Sunday, March 4, 2012

राजु भाई र होचा मान्छेहरु

"आज फेरि अर्को होचो मानिस फेला पर्यो"

राजु भाई करायो-

"होइन, कति होचाहरु छन् हौ यो देशमा ?

गिनेश बुकले खोज्नै नपर्ने, अन्त/बिदेशमा "

"चुप लाग" - मैले हपारें-

"कति नै अग्लो पो छौ र हौ तिमी पनि ?

सगरमाथाको फेदीमा जन्मंदैमा

अग्लै हुनुपर्ने त्यस्तो केहि छ ? "


जनस्वास्थ्यको जागिर

हुम्लाको दरबन्दी

बाह्रै मैना देख्छु काठमान्डूमै घरबंदी

काम/कर्तब्य उतै दराजभित्रै होलान

अधिकार भने सुरक्षित,

आफूसंगै बोकेर

संघ र संगठनका बैठक तोकेर

घर/जग्गाको कारोबार समेत धानेर

यहाँ घाममा पलेंटी कस्दै

'कान्तिपुर' र 'नागरिक' पल्टाएर बस्दै

चढाएकै छौ नि हौ बर्षभरिको हांजिरी ?

कसले पो नाप्ने हौ तिम्रो दादागिरी !


अक्षर त चिनेकै छौ, भाईसाहब

“अन्याय पर्यो” भन्दै असुलेको

दुर्गम जिल्लाको गह्रुङ्गो भत्ताले

बिदेशी अखबार पनि किन्न मिल्ला, कहिलेकाहीं

एक प्रति पढेर हेर,

चन्द्रबहादुरको देशको चिनारीमा लेखिएका

शब्द शब्दमा गढेर हेर

सम्झी ल्याउँदा,

तिमीजस्तैले हो देश बिगारेको

कुपोषण र गरिबीले ग्रस्त पारेको

धन्न हैजाले भेटेनछ रिम्खोली

सिमिकोटमा के कसो हुँदैछ हौ, आजभोली ?


यस्तैखाले अनेक ख्यालपातिले गर्दा

चन्द्रबहादुर र खगेन्द्र मात्रै होइनन्

तिमी स्वयम् र म पनि

(यथार्थमा, हामी सबै)

भीमकाय अग्ला शिखरहरुमुनि बस्ने

संसारकै सबैभन्दा होचा भएका छौं

न अरु गढ्न सक्ने, न हर्लक्क बढ्न सक्ने

बेकामका मक्किंदा घोचा भएका छौं

होचिएर पनि हुन्छ र हौ, पर्यटनको प्रबर्द्धन ?

कहिँ नभएको पछौटेपन नै यो देशको बिज्ञापन !


Saturday, February 18, 2012

बन्दुक र बिवेक

किसुनजी भन्नुहुन्थ्यो -

अत्याचारीको

भ्रष्टाचारीको

र बन्दुकधारीको संगत नगर्नु !

म सोध्थें -

अत्याचार र भ्रष्टाचारको त निकै चर्चा हुन्छ

खबर पढिन्छ,

गोष्टि सम्मेलन चल्छन तिनका बिरुद्धमा

तर बन्दुकको उस्तो बिरोध सुनिदैन

बन्दुक बोकेपनि

बन्दुकधारी हामी जस्तै होइन र ?


उहाँ भन्नुहुन्थ्यो- होइन,

बन्दुक बोकेपछि ऊ बेग्लै हुन्छ,

आज्ञाकारी भएपनि

बन्दुकधारी सधैं अहंकारी हुन्छ,

जिम्मेवारी बढ्लान शायद उसका

बन्दुक सम्हालेपछि,

समझदारी भने

स्वात्तै घट्छ उसको माथाबाट

त्यसैले, धेरैजसो

ऊ आफ्नो भाषा बोल्दैन

बन्दुकको भाषा बोल्छ,

आफ्नो हाउभाउ गर्दैन

बन्दुककै हाउभाउ गर्छ,

बन्दुकले जे पनि गर्नसक्छ भन्ठान्छ ऊ

इतिहास बन्दुकले नै रचेको बिश्वास गर्छ

जितेको एउटा बन्दुक मात्रै देखेको छ उसले

हारेर ढलेका,

रक्त आहालमा गढ़ेका,

कुच्चिएका,

खिया परेका बन्दुक देखेको छैन उसले


हुन त,

बन्दुकले दागेका मानवता,

यसले लल्कारेका बन्धु-बात्सल्यता,

र यसले निलेका सुन्दर सम्भावनाहरु पनि

कस्ले पो गनी बसेको छ र ?


