Friday, September 2, 2011

माकुराको घर

जत्ति हेर्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !


यस्तरी तन्कने

यस्तरी जेलिने

जे छोयो तेसैमा बेरिने

यो माकुराको घर

छिन छिनमा हुत-हुत कुदिरहने यो हावामा

(एकै डल्लो परेर फुत्त नझरिकन)

कसरि झुन्डिरहने होला

यति सुन्दर भएर !









यत्तिका झ्यालै झ्याल भएको

यत्तिका प्वालै प्वाल भएको

जताबाट पसे पनि हुने

जताबाट निस्के पनि हुने

यो अनौठो घर

के अन्दाजले ठड्याएको हो !

कति झिना रेशाले अड्याएको हो !

तैपनि

बिल्कुल निडर र निसंकोच   

यो घरको थानेदारलाई हेर

बसेरै ढुक्कैले आहारा जुटाउँछ

घरैले अरुलाई निशाना लगाउँछ


यार, छानो कता छाउने हो !

यार, चुलो कहाँ लाउने हो !

भुइँ र सिलिंग

भित्ता र दलिन

माथि-तल, सुल्टो-उल्टो

सब एकसमान छन् यसका लागि

कहीं छेकबार छैन, टाँगीदिए पुग्ने

जालमा पर्नेलाई तानिदिए पुग्ने

न घंडेरी किन्नुपर्ने ,

न जग खन्नुपर्ने ,

ढुंगा या इंट्टा नगांसेरै पनि

हेर यसका फुल बुट्टा!


देख्न मिलेपनि प्राय नदेखिने

एकातिर तोडे, अर्कोतिर जोडिने

जो घेरियो फन्दामा

उसैले मात्र बुझ्ने, 

कसैगरी नचुँडिनलाई

अजस्र रेशाहरुको मुहानसंग सम्पर्क भएको…..


जत्ति सोच्यो

उत्ति रहस्यमयी

यो माकुराको घर !

Saturday, August 20, 2011

बादल र बतास

पुरै आकाशलाई राजमार्ग ठानेर

बादललाई बाहन मानेर

बतासहरु यात्रा हाँकिरहन्छन

कहाँ पुगेर फर्किने हो

या बेसुरमै कतै अड्किने हो

केहि थाहा छैन

कुनै गन्तब्य पनि छैन

तिमी भन्छौ-

बादल कहाँ पो जान्छ र ?

बगर महेन्द्रपूल चल्ने ट्याक्सी झैं

यहीं वरपर घुमिरहन्छ

हिउँद वर्षा रुंगिरहन्छ

मैले त कहिलेकाहीं आकाश शुन्यै पाएको छु

चारैतिर आँखा बिछ्याउँदा

एक टुक्रा बादल नभेटेको छु

माछापुछ्रेको आँखामा सजाउन

एक ठुन्को गाजल नभेटेको छु

फेरि सुटुक्क के लिन आउँछ कुन्नि

खोंचमा बिसाएको देख्छु एकाबिहानै

झोंकमा पुत्ताएको, फन्फनाएको देख्छु

जथाभावी तेर्सिएर

घामलाई छेल पार्छ यो

पहाड पर्बत छेकिदिएर

मनमै ओझेल पार्छ यो

बतास यसलाई ट्यांकर बनाउँछ र

एक मैदान पानी खन्याउँछ

बतास यसलाई लरी बनाउँछ र

एक पहाड हिउँ खन्याउँछ

कहिले खाली खाली यसै पनि कुदाउँछ

कहिले मध्य आकासमै भाइ-भाइ जुधाउँछ

बतास जस्तो अल्लारेको इच्छामा बहकिएर

बादलहरु आकाशमा नाचिरहन्छन

बतासहरु यात्रा हाँकिरहन्छन

Friday, August 5, 2011

फेरि केहि थुंगाहरु

लामो साधनापछि

बल्ल तयार भयो

छोटो कविता

------------

गाऊंभरी बग्रेल्ती

निभेका अगुल्टा

साउन लागेछ

--------------

हरेकसाल दैलोमाथि

पूजा-स्मृति ताजा

नागराजा

--------------

फुल्न थालेदेखि नै

केटाकेटीको सपनामा

सुन्तलाको बुढो रुख

---------------

तीजको मेला

कहाँबाट सम्झिन्छु

गुराँसे पाखा ?

---------------------

पिंढीको कुनाबाट

मुण्टो निकाल्छ

बिउको आलु

----------------

मालती फूल

कसैले लेख्यो र

तिम्रो कबिता ?

