Monday, June 30, 2014

अंतर्ध्वनि

आज  सन्तुष्ट छु, आज संतृप्त छु
म त फूलमा रमेको भंवरा बनें
एक नदि जो तरी बेग संग्रामको
पारि चौरमा सुतेको बटुवा बनें

धूपमा खूब जलें, शीतमा खूब गलें
चर्को हावा, हुरी र झरीमा कूदें
आज घामको पाहार, मन्द वायु बहार
कलकल पानी र चिरबिर चखेवा सुनें

स्वर्ग देख्नु कहाँ, नर्क भेट्नु कहाँ
आज अंतस्करणको कुटीमा टेकें
एक अँध्यारो गुफा निस्की हेर्दा, आह़ा
सच्चा ईश्वर अरुकै खुशीमा भेटें

आज धर्म चिनेँ, आज कर्म चिनें
सारा मन्दिर र मक्का मदिना चिनें
एक शहर जो घुमी खूब झिलमिलको
ज्यादा लालच बेचेर करुणा किनें


Tuesday, May 13, 2014

बुद्ध बिशेष


सुखका जरा
दुखहरु कतिपय आफैं पनि पलाउँछन्    
सुखहरु भने कसैले नरोपी फल्दैनन
बुद्ध
हाम्रा सुखहरु जसले रोप्यो
तीप्रति कृतज्ञता !
हामी पनि दुखहरु छिचोलेर
सुखका जरा रोप्न सकौं |



बाहिर / भित्र
मायाबतिले भनिन
बुद्ध
आँखा खोल
बाहिर यत्रो झरी परिरहेछ
सडक सडकै पानी बगिरहेछ
पाखा पाखै बादल हिंडिरहेछ
अब जाग
प्रकृतिको पनि चिन्तन गर
आभा खुल्दै गएको यो रमाइलो बिहानीलाई नगुमाऊ

बुद्धले भने
आमा
म यो सब देखिरहेछु
झरी छ, बजिरहेछ
मनभित्रका तारहरु गुनगुनाई रहेछन
बादल छ, सल्बलाईरहेछ, मनका ज्वारहरु पनि बगिरहेका छन् 
प्रभातका किरणहरु आशाका लाखौँ दीप बनेर
भित्र भित्रै चम्चमाईरहेछन्
बाहिर जो छ
त्यो भित्र झन् स्पष्ट छ,
सुन्दर, गहिरो र आनन्दमयी छ |


आवेग
तिलोत्तमाले भनिन्
गौतम, 
तिमी आवेग रोक्न भन्छौ 
शान्त रहन भन्छौ 
बिना आवेग कुनै सृष्टि भएको कहाँ छ ? 
तिमी पनि त आबेगमै निस्केथ्यौ, 
रात-बिरात घर छोडेर ! 

Sunday, May 4, 2014

सुनाई

सानो शंख बोकेर ल्यायो छोराले कतैबाट 
र मेरो कानमा छुवाउंदै भन्यो-
बाबा, यसमा सागर सुसाएको सुन,
नभन्दै, सागर पो .....!

त्यसपछि मैले   
पहराको ढुंगामा
खोलाको कलकल र 
जंगलको ठुटो-काठमा
कोइलीको गीत सुन्न थालें
हुँदा हुँदा
कति बर्षदेखि नलगाएको
मेरो थोत्रो जुत्तामा समेत  
आफ्नै पाइलाहरु अनबरत बजेको सुनें

अब म सचेत छु,
कुनै कुराको सम्झना नछोडेर
म बिल्कुल नरहँदा पनि कतै
मेरो आँगनको माटो उठाएर
कसैले देशप्रेमको धड्कन नसुनोस् ! 

Tuesday, April 8, 2014

मौसम-आग्रह

घामका मधुर किरणसंगै 
बाहिर झलमल्ल हिमाल खुलेको छ
को बसिरहला घरभित्रै यतिबेला ?
निस्क, यो उत्सब हो
जो संसारभरकै दुर्लभ हो
झ्याल झ्यालमै हिमाल उभिदिएपछि 
व्यस्तैलाई समेत एकछिन फुर्सद हो

अरे ! चिन्ता छोड, 
कसैका कुरा नकाट आज ! 

यो सफा दिन, यो ताजा हावा 
यो छिन छिनमा रंग फेर्ने हिमाल
त्यो तालमाथिको लच्किँदो बादल
यी पहाड, बेंसीका घर 
यो झपक्क बोगेंभिलाले ढाकेको शहर  
निस्क, खुला मन भिरेर निस्क

दुश्मन भेटे पनि बोल आज
उसलाई समेत बोल्न मन छ तिमीसंग !

यो बरदानजस्तै उल्लासमयी घडीमा
आज मौसम गाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
आज मौसम बजाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
यो सुन्दर शहरको एक सुन्दर बिहान
सुतेर नगुमाउँ
यो सुन्दर जीवनको एक सुन्दर पल
हृदयभरि चुल्याएर मनाउँ !!! 

