Tuesday, March 1, 2011

कविताको हैरानी

तिमी भन्दा हौ,

यो कवि हो

खुब कविता लेख्छ,

खासमा यसले लेखिदिए मात्रै पनि

कविता बन्छ,

त्यस्तो होइन यार,

कविता मेरो पेशा होइन

मेरो नशा पनि होइन कविता

यो दशा हो मेरो हर हमेशाको

बरु कविताले नै मलाई

नशा बनाएर पिउँछ कहिलेकाहीं

पेशा बनाएर जिउँछ कहिलेकाहीं

चाहेर पनि म उकहाँ

जान सक्तिन

नै मकहाँ आउँछ

खोज्दा कहिल्यै नभेटिएको ऊ

बेला कुबेला ढोका ढकढकाउंछ


धेरैजसो यस्तो हुन्छ

म भोकले रन्थनिएर

केहि खाने हतारमा हुँदा

ऊ मस्त गफ मार्ने सुरसारमा हुन्छ

बाहिर निस्कन भनेर

जुत्ताको तुना कस्दै गर्दा

ऊ भित्र पस्दै हुन्छ

र जब म

बस छुट्ने पीरले दौडिरहेको हुन्छु

पछाडिबाट उसैको आवाज सुन्छु

अक्सर ऊ यस्तै, व्यस्तै बेलामा आउँछ

कहिले जरुरी खबर पढिरहेको बेला

कहिले ज्यानमारा खोला तरिरहेको बेला

कहिले भीरमा, कहिले तीरमा

मलाई खोज्दै आइरहन्छ

धाई रहन्छ


जब छेवैमा आइपुगेर

चुपचाप उभिन्छ नि कविता,

अलिकति भाउ दिनुपर्छ उसलाई

अलिकति ठाउँ दिनुपर्छ उसलाई

'बस' मात्रै भनिदिनुपर्छ

धन्यबाद पनि नभनी

थचक्क बस्छ ऊ,

नत्र गएँ पनि नभनी

सरक्क जान्छ,

कता कता, क-कसकहाँ जान्छ कुन्नि

फेरी उही रुपमा

कहिल्यै फर्की आएको याद छैन मलाई,

नितान्त बेग्लै भएर आउँछ

पुरानो रिस त रत्तिभर देखाउँदैन

तैपनि कहिलेकाहीं गुनासो पोख्छ -

'तिम्रो बालसखा हुँ म

एकछिन बसेर भलाकुसारीका बात गर्न पनि

समय छैन तिमीलाई?'

ख्वै, होला पनि,

(म सुन्छु मात्रै

मनमनै गुन्छु मात्रै |)


खास कुरा के हो भने नि,

जब म फुर्सदमा हुन्छु

र आइदेओस् भनेर उसलाई कुर्छु

ऊ दुर दुरसम्म पनि देखा पर्दैन

फुर्सदमा अरुलाई नै भेट्छ सायद उसले,

जब म काममा हुन्छु

बेनाम आउँछ र

मसंग नाम माग्छ

बिश्राम माग्छ

झ्यालबाटै पनि भित्र घुस्न खोज्छ कहिलेकाहीं

सडकबाटै कौशीमा उक्लन खोज्छ कहिलेकाहीं

'पर्ख' भन्छु

बाटो देखाउंछु,

कहिले सरासर आउँछ

कहिले बाटो बिराउँछ र उतै हराउँछ,

धन्य ! यो कविताको ज्यान छैन र बचेको छु म !

नत्र न जागिर रहने थियो मेरो,

न कसैले सहने थियो मलाई !

(स्कुल पढ्दा

मसंग नोट माग्न धाइरहने

यौटा यस्तै साथी थियो मेरो

मभन्दा पनि घरकाहरु रुष्टै थिए उसंग |)


घमण्ड त पटक्कै देखाउंदैन यार,

आएँ भनेर हात पनि तेसार्दैन

गएँ भनेर लात पनि बजार्दैन

कुरा यत्ति हो

एकै झलक

जब मसंग बातै गर्न नपाई

फर्किन्छ नि,

चैनले मलाई सुत्न दिंदैन

काममा ध्यानसंग जुट्न दिंदैन

हे भगवान,

यो कविताले

मलाई हैरान बनाउँछ|


Monday, February 14, 2011

प्रेम गीत

यो हाँसो, गुनासो, यो मायाको चासो
यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ

ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?
तिमी छौ, जहाँ छ यो दिलको ठेगाना

यो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?

यी मनका मझेरी, यी तनका पंधेरी
यो चमचम जुनेली, यो रमरम अंधेरी
यो कण कण समर्पण, समर्थन जहां छ,
मेरो जिन्दगीको यौवन त्यहाँ छ
---------------------------------
यो पासो, ढोकांसो, यो मायांको टाँसो
जो डर्छ , त्यो हार्छ रे धर्तीको नासो !
यो गाढा इशारा, पुकारा जहाँ छ,
ल, है ! जिन्दगीको किनारा त्यहाँ छ !