--------------

खेतको घर

टम्मै भरिएको

धानको हस्कोले

----------------

अनपढ आमा

अक्षतामै भर्नुहुन्छ

अट्नेजति आशिष

----------------

भैलिनी गाना

पैसामै बिक्री हुन्छ

सुनको छाना

------------------

झिंगाको भुँ भुँ

सुतेको कुकुर

उठेर अन्तै लाग्छ

----------------

फुक्लेको दांत

कसले फालिदेला

घरै कटाएर ?

---------------

हतार हतारमा

छिमेकीको खबर-

केरा रुखमै पाके!

-------------------

लामो बाटो

खच्चड र मान्छे

अनन्य मित्रता

-------------------

लेखिदिएछ निधारमा

कलिलै उमेरमा

नाम्लोले भाग्यरेखा

-------------------------

सुत्नुअघि

सिरक फट्कार्छु

जाडो अझै बाँकी छ

------------------------------

हिउँले गायो

घामको गीत

आफैं पग्ली जानलाई

--------------------

Sunday, July 24, 2011

धूप-ज्ञान










तिमीले धूपको रंग हुँदैन भन्थ्यौ

हेर,

धूप टल्केको

रुखका पात पातमा

घरका छत छतमा

(

घामको ज्योति चोरेर

आफैं घाम बनेजस्ता जस्ताका छाना

!)

हेर,

रापमा बलेका सडकहरु

हेर,

तापले गलेका फूलका अधरहरु

युद्धविरामको बस्तीमा झैं

धूपको चकमन्न आवाज सुनेनौ तिमीले

?

बच्चाहरु चौरमा

खेलेको भेटिन्न

बृद्धहरु पार्कमा टहलि

एको देखिन्न

सबैलाई

नजरबन्दमा थुनेर

एकछत्र भुन्ग्रोको डोज़र

लगाउंदै

हिंडेको

धूपको पदचाप देखेनौ तिमीले

?

हेर, मान्छेका आँखा

आँखामा धूप छल्केको

हेर, मान्छेका नशा नशामा धूप बल्केको

बाहिर निस्केर हेर

,

तिम्रो छायाँ पनि डढेको छ आज

यी खेत,

बगरको के कुरा

खोलैमा आसन गाढेर बसेका

यी भीमकाय

ढुंगासमेत

पकाउंदैको

चुलोबाट झिकेजस्तै न्याना छन्

बोझ खेप्न नसकेर
मृतकझैं लत्रक्कै पल्टेको बतास र
त्यसमाथि सबार धूपलाई चिनेनौ तिमीले ?

-------------------------------

यो मैले ठीक गरें कि गरिन

,

कहाँकहाँदेखि

उसले ल्याईदिएका

सबै राम्रा उपहारहरु भुलेर

पोहोर झैं

,

यो साल पनि

उसको बसाइलाई छोट्याएर

'बिदाइ.......!'

भन्न आतुर छु म,

हुन त, त्यति

नभन्दैमा

उसैले भनिहाल्नेछ

-

'फेरि भेटौंला'

Wednesday, July 6, 2011

फोहर शहरको कुरा








धेरै पल्ट सुकिला मुकिलाको कुरा चल्यो

साँच्चै यो के भएको यार

मानिस सफा छन्,

शहर फोहर छ

(प्रश्न गर्नेलाई प्रतिप्रश्न हाजिर छ -

फोहोरी भई बस्न कसलाई रहर छ ?”)


बाटा त साँगुरा थिए नै

तीन चौथाइं ढाकेर बसेको

यो दुर्गन्धको पहाड

टाढा टाढासम्म गन्हाएर

धर्तीमै नर्क भेटाउँछ

अत्तालिंदै वल्तिर पल्तिर हिंडेपनि

एकपल्ट त अबश्य टेकाउँछ,

तैपनि जोसुकैलाई सोध्नोस् -

किन यस्तो भयो ?

निस्सन्देह, सिंहदरबारतिर देखाउंछ


यो शहरमा

घरघरै विदुषी र विचारकहरु छन्

टोलटोलै समाजसेवी र सुधारकहरु छन्

ठुल्ठुला सभा, गोष्ठी संचालकहरु छन्

प्राज्ञ, पठित, पत्रकार, प्रचारकहरु छन्

ओठ चल्छ सबैको, आँट चल्दैन

सरकार निकम्मा छ, कसलाई थाहा छैन ?

उसैको उछितो नगरी दिन ढल्दैन


यार यो के भएको

मानिस सफा छन्

फोहर छ नदी

समाधिमा ढल्ने, जल्ने ठाउँ बाग्मती

पबित्र तीर्थस्थलको हरे यो दुर्गति !

javascript:void(0)