तैपनि

अक्सर बन्दुक बोक्ने मानिस

कस्को बन्दुक हो, त्यो भुल्छ,

किन बोकेको हो, त्यो भुल्छ,

सबैले आफ्नो चरण ढोगुन भन्छ,

सबै आफ्नो शरण परुन भन्छ,

बन्दुक छुटेपछि मात्रै

आफ्नो ठम्याईको दम भेट्छ उसले

बन्दुकप्रतिको खपिनसक्नु आस्थाले

आफु आफु नरहेको चाल पाउँछ


हेर न, जहाँ पनि

आफ्नो चलुन्जेल बन्दुक संरक्षक/अंगरक्षक भएको छ

थोरै नचल्नासाथ त्यही राक्षस/भक्षक भएको छ

निहत्थालाई त सधैं तर्साउँछ यसले ,

बन्दुककै घेराभित्र पनि बन्दुक मात्छ

बन्दुककै पर्खालमा पनि निशाना साध्छ

कोतपर्वदेखि दर्बारकाण्डसम्म हेर

पाकिस्तान, तालेबान र अफगानिस्तान हेर

न्यायका निरिह आवाजलाई कुल्चनखोज्ने बन्दुक

सधैं आफ्नो हुन्छ भनेर भर नपर्नु

अक्सर बन्दुकले बिबेक हराउँछ

त्यसैले

बन्दुकधारीको संगत नगर्नु !

Friday, February 17, 2012

माकुराको अठोट

पुछ्दै थिएँ है घरका कुनामा

देख्छु म क्वै अड्किय झैं थुनामा

दायाँ र बायाँ मसिना रसी छन्

माथि र मुनी पनि झन् कति छन्


सोधें यहाँ लौ थुनियौ कसोरी

साह्रै ठुलो कर्तुत पो थियो कि ?

कस्को शिफारिस् कति हो सजायं ?

बेला छँदै, धन्न ! म हेर्न आएँ


बोल्यो उ-मेरो घर हो, मनुवा

को हुन्छ आफ्नै घरमा थुनुवा ?

घुरेर हेर्दै किन हो पिरेको ?

आफ्नो छ के काम, त्यतै गए भो


मैलें भनें-धत् ! घर यो त मेरो

जीवन् भरीको धनले बुनेको

कब्जा गरौंला भनि यो नठान

छोडेर जाऊ, कि त फाल्छु, जान


निस्की रुँदै ऊ पर गै करायो

भैगो, ल मेरो सबथोक् हरायो

आफ्नो भएमा घर बुन्ने शिल्प

जस्तो पनि घर् सहजै ठडिन्छ


तिम्रो सिमादेखि परै बसौंला

छिट्टै म अर्को घर जो रचौंला

सारा कलाले सिपले सजौंला

देखेर तिमी ईषले जलौला


यति भनेर माकुरा आफ्नो बाटो लाग्यो | एकदिन अफिसबाट फर्कंदा बाटैमा एउटा रुखबाट तुन्ग्रुंग झुन्डिएर उसले मलाई आफ्नो घर हेर्ने निम्ता दियो | त्यसको बयान मैले यसभन्दा अघि नै (September,2011 मा) गरिसकेको छु|

