Tuesday, October 26, 2010

शरद

तिमी अखबारमै घोत्लिइरहू गम्भीरमान
म त शरद पढ्न हिंडें












दिउँसोको न्यानो घाममा

मस्त पलेंटी कसेर बसेको शरद

मच्चिइ मच्चिइ

रुखका पात पातमा

पालिस लगाउंदै रहेछ

गृष्मको आरनमा रन्किएर

बर्षाले झ्वाइंयँ पारेका रुखहरु

सानी छोरीले

आमासंग कोरीबाटी मागें झैं

आनन्दले थापिइंदा रहेछन

शरदसंग



साँझ नपर्दै

फेरि शरद

कमिजका बाहुलाबाट सुस्तरी भित्र छिरेर

देहको न्यानोमा उँघिरहेका

रौँ रौंलाई उठाउंदै

मलाई बाहिर निस्कन अह्राउँछ

लौ

कानका डिल डिलै हुत्तिएर झरेको ऊ

सुनौला धानका बालाहरुमाथि

नौका शयर गरेको देख्छु म

नागबेली झैं रुखलाई बेर्दै

हर्लक्क बढेका झालपातहरुले

निहुरी निहुरी

तलाउमा ऐना हेर्दै गरेको बेला

नदेखे झैं गरी

त्यहींबाट सुटुक्क तैरिंदैजाने शरद

मक्ख हुँदै

जंगल पसेर रयाइं रयाइं गाएको सुन्छु म



बर्षको एकपल्ट

खरानीमा पकाएर धोएको तन्नाजस्तै

सुकिलो बादललाई

आकाशको एकछेउमा झुन्ड्याएर

जब शरद घुम्न निस्कन्थ्यो नि

घर पोत्न कमेरो र रातोमाटो खन्दै गरेकी

मेरी आमालाई देखेर

ऊ पनि

बुकीफूल र मखमलीलाई साउती मार्थ्यो
विस्मय भावले सयपत्रीलाई घुरेर हेर्थ्यो
हेर त,

यसपाली पनि शरदले

आँखाका भित्ताहरुमा अनगिन्ति रंग पोत्दै छ

नाकका भित्र भित्रसम्म सुबास जोत्दै छ



फेरि शरद

मलाई चंगा बनाएर उडाउँछ

पिङमा झुलाउंछ

हाट बजार डुलाउँछ

दशैं, तिहार, जमरा, भाइटीका....



असंख्य मिहिन, शीतल औंलाहरुले मुसारेर

सान्त्वनाले मलाई भुलाउन खोजेपनि

वर्षभरिका भन्दा धेरै सम्झना फुकाउँछ शरद

बर्षभरिको भन्दा धेरै प्रबास दुखाउँछ शरद



तिमी कोठा भित्रै गुम्सिइरहू गम्भीरमान 

म त शरद भर्न हिंडें

Sunday, September 26, 2010

लघुकथा (घाम/जुन र पहिलो भेट)

दिनभरी यतै थियो
उ त्यो डाँडामाथि पुगेपछि
उज्यालो समेत सोहोरेर
घाम सुटुक्क कता लाग्यो
'ओइ !' भन्दै थिएँ
साथीले बोलाएर भन्यो
'अब घर फर्कने बेला भो
उ , घाम डुब्यो '
मैले सोधें – ‘पानीमा ?’
साथी बोलेन
(उसको बानि नै हो -
पुरा जवाफ कहिल्यै फर्काउँदैन)
मनमनै सोचें -
निर्बस्त्र पौडिन लाज लागेर
अंध्यारो रोजेको होला !
साइकल ठेल्दै
उसको पछि लागें

