Tuesday, September 24, 2013

शहर / लहड


आज बेग्लै शहरको रहरमा
उड्दै छु म यो शहरमा
एक नयाँ लहड लहडमा
एक नयाँ चहक महकमा


यहाँ फूल फुलेका म देखुँ
यहाँ दिल मिलेका म देखुँ
सयौं स्वप्नका सितारा
झिलमिल बलेका म देखुँ


सारा शिर उठेका म पाउँ
कर्म-बीर जुटेका म पाउँ  
हर ओठ  रसिला, रबाफी
हर्ष-तीर छुटेका म पाउँ   


यो शहर छ दिब्य, मनोहर
यो बनोस् धराकै धरोहर
आज यस्कै नशालु झलकमा
बेखबर पथिक छ पलकमा !


आज एक नयाँ बचेरा
नाघेर बादल्- घेरा
उड्दै छ माथि सगरमा
भिन्दै शहरको रहरमा !

Thursday, September 5, 2013

पहाड-आग्रह


यो चौघेरा शहरमा
मन रुमल्याई राख्यो भने
बन्द कोठाभित्रको
चुरोटको धुवाँले जस्तै
जीवन विषाक्त हुन सक्छ
आऊ उक्लेर
अग्ला पहाडहरुबाट हेरौं


हामीसंग
यत्तिका अग्ला पहाडहरु छन्
आऊ, एकपल्ट उचाइबाट तल हेरौं
र बगिरहेको ताजा हावामा सास फेरौं
जीवनलाई खोल्सा/खाल्डाकै वरपर घुमिरहने
नियतिको दास नबनाऔं


हेर
पहाडहरुले पहाड ढोगेका
पहाडहरुले पहाड बोकेका
पहाडले  नै पहाडलाई ढेपेका
पहाडले  नै पहाडमाथि  टेकेका
पहाडका अनगिन्ति आकृति
पहाडका चालढाल र अन्तर्दृष्टि
पहाड रुंघ्ने पनि पहाडहरु
पहाड सुँघ्ने पनि पहाडहरु
पहाडलाई काट्ने / लछार्ने पनि पहाडहरु
पहाडलाई चाट्ने/ मुसार्ने पनि पहाडहरु
सेता काला बादलका पछौरीहरु
परस्पर साटासाट गरिरहेका

आफ-आफैं माथि चढ्ने,
अड्ने, लड्ने र घचेटने
यी पहाडहरुको पनि
तिम्रो मेरो जस्तै कुनै नाता त होला नि !

आऊ पहाडहरुलाई चिनौं,
हामीसंग यत्तिका धेरै पहाडहरु छन्
एकपल्ट पहाडहरुको बस्ती हेरौं
सोचका खोंचहरुबाट माथि उक्लेर
आफुलाई फेरौं !
मनोरम पहाडका ढाडमा पल्टिएर
सम्भावनाका बिशाल फाकटहरु कोरौं !  

Tuesday, July 2, 2013

दश थुँगा - ३


डोकोको पिंधमा

हर्हरी बसाइरहेको

रोपाईंको खाजा

----------------------

छतमा अटेश-मटेश


रोपाइँको बिउ

माइक्रोबसलाई हतार छ

  ---------------------

डोरी

धेरै अग्लो नखेल

चन्द्रमा हंसियाकार छ

-----------------------------

मोटी आमा

दुब्ली छोरीसंगै

मर्निंगवाकमा निस्किन्

-----------------------

शहर झरियो

बलियो मुदुसभित्र

गाउँ कोचेर

_____________

हावाले उचालेको हो कि

पानीले उतारेको

पहाडमाथिको रातो घाम

--------------------------

आफ्नै छातीमा

हिउँ जमाउँदा

पोखरी थिचिएन ?

-------------------------------

खाली बसस्टप

उभिईरहेको आफ्नै झल्को

स्कूलको एक दशक

-------------------------

गोलो रुख

फुलहरु पनि

गोलाकारै झरेका छन्

-----------------

आफ्नै जालोमै

महापरिनिर्वाण

धन्य, माकुरा !

----------------

Monday, July 1, 2013

पहलमान बिद्यार्थीहरुका बारेमा

हेर्नोस, ऊ आए

अर्का टोली चंदाबाज बिद्यार्थीहरु

जबर्दस्त भित्र छिरे तिनीहरु,

पोल्न राखेको मुर्दाले जस्तै

तनक्क जिउ तन्काउँदै

फुर्तिसाथ

तिनीहरु यहाँ आउनु भनेको

अचाक्ली नहुँदो

एउटा बहाना सुन्न पाउनु हो

तिनका पत्रु आदर्शमा उकेरा दिंदै

अनिच्छापुर्बक समय कटाउनु हो

तिनले मागेको नपुर्याए

आजसम्म तपाईं-हामीले नसुनेको / नपढेको

भाषाको निकृष्ट प्रयोग निम्त्याउनु हो

भो सुरुक्क पन्छाउनोस् आजलाई, सर !

यिनै त हुन् नयाँ नेपालका सपनाहरु !

भविष्यका मन्त्री र महामनाहरु !



आजै पनि

कम्ता रवाफ छैन यिनीहरुको !