Monday, January 30, 2012

शहिदहरुप्रति

प्रिय शहिदहरु !
तिम्रा सपनामा मैले आफूलाई समाहित गरेको छु
तिम्रा बलिदानमा मैले आफूलाई प्रवाहित गरेको छु
म आँसु चुहाउन्न, मानिसका आँसु कृतिम भैसके
म श्रद्दान्जली छपाउन्न, खोक्रा औपचारिकता भर्दिन
न जुलुस धाउँछु, न शालिक सजाउँछु
आस्थाविहिन विवेकहीन भीडमा किन सल्बलाउँछु?
कुनै कृतज्ञता होइन त्यो, प्रिय सपुतहरु
तिमीले आफूलाई बलिबेदीमा चढाएर देशको माया गर्यौ
हामीले बाँचेरै पनि देशको माया गर्न सक्नुपर्छ
तिमीले सहादत भएर देशलाई स्वतन्त्रता दियौ
हामीले बाँचेरै त्यसको रक्षा गर्नुपर्छ
र औजारहरु बोकेर देश निर्माणमा जुट्नुपर्छ
खोइ, यहाँ त सधैंभरि युद्द र कटाक्षका कुरा चलेका छन्
आफ्ना कृत्य कुकृत्यमा जोसुकैले 'शहिद' बोलेका छन्
प्रिय शहिदहरु
इमान्दारीपूर्वक
मैले आफ्नो बारीमा सुंदर सब्जीहरु उब्जाउँछु
मैले आफ्नो खेतमा सुनौला अन्नहरू लहलहाउँछु
मैले जागिरमा आफ्नो उत्तरदायित्व निभाउँछु
मैले ब्यापारमा आफ्नो धर्म राख्छु
म पढाउँछु र देशका नागरिक बनाउँछु
यसरी प्रत्येक पेशामा आफ्नो पौरख अर्पनु
यो पनि तिम्रै सपना होइन र शहिदहरु
नारा र भाषण भन्दा बेग्लै
छुट्टी र सडक नामाकरण भन्दा बेग्लै
एउटा कलाकारको सुंदर कलाकृति पनि तिम्रै सपना होइन र ?
एउटा कविको सुंदर कविता पनि तिम्रै सम्झना होइन र ?
माटोका प्रत्येक कण कण सजाउने तिम्रो सपना
बगैंचाका प्रत्येक छेउ कुना रंगाउने तिम्रो संकल्प
सबैले आफ्ना आफ्ना काँधहरु थापेर देशलाई बोकिदिए....
सबैले आफ्ना आफ्ना औंलाहरु चलाएर माटोलाई गोडीदिए.....
कुर्चीहरुले कर्तब्य नलत्याईदिए....
झन्डाहरुले गन्तब्य नबिर्सिदिए.....
हामीले आफ्नो शिर उठाउन केही गर्यौं भने
देश आफैं माथि उठ्ने छ
हामीले आफ्नै पैतालामा उभिन केही गर्यौ भने
देश दह्रोसंग उभिने छ
प्रिय शहिदहरु
मैले त शहादतलाई धड्कनमा सजाएको छु - जीवन वहार मानेर
मैले त बलिदानलाई स्पन्दनमा अटाएको छु - जीवन उपहार भनेर
तिम्रो उपकारको ऋणी छु म,
त्यसैले
एकमिनेट मौनधारण नगरेरै पनि तिम्रो आवाज सुनेको छु
प्रभातफेरीमा नझुल्केरै पनि तिमीले हिंडाएको बाटो चिनेको छु !

Saturday, January 21, 2012

असन्तुष्टिका दुई स्वर


बिडम्बना

घाम देख्न खोजिरहेछ

बादल छेक्न खोजिरहेछ

घाम टेक्न खोजिरहेछ

बादल अँचेट्न खोजिरहेछ

घाम लेख्न खोजिरहेछ

बादल मेट्न खोजिरहेछ

हरे, यो घम्साघम्सीले

जुग रेट्न खोजिरहेछ

-------------------


कटाक्ष

धरोधर्म,

कसैले बुझेको भए

मरिजानु , तिम्रो कविता !

यो के भनेको हो,

"विसंगत जिजीबिषा"?


शब्दका ठेलीमा बल्छी खेलेर

दुरुह अभिव्यक्तिको झ्यांग जेलेर   

विद्वताको नाममा बिचित्रै रमिता !

यो के भनेको हो,

“निर्बासित अस्मिता”?


जब मैले लेख्छु सीधा सीधा कुरा

तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!’

फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?

तर भावले टिलपिल ! देख्यौ नि पुरा ?


Friday, January 13, 2012

कसम

तिलोत्तमाले भनी-

गौतम !

तिम्रा कवितामा निकै उपदेश छन्

प्रशस्तै संदेश छन्

देश त झन् हरफैपिच्छे छन्

बिदेश भोगेका अवशेष पनि छन्

तर तिनमा

म प्रतिको अनुराग कहीं भेट्दिन म,

आशक्तिको थोपो देख्तिन म !

हेर न,

कविहरु कस्ता मीठा मीठा गीत-गजल लेख्छन

प्रियतमको साथमा मोहनी भेट्छन्

तिमी खाली हावामा तैरिरहेका छौ

निर्जन मरुभूमिमा फैलिरहेका छौ


मैले भनें -

तिलोत्तमा !

देश जल्दा मन पनि जल्दोरहेछ

देश बल्दा मन पनि बल्दोरहेछ

समस्याले पो खोप्दो रहेछ मेरा कविता

सन्तुष्टिले छोप्दो रहेछ मेरा कविता

कहिलेकाहीं झसंग हुन्छु -

म त कलम मात्रै न रहेछु !


पर्ख प्रिय,

यो कसम भो ,

तिम्रो लागि पनि लेखुँला

बिहानको घाममा डुबेको

यौटा उज्यालो कविता !

पूर्ण चन्द्रले भिजेको

यौटा मोहक कविता !

javascript:void(0)