एकछिनपछि
मलाई समेत कसैले पछ्याए झैं लाग्यो
हेर्छु त
अलि मलिन
तर घाम जस्तै
उस्तै, उत्रै
हिंडिरहेको छ आकाशमा
'रुक, एकछिन !'
साथीलाई भनें
र कम्पित हुँदै आकाशतिर देखाएँ
'कतिन्जेलदेखि यो हाम्रो पिछा गरिरहेछ'
उसले भन्यो – ‘त्यो जुन हो ‘
सोचें- 'हेर्दा घाम जस्तै छ
पानीमा डुबेपछि
घाम जुन बन्दो रहेछ कि !
घाम निसास्सिएर
भूत पो बन्यो कि शायद ? '
डरले नछोडेपनि
पर पुगिसकेको साथीलाई
फेरि रोकेर सोध्ने कुरा भएन


बाटोभरि जुन मैसँग हिंडिरह्यो
घरि घरि फर्की हेर्दा
मिचिक्क हाँसिरह्यो
हिंडे/गुडेजस्तो समेत देखिन्न
न खुट्टा छ, न पांग्रा
बाटुलो अनुहार मात्रै छ
फेरि
जति कुदेपनि भेटेकै छ
डाँडाको छेलमा पनि देखेकै छ
उछिनेर आफू अघि जाने पनि होइन
जहाँ पुग्यो उहीं टक्रेको छ
अति भो भन्ठानेर
म चिच्याएँ -
‘तिमी को हौ ?’
(अंग्रेजीमा समेत सोधें - हु आर यु ?)

उसले विनम्रतापुर्वक जबाफ दियो -
‘म जुन हुँ ’
नबुझेर मैले सोधें- ‘घाम हौ ?’
‘होइन,’ उसले भन्यो –‘घाम मैले देखेको छु’
(अग्लो ठाउँमा हुनाले देख्यो होला, शायद
घामको नालीबेली सोध्न मलाई मन लागेन )
त्यसपछि
उसले कवितामा झैं भट्यायो -
‘कहिले छरपष्ट घाम हुन्छ
कहिले अँध्यारो सुनसान हुन्छ
अरु दिन घामछायाँ दोसाँध भेट्छु
यो बाटो भने म नबिराई हिंड्छु ’
किन हिंड्ने हो
त्यो त थाहा भएन
तर उसको कुरा नजाती लागेन

यत्तिकैमा
पर पुगिसकेको साथीले
चर्को स्वरमा भन्यो -
‘छिटो आऊ !
यो चालले त घर पुग्दासम्म
घाम उदाउँछ’
कुरो नबुझेर मैले सोधें-
‘घामलाई डुबेर पुग्यो ?’
(पानी बढ्तै पो चिसो भयो कि !)

Wednesday, September 22, 2010

बर्षातको सङ्गीत

पर्ख, बादलको पर्दा सर्न देऊ
बर्षातको सङ्गीत झर्न बाँकी छ


















ढम्म ढोका थुनिएको
बिशाल रंगमंचका दर्शक झैं
हरियो चौरमा बसेर
ब्यग्रतापूर्वक माथि हेर्दै
हामी कुरिरहेका छौं
आज फेरि आकाशमा
बृहत संगीतसभा बसेको छ
असंख्य सुरहरुका सारंगी
अनगिन्ती धूनहरुका बाँसुरी
कुन छंद र द्वन्दले
छलांग मार्ने हो आज
ठूलो खलबल छ
ठूलो छलफल छ
त्योदेखि बिल्कुलै अन्जान हामी
बेखबर, बेठेगान छौं
अबोध नानीहरु जस्तै
हलचल नगरी बसेका छौं
एकतमास हेरी बसेका छौं

पर्ख, बतासलाई निम्तो पस्किन देऊ
फूलको कम्मर लच्किन बाँकि छ
 
एकै छिनमा
बेतको मसिनो छडी सर्काएर
सभा नाइकेले
झिलिक्क संकेत गर्नासाथ
ढर्र ढर्र ड्रमहरु बज्नेछन्
र झर्र झर्र, स्यार्र स्यार्र
सुरहरुको तानाबाना गुन्जिनेछ
सबथोक फेरिनेछ त्यसपछि
हामी आफैं सङ्गीत बन्नेछौं
हामी आफैं गीत रच्नेछौँ
श्रोता र संगीतकारमा
औंला र गितारमा
कुनै भेद रहने छैन त्यतिबेला
अहँ,
संगीतले नछोपेको
कुनै ठाउं रहनेछैन त्यसपछि
त्यतिन्जेलको हाम्रो बेचैनी
पाली पालीमा,
डाली डालीमा,
सलल सल्बलाउँदै बगिजानेछ