ओदाने जुन

जुन यसैगरी कुद्थ्यो
हिंजो पनि
थाकासाकी लाइन या 
चुकुवा एक्सप्रेसको प्रतिस्पर्धामा 
आज पनि यो कुदिरहेछ, 
बर्दिया निकुन्जको माथि-माथि  
खप्तड यातायातको हतारोसंग ताल मिलाउंदै,
       
म पर्दा सारेर
झ्यालका कापबाट निरन्तर हेरिरहन्छु 
फरक यत्ति छ
जुनको ऐनामा  
उतिबेला म घर खोज्थें,
साँझको टुकी बालेको
पहाडफेदीको आफ्नो घर
यतिबेला, सागरपारि साकुरादेशमा 
आफ्नो परिवार खोज्दैछु  

जीबन दोलक बनेको छ,
समयको ढोलकलाई अन्यौलले पिटेपछि !

निरुपाय
जुनमै बिसाएर आफ्ना तमाम बोझहरु  
जब म झपक्क निदाउंछु
सपनामा फेरि उभिन्छ यसपाली   
एउटा झल्झलाकार ओदाने जुन   
जसको प्रार्थनामा
म बेहिसाब गाउँछु,
सबेरसम्म गाइरहेकै पाउँछु आफुलाई !

Saturday, February 15, 2014

नाङ्गोपनको पक्षमा

नांगिनुलाई तिमी अनैतिक नभन
बरु नांगिएरै नैतिक बनेका छन्
कैयौं अनैतिकहरु
हेर,
नांगाहरु कति नजिक छन् एकआपसमा,
कति आत्मीय छन्,
केही नभएरै पनि साथमा
बाँडिरहेका छन् निस्फिक्री प्रेमको माधुर्य   
सृष्टीको अमर, अमुल्य उपहार  
त्यसैले
मुटु चोपेर बनाउँछन् नांगा तस्वीर, कलाकारहरुले
आगो र नौनी एकैसाथ मुछ्न सक्छन तिनीहरु,  
कविहरु खाली छटपटाउंछन् मात्रै,
शब्दहरु खश्रिएर अड्किन्छन - तिनका घांटीमा !

हरे बेहोशी,  
जब प्वाँख लगाएर भुरुरु उड्छ नांगो पुतली  
जब घुम्टो फ्याँकेर फक्रिन्छ नांगो गुलाफ
जब डोल-परेली खुल्छन नायिकाका  
या नांगो ओंठ फुस्फुसाउंछ,      
हजार केसिकाहरु एकैसाथ खिचिंछन् -
दर्शक अन्तस्करणमा,
र कौतुहलका हजार घिर्निहरु एकैसाथ चल्छन - घुरुरुरु
समय सुक्ष्म निद्राको ओडार छिरी निस्कंदा      
देख्छ,
निमेष ननिभेका नयनभित्ते दियोहरु  
अविराम अनुभूत भैरहेको तिनको न्यानोपन     
पिंग-मन मच्चिएर उरालिइरहेको        
र बेजोड सिर्जनाहरु लहलहाइरहेका स्वप्न-बगानमा !
तिनलाई समेल्ने मोह-बाजीमा       
कोही मिहिन सर्का गाँसेर अमर बन्छन्
(कोही भद्दा धर्का टाँसेर हराउंछन् )
चोक चोकमा
थप नांगा आकृति उभिन्छन्
(भीड जम्छ संग्रहालयमा ! )
र युगले सभ्यताको अर्को पुंजी थप्छ
त्यसैले,
नांगिनुसंग नडराऊ
नांगिनेसंग नकराऊ  
ए नांगिनेहरु हो,
निस्फिक्री, आफुखुशी नांगिऊ
यसरी कि,   
संसार आनन्दित बनोस् ,
भुलोस् उसले आफ्ना निरस तानाबाना
र एकैछिन किन नहोस्
निसंकोच तारिफ गर्दै हेरिरहोस्
रातो फुललाई झैं !  

Tuesday, February 4, 2014

सगुनको बेला

एअरपोर्टको लोडरले भन्यो-
यो साल झन् धेरै भित्रिए,                                 
काठका बाकसहरु काठमाडौँमा |

फूल थाप्दै गरेका    
यस्तै बाकसहरु टुलुटुलु हेर्दै
हातैको पासपोर्ट अझ दह्रोसित थामेर   
ऊ विदेशिएको थियो -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

आफन्तहरु भन्दैथिए –
बाबु, उता नहेर,
यो सगुनको बेला हो |

--------------------------------

जहाज उडिरहेकै बेला
अनिद्रामै उसले देखेथ्यो     
कहालीलाग्दो
भीर-भीरै दौडिरहेको सपना !
अघि कहिल्यै नदेखेको
त्यो सपनालाई
उसले साँच्चिकै आफ्नो भन्ठानेन |

बिचबाटोमा संगीहरु झैं    
अनिच्छापूर्बक उसले पुछेथ्यो  
आफ्नो निधारको रातो अक्षता |

दिर्घायुको आशिर्बाद  
त्यहि चम्किलो अक्षता झैं
गाउँभरका सबैलाई थाहा थियो
उसको परदेश बसाइं-अबधि |

सगुनको बेला
लटरम्म सपनाहरु मात्रै आफ्ना थिए | 


javascript:void(0)