भिसीसा’बको कोठामा

भित्र/बाहिर गरिरहने यिनै हुन्

रजिष्ट्रारसंग पिउने / पिलाउने र

ठेकेदारलाई काम दिलाउने पनि यिनै हुन्

परिक्षा रोक्ने / चलाउने यिनकै चुड्कीमा हुन्छ

धेरै अंक चाहिएको छ तपाईंलाई ?

कि नयाँ कलेज ?

भन्नोस्, कसलाई भेटाउनु पर्यो ?

कसैलाई जागिर खुवाउनु छ ?



तिनीहरुको खल्तीबाट भुक्क उठेको

एकजोर तालाचाबीको आकृति देख्नुभयो, सर ?

यो भागबन्डा बिश्वबिध्यालयको

अद्भुत चमत्कारी आविष्कार हो

जो हरेक नियमकारलाई लाचार पार्छ

तिनका मर्यादालाई स्वीटर झैं उधार्छ र

भुइंमा फ्यात्त फालेर भन्छ,

“ जो हामीलाई मिल्दैन, त्यो नियम हुँदैन !”

भो नजिस्काउनोस यिनीहरुलाई,

यिनै त हुन् नयाँ नेपालका सुत्रधारहरु !

समुन्नत राष्ट्रका योजनाकारहरु !



देख्नुभो, ऊ फेरि आए,

अघोरी, कल्मुखा, चंदाजीबी ऐजेरु

पत्थरपुरका पहलमान बिद्यार्थीहरु !

Sunday, June 16, 2013

बन्द ?



बन्द ?
आज फेरि बन्द  ?
तिम्रो बन्दले
हाम्रो  चेत खुलेको छ
एकछाक कमाइ खानेको
रोटी खोस्न उद्धत 
तिमीजस्ता  परपीडक, परजीबी  
रक्त पिपाशुहरुको डरले
आज सडक  थर्कमान भएपनि
कुनै दिन फलामे  बुट लगाएर
हिंड्न आतुर
हाम्रा उत्सुक पाइलाहरुमा
चाबी त ठोक्न नसकौला नि ?
त्यसबखत  
क्रान्तिका  गुड्डीलाई   
लुते कुकुरको पुच्छर झैं लुकाएर  
पछिल्तिरको दैलोबाट सुटुक्क
तिमी भागेको हेर्नलाई  
हामी कहीं जानुपर्ने छैन |

Thursday, June 13, 2013

हिंसा / मैत्री



बरु,
तिम्रो छोरीलाई नभन्नु यो कुरा,
छोरालाई नसिकाउनु !

एकचोटी जो हिंसा गर्यौ तिमीले
तिमी हिंस्रक मानिस हौ,
भोली जहाँकहीं
कुनै अनौठो कारण निकालेर
हिंसा बजार्न सक्छौ तिमी
मेरो टेबल, मेरो कुर्ची
मेरो घरका झ्यालका सीसा......
यी त तिम्रा
आफ्नै खेलौना भैगए,
तिम्रा तर्कमाथि फूलगुच्छा नबर्साए
मेरो ढाड तोड्न सक्छौ तिमी,
मेरो घाँटी निमोठ्न सक्छौ,
एकचोटी ट्रिगरमा बसिसकेको हात
एकदुई गोली
भ्याच्चै ठोक्न पनि सक्छौ,
आज “छैन, छोडें” भनौला, म पत्याउँला,
भोली सखारै
त्यही भिरेर फूर्तिसाथ
गौंडा छेक्न सक्छौ तिमी !

मन जो यत्ति हिंस्रक हुँदैनथ्यो,
दुर्भाग्यबश, 
त्यही तिम्रो मन भएको छ !

भैगो साथी,
आजलाई बिदा हौँ,
तिमी सद्दे र समझदार छँदै
तिमीसंगको मैत्रीबारे
हजार कुरा सोच्नु पर्छ मैले,
हजार चोटी !

Tuesday, June 4, 2013

सरकार हुनुको अर्थ

बिचरा !

सरकार हुनुको अर्थ

तिमीले के जानेका छौ ?

कहिल्यै हात राखेर

धर्तीको स्पन्दन छामेका छौ ?



सरकार भएको ठाउँमा

गहिरो खाडल देखिन हुन्न भन्छन

कालो बादल मडारिन हुन्न भन्छन

पहिरो जाँदैन सरकारको नजरमुनि,

बाँध भत्किंदैन,

आली खस्किंदैन भन्छन




जब एक एक टुक्रा उर्बर देश

सीमा काटेर

मरुभूमिको तातो बालुवामाथि पछारिंदै

उँटका पाइला गन्दैछ – एक, दुई, तीन

तिमी कस्को सरकार चलाईरहेछौ, महाशय !

कस्तो सरकार चलाईरहेछौ ?



सरकारको छाती ठूलो, हृदय चाक्लो हुन्छ, महोदय

धर्तीको नयनभित्र छिपेको

हराभरा स्वप्न अनुभूत गर्नसक्छ त्यसले !



तिमी भने,

ऐनका ठेलीले

आँकुरा भाँच्ने पाप रच्दै बसेका छौ

धर्तीको सारा ओस चुसेका छौ



के आश तिमीसंग ?

बिचरा !

जुका झैं कुर्चीमा टाँसिएर उँघेका छौ ,

सरकार हुनुको संवेग

तिमीले के बुझेका छौ ?

javascript:void(0)