पर्ख, एक फुर्का समय हुत्तिन देऊ
भुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ

संगीतले टिलपिल यो घडीमा
रुझिने डरले
घर फर्किन हतारिने
ए मेरा शंकालु साथी,
पर्ख, झ्यालको पर्दा रहन देऊ
बुँद बुँदले सुर-ताल कहन बाँकी छ!
थोपा थोपामा झंकार बहन बाँकी छ!

Monday, August 30, 2010

राजनीति / बिनसित्ति

भो, अब बिनसित्तिका कुरा नगरौं
सबैले देखे जानेको
राजनीतिका कुरा नगरौं

भर्खरै
तिमीले मलाई 'चोर' भन्यौं
बदलामा मैले 'घूसखोर' भनें
तिमीले 'दलाल' र 'पुच्छर' भन्यौ
बदलामा मैले 'गुप्तचर' भनें
अब तिमीले
मलाई 'शत्रु' भन्यौ भने
तिमीलाई 'पत्रु' भन्ने छु
मलाई 'हरुवा' भन्यौ भने
तिमीलाई 'पानीमरुवा' भन्ने छु
शब्दको के नै कमि छ र?
हाम्रो राजनीति,कमसेकम
एउटा उर्बर शब्द भण्डार जो बनेको छ !
खूब कडकिंदै तिमीले
'शिशामहलबाट ढुंगा हान्ने' का कुरा गर्यौ भने
म पनि 'पहरामा टाउको ठोक्ने' का कुरा गर्नेछु
तिमीले 'बाह्र बर्षदेखिको ढुंग्रो'को कुरा गरे
म पनि 'आफ्नो आंगको जुम्रो'को कुरा गर्ने छु
र यसरी त्यो कण्ठस्थ शब्दकोशको
हामी भरपुर उपयोग गर्नेछौं

जति खोश्र्यो, उति रन्कने
कोइलाको आगो जस्तो
यो शब्दयुद्धमा
बाजी मारेरै देखाईछोडुंला भनेर
घरै नगई
तिमी र म यहिँ टुंडिखेलमा बाझ्दै बसेपनि
साँझ पर्ला,
रात समेत झर्ला,
अहँ,
हामी दुबैले जित्ने छैनौं
जित्ने जोशमा
जबर्दस्त तर्क कुतर्क पर्गेल्दै
कसौंडीमा बफाएका कर्कलाका पात झैं
हामी दुवै लखतरान पर्नेछौं र
अझै नछोड्ने बहाना गर्दै
पर पर सर्नेछौं
र जब
आक्कल झुक्कल आउने बिजुलीले
करेन्ट लागेर छुटेको झैं
भारी टाउको लिएर
गृहप्रबेश गर्नेछौं
घरमा चुलो कुरेर बस्नेको
हैरानीको फेला पर्नेछौं

त्यसैले
भो अब चल्तीका कुरा छोडौं
मिल्तीका कुरा गरौं

एकैपल्ट,
तिमीले मलाई
'साथी' भनेर हेर त
म पनि तिमीलाई 'नजाती' भन्न कहाँ सकुँला ?