Tuesday, February 1, 2011

अक्षरहरुको अबज्ञा

एकाबिहानै
अक्षरहरु अनसन बसेपछि
कसको के लाग्छ ?

(हजुर यस्तै भयो,
आन्दोलन भनेपछि नशा लाग्ने ,
रातमा पनि जाग्ने र
काम भनेपछि
तुरुन्तै थाक्ने र
दिउँसै भाग्नेहरुको देश न पर्यो यो,
अक्षरहरुले पनि आन्दोलन गर्न सिकेछन )

रातारात
गजब योजना गरेछन अक्षरहरुले र 
जहाँसुकैका अक्षरहरू
एकाबिहानै अनसन बसेछन
डिकाहरु जोडिएर एक ढिका भएछन
फुर्काहरु सोहोरिएर गुजुल्टा परेछन
मिल्नेसम्मकाले अंगालो मारेर
हच्कने लच्कनेलाई समेत विचमा पारेछन
र थपक्क बसेर
बज्राशन कसेर
अक्षरहरुले भनेछन-
अब हामी डेग चल्दैनौं यहाँबाट

यो आन्दोलनमा,
‘हामी हिंसा गर्दैनौं’ भनेछन अक्षरहरुले
‘शहिद भै विनसित्तैं मर्दैनौं’ भनेछन अक्षरहरुले
‘राँको बाल्दैनौं, दुर्वचन बोल्दैनौं
तर शिर्फ एक डेग चल्दैनौं’
अक्षरहरुले त्यसो भनिरहँदा
मलाई
इतिहासका एक चांग पुराना किताबहरुको याद आयो

ए हजुर,
सधैं आन्दोलन हुँदा
फाइदामा पर्थे पत्रकारहरु
अन्दाजमै पनि खबर बन्थे र
नेता भै निस्कन्थे कुलांगारहरु
यसपाली भने
आन्दोलनले तिनलाई पनि लपेटेछ
अहँ, रौँ चलेका हैनन् अक्षरहरु
न माथिको तल झार्न सकिन्छ
न दायाँको बायाँ सार्न सकिन्छ
न ठुलोको सानो पार्न सकिन्छ
काँटछाँटको त कुनै कुरै भएन हजुर
न दुरुस्तै कतै उतार्न सकिन्छ
कोलको ढुंगोजस्तो अचल भैदिएपछि अक्षरहरु
हेर्नुस, आज एउटै अखबार निस्केको छैन

कठै,
फसाद पो पर्दोरहेछ हजुर
अक्षरहरु बाउंठिएपछि
तिनलाई तह लाउन
पुलिसका भ्यानमा बोक्न पनि मिल्दो रहेनछ
गोली ठोक्न पनि मिल्दो रहेनछ
यस अघिका हरेक ठूला आन्दोलनमा
सम्झाउन भनेर भारत आउंथ्यो, सम्झाउँथ्यो
अमेरिकाले समेत दुत खटाउँथ्यो
अक्षरहरुको अबज्ञामा भने
त्यस्तो केहि गर्न मिल्दो रहेनछ

निकै बेर तमासा हेरेपछि
झसंग भएर मैले सोधें -
अँ साँच्ची के का लागि हो यो आन्दोलन ?
अक्षरहरुले एकै स्वरमा भने -
बन्द गर, हाम्रो अबमुल्यन !
असीम खेलवाड भो अक्षरहरुको भावनामा
रोक्नैपर्छ यस्तो मानमर्दन !

सहमति भन्दै जुध्नेहरुले
उभों भन्दै उँधो कुद्नेहरुले
संबिधान भन्दै जब थाले सत्ता-गान
असह्य भयो हाम्रो अपमान
हर अर्थको भयो नृशंस बलिदान
त्यसैले, अब अक्षरहरु चाहन्छन
आफ्नो गुमेको शान
आफ्नो यथावत स्थान

ए हजुर,
एक भौंज्याहा पुर्ब-राजकुमारको जस्तो
अक्षरहरुको माग सुनेपछि
म सोचमग्न भएको छु
यी अक्षरहरुलाई उठाउन
अब कसलाई बसाउन पर्ने हो थाहा भएन
यो गांठो फुकाउन कसलाई झुकाउन पर्ने हो थाहा भएन
कुन तांत्रिक बोलाउन पर्ने हो एकिन भएन

Thursday, January 20, 2011

रण प्रताप

यस्तै हो रण प्रताप,

नदी किनारमा उभिएपछि

पानीमा प्रतिबिम्ब देखिन्छ

जमीनमा छायाँ |


हिंजो तिमीले

ओडारमुनि बसेर

या घना जंगलभित्र डेरा कसेर

जहरिलो आगो ओकल्