना गर्या
मेरै हो कारण निर्मला मर्या
मैल्यै नै ल्यायाँ निर्मला खान्या
हत्यारा दौतरी
बरै, साधुलाई शुली,
चोरलाई चौतारी !

टुटेको निसाफ, निभेको बत्ति   
भोटको भांग्रो, आँखाको पट्टि 
सत्ताको छुवाईमस्ती र मर्जी 
रैतिको रुवाइ बेकामे फर्जी 
सुकिमा जान्छ गरिबको आँसु
गरिबको रगत, गरिबको मासु 
हावाले लुट्छ ओठको हाँसो 
मुटुको नासो, गलाको पासो 
खुकुरी राज्य, धारको बोली
दापमा छैन क्या पर्ला भोलि 
आउ दाइ भन्नु परैमा जावस्
आउ भाइ भन्नु परैमा जावस् 
रगतको होलि पुग्यो नि राजै 
हिंजोको रात नफिरोस् आजै 
सबैमा हैकम आफैमा तानी 
'तरबारको हुकुम = सरकार' ठानी  
घुम्दो छ फनफनी 
बरै मुटुमा काँप्ने रणको सनसनी !
बरै रणको सनसनी !

ढुंगाको छानु, माटोको छानु
टिनको छानु, सुनको छानु
आ-आफ्नो कमाइ,आ-आफ्नो मानु
कस्ले पो छ र, अरुको खानु
के छ र हजुर बोकेर लानु
आखिरी बेलैमा
बरै, दुइदिने चोलैमा ! 
बरै, दुइदिने चोलैमा !

Wednesday, January 2, 2019

प्वाँख














ए नकुल्च ! यो छिचिबिरे प्वाँखलाई     
यो उड्दा-उड्दै
हठात् खसेको प्वाँख हो  

टपक्क टिपेर यसलाई
कुनै रुखको अग्लो डालीमा,
घरको पालीमा,
या देउरालीमा 
अग्लो ढुंगामाथि राखिदिउँला
कुनै हावाले उडाईलैजाला
   
नभए,
मै राखुँला यसलाई 
मेरा कितावका पानाभित्र
या 
सिउरिन दिउँला कसैलाई चुल्ठोमा !

नकुल्च,........ 
यो उड्दाउड्दै खसेको प्वाँख हो !

Saturday, November 10, 2018

अत्यासको गीत

आमाको मन् भतभति कती पोल्छ, छड्किन्छ सास
हुन्नन् छोरी जब वरिपरी, गुम्छ होश हवाश !
तड्पी तड्पी सकल दिन गो, रात आयो अँध्यारो
को सुत्ला खै गुँडमा नफिरी बाल सन्तान प्यारो ?

'साथी' भन्दै कलम र कपी बोकि दौडेकि छोरी
कस्ले मार्यो क्रुर पशुसरी नग्न पारी चिथोरी ?
कस्ले फाल्यो शब दलदले ऊखुको झ्यांगभित्र ?
छैनन् उत्तर्, गुपचुप सबै, राज्य नै यो बिचित्र !

‘आमा’ भन्दै कति समय ऊ छटपटाईन्, नसम्झुं
‘ऐया’ भन्दै कति पटक ऊ बर्बराइन्, नसम्झुं
मूर्च्छा खाँदा कसरि पशुले तोड्छ कौमार्य कण्ठ 
ए,सत्ताका भ्रमरहरु हो, सम्झ यो प्राण-अन्त !           

जाबो यौटा पतित पशुको मोह छोड्नै नसक्ने   
नाथे यौटा कपुत किटको जाल तोड्नै नसक्ने
कस्तो राज्ये सकल जनको भाव कैल्यै नपढ्ने  
कस्तो न्याये गरिब निमुखा पात्रले शूलि चढ्ने  
  
यस्तो सत्ता जुन जननिको आँसु बुझ्दैन रत्ति
यस्तो भित्ता जहाँ हृदयको मर्म घुस्दैन कत्ति
के सिक्नु खै नबिन - युगले राज्यको कर्मबाट ?
हत्याराको कवच कसिलो, अन्ध, उन्मत्त, ढाँट ?

यस्तै राक्षस् अघि पछि लिई नौथरी जाल उन्ने  
‘सम्बृद्धि’का, ‘सुखि मुलुक’का शब्द सन्सार बुन्ने
मिल्दा छैनन् कथनि करनी, दिउँसै हेर राति !
न्याये माग्दै कति जुग लडौं, गोलि थापेर छाती ?