भो, अब बिनसित्तिका कुरा नगरौं
घांटीसम्मै भरिंदै आएको
राजनीतिका कुरा नगरौं

Tuesday, July 6, 2010

छोरो घर आउँदा















छोरो आयो
र ऊ जताततै छायो
आँगन, पिंढी
छत, बार्दली
कोठा कोठामा
चोटा चोटामा
उही छायो
दौंतरीहरुले भने
छोरो आयो-लौ जाती भयो
अब तिम्रो एकलासको साथी भयो
हामी त मेसो मिले आउने न हौँ
तिम्रा कुरा सुन्ने भन्दा बढ्ता
आफ्नै गन्थन सुनाउने न हौँ
ऊ छोरो आयो
अब तिम्रो पीर हरायो
तिमी आफैंले जन्माएको,हुर्काएको
साथी हुनाले
उसले
तिम्रो कुरा पहिले सुन्ने छ
र यसो पो हो कि भन्ने छ
उसलाई बच्चा ठान्नुहुँदैन तिमीले
मुखले नभनेपनि
तिम्रा शब्द शब्द गुन्नेछ उसले
तिम्रो आकांक्षालाई अन्तर्मनमा उनेर
आफ्नो बाटो चुन्नेछ उसले
हेर आज यो घर
निकै उज्यालो देख्छु म |

हो त, साँच्चिकै
ऊ यहीं छ भन्ने हुँदा
फूलका रंग अझ गाढा लाग्दा रहेछन
झार-काँडाले पनि हेप्न छाड्दा रहेछन
बाटो हिंड्दा ठेस लागेपनि
मनमा उस्तो बिझ्दो रहेनछ
चर्को झरीमा एक्लै रुझेपनि
अत्यासले आँखा भिज्दो रहेनछ
सम्झी सम्झी हरेक कुरा
भरे छोरोलाई भनुँला भनेर
एउटा भरोसाको डोरो बन्दोरहेछ र
त्यसैले आफूलाई तान्दोरहेछ
आज ढुक्कै छु म
छोरो आएको खुशीले
सधैं हिंड्ने गरेको
यो अंधेरीखोला र एक्लेभीरको बाटो पनि
नौलो-पौलो लाग्दैछ मलाई |

धेरै समय बिराएर
घर आएको छोरो
झालमा फलेका लौका,करेला हेरेर खूब रमायो
कलिलो काँक्रोमा पिरो दलेर खूब खायो
हरिया मकै भाँच्न बारीमा पनि गयो
धान रोपेको हेर्न टारीमा पनि गयो
परदेश बसे पनि
छोरो परदेशी हुँदो रहेनछ
पराई झैं गजक्क फुलेर बस्तो रहेनछ
बिरलै बज्ने यो घरको फोन
आज तारन्तार बजिरहेछ
मतिर नहेरी हिंड्ने मान्छे समेत
उसलाई खोजिरहेछ
उफ!बार्दलीबाट चियाउने र बाटोमै घेर्नेहरु !
गौंडा उक्लेर / ओर्लेर उसलाई हेर्नेहरु ! 
आफूलाई त छोरो सानो लाग्छ अझै
छोरो त धेरैको छानो भैसकेको रहेछ
आफ्नो सोच पुरानो भैसकेको रहेछ
आफ्नो स्मृतिमा खेल्ने/ कुद्ने सन्तति
साँच्चिकै सबैको सम्पति भैसकेको रहेछ











अब फेरि छोरो
परदेश जान नपरे हुन्थ्यो नि है !

(साथी बसन्त गौतमजीको स्वदेश फर्कने खबरले उब्जाएका बिबिध तरंगहरुको ज्वार|उहाँलाई हार्दिक शुभकामना र धन्यबाद ! कविताका पात्र र परिदृश्य भने काल्पनिक हुन्|)

Wednesday, June 30, 2010

जीत-हारको सवाल र सहानुभूति

फेरि पनि तिमीलाई जित्नै पर्ने होला
यहाँ तिम्रो जीतमा भयभीत हुने धेरै छन्
तिम्रो जीतलाई पनि हार देख्नेहरु छन्
तिमीले हार्यौ भने त किताबै लेख्नेहरु छन्

हुन त,
जित्नलाई
गर्नुसम्म गर्यौ होला नै तिमीले
तन मन लगाएरै गर्यौ होला
वाचा-प्रतिज्ञा पनि, मिहिनेत पनि,...सबकुरा
त्यो त झल्झली तिम्रो सम्झनामा होला
सोचे भन्दा बढ्तै जित्यौ तिमीले
तर त्यसलाई अहिले रौँ नगन्नेहरु छन्
हामी पनि कम थिएनौं भन्नेहरु छन्
तिनलाई शंका गरिहाल्न नपरेपनि
अचेल यस्तो भएको छ
तिनको बाँकी केहि नरहेपनि
तिम्रो बाँकी दिनानुदिन झरेको छ
तिनको शिर माथि नगए पनि
तिम्रो शिर तल तल सरेको छ
धरोधर्म,
हामीलाई त पर्नु पीर परेको छ
टेक्ने धरातलै गढेको छ
हार्नेले शिंहासन चढेको छ
जित्ने भुइंमा लडेको छ
लौ न, समातेर उठाईदेउ न भन्दै
उनैसँग अनुनय गरेको छ
यो कस्तो कली छाएको हो कुन्नि,
जता हेर्यो खडेरी परेको छ

जसले जे भनेपनि
तिमीले जितेकै हौ
एकचोटी लगाम खिचेकै हौ
जित्नेले धेरै होशियार हुनुपर्थ्यो
जित्नेले जिताउनेको मन छुनुपर्थ्यो
एकपल्ट जितेर
पछि फर्कि हेर्नैनपर्ने
पेशा भए पो त यो !
हार्नेलाई त के छ र,
नहारेको बहानामा तर्किबस्नु
यसो उठ्ने मौका पर्खिबस्नु
तिनको धर्मै हो त्यो,
जित्नेले अझ जित्दै गए
लगाम राम्ररी खिच्दै गए
हार्नेलाई पनि पाठ हुँदो हो
उल्टो हिंड़ेकोमा लाज हुँदो हो
हेर त अहिले,
तिमीलाई जिताएर पनि
हामीलाई लाजै भएको छ
उनलाई हराएर पनि तिमीलाई
लाजै भएको छ !
साँच्चिकै यो कुरा
कसैलाई राम्रो लागेको छैन
जीतहारको बेतुक रस्साकसी
जिताउनेलाई कहिल्यै फापेको छैन

अब तिम्रो जीत स्थापित गर्नलाई
तिमीले जितेको दम्भ फाल्नुपर्छ
अरुलाई 'हरुवा' भन्न छाडेर
जिताउनेका आकांक्षा गन्न थाल्नुपर्छ
फेरि फेरि पनि जित्ने मन छ भने
जित्नेको जिम्मेवारी सम्हाल्नुपर्छ

दुर्भाग्यबश, फेरि
जित्दा जित्दै पनि तिमीलाई
जितेरै देखाउन मन होला
यहाँ तिमीले जितेको मन नपर्नेहरू धेरै छन्
तिम्रो जीतमा पनि हार देख्नेहरु छन्
तिमीले हारेपछि त झन् किताबै लेख्नेहरु छन् |

Tuesday, June 8, 2010

बसन्त-गान




















यी बोटहरुको जुर्मुराहट हेर
सुक्ष्म ओठहरुको चुलबुलाहट हेर
मग्न माधुर्य, मन्द मुस्कुराहट हेर
नौलो संसार नियाल्ने कुत्कुत्याहट हेर

यी पातहरुको सर्सराहट हेर
सुक्ष्म हातहरुको चल्मलाहट हेर
रंग, लालित्य, रौनक, रुन्झुनाहट हेर
एक बहार बसंत बाँच्ने चाहट हेर

यी खोली, तरेली कल्कलाहट हेर
यी निश्चल परेली सल्बलाहट हेर
सुर, सौन्दर्य, स्वप्न, सुस्त-आहट हेर
यो मायाँ यो छायाँ भुल्भुलाहट हेर

यी पक्षीहरुको चिर्बिराहट हेर
प्यारो गुंड, प्रभाती तिल्मिलाहट हेर
ठण्डी रात र बर्षात, जूनको राहत हेर 
चर्को घाम र तूफान झेल्ने साहस हेर





















यो मौसम र मेरो तुल्बुलाहट हेर!
यी शब्दैपिच्छेका घबराहट हेर!
यो शान्त कलमको लड़खडाहट हेर!
javascript:void(0)