यस्तै तिम्रो रितिथिति रहे, को न पोख्ला जवानी ?
यस्तै न्याये बुझि, सुनि यहाँ, को न राख्ला लगानी ?
नौला राजा ! अतिव सुनियो क्रान्तिका रिक्त बाणी !
कस्ले भुल्ला नमिता – सुनिता, निर्मलाको कहानी ?
  

Saturday, November 3, 2018

सम्भव/असम्भव













एकदिन मैले भगवानलाई जिस्काएं,
‘मानिसलाई यहाँ कति मुश्किल छ -
आफ्नै एक दुइ जनालाई मनाउन
तिमी क-कसलाई मनाउँछौ ?
क-कसलाई बनाउँछौ ?
क-कसका पीर सम्झेर बस्छौ ?
क-कसलाई समाधान दिएर सक्छौ ?

हजारौं मानिस लाम लागेका छन्  
मन्दिर, मस्जिद र गुम्बाहरुमा
लाखौँ उभिएका छन् गंगा किनारमा
खेतका किसान, दुकानका ब्यापारी
जात्राका जात्रु, यात्राका यात्री
दुखी-गरीब, रोगी-कम्जोर,  
कैदी- बन्दी, अपराधी-चोर
नेता,कार्यकर्ता, दलाल, फटाहा
साराका सारा
तिम्रै सहारा खोजिरहेका छन्

तिमी
क-कसलाई आफ्नो हिसाबमा चढाउँछौ  
क-कसलाई के के बाँडेर भ्याउँछौ ?
तिमी साँच्चिकै त्यति सर्ब-शक्तिमान छौ ?’

भगवानले फिस्स हाँसेर भने –
‘असम्भव, मनुवा ! असम्भव,
त्यो असम्भव छ एक्लैले गर्न
त्यो असजिलो पनि छ – असाध्यै,
पढेकै होउला कतै,
कहिलेकाहीं रामले सीतालाई र
शिवले पार्वतीलाई सम्झाउन नसकेको
लक्ष्मी र सरस्वती नमिलेको  
गणेश र कुमार बाझाबाझ गरेको
स्वर्गमै पनि असजिलो छ धेरैथोक
कसैको वशमा छैन – सम्पूर्ण समाधान !’ 

तैपनि, 
मलाई ढाडस दिंदै
भगवानले भने – ‘त्यसैले त मैले  
राखिदिएको हुँ
धर्तीका हरेक प्राणीलाई
आफ्नो एक एक टुक्रा हृदय -
तिनकै अन्तस्करणमा  !’   

Thursday, October 25, 2018

घाम / रूख















एकदिन घामले भन्यो - 
'रुख ! म तिम्रो फेदैमा आएर बस्छु 
जुग जुगांतरको मेरै तापले
म अत्यन्त प्रताडित छु
तिमी मलाई एकछिन छहारी देऊ  
थोरै शितल हुन देऊ’

रुखले बिनम्र भै आग्रह गर्यो –
‘प्रभु, अनन्त ऋणी छु म हजुरको,
हजुर भएकै कारण म छु
मेरो बीउ, बेर्ना देखि यो बिशाल वृक्षसम्म
म हजुरकै कृपा हुँ
मेरा पात पातमा हजुर छाउनु हुन्छ
र मेरो शरीर र प्राण बन्छ  
मेरा नशा नशामा हजुरकै करुण रस बग्छ
हजुर बिना म मेरो अस्तित्व कल्पनै सक्तिन

तर लाख बिन्ति छ  
हजुर मेरो यत्ति नजिक नआईदिनुहोला
हजुरको सन्ताप ममा नसारिदिनुहोला
म काबिल छैन त्यसको
असीम कृतज्ञताबाहेक
म हजुरलाई कुनै चिज चढाउने सामर्थ्य राख्दिन
मै भष्म भैजाउँला बरु
मेरो छहारीमा हजुर अट्नुहुन्न’

रुखको बचनबाट निरास घाम  
पर क्षितिजमा पुगेर डुब्नै लाग्दा
उसका दुई आँखामा
सागरका छालजस्तै केही
टिलपिलाइरहेको देखिन्थ्यो |


javascript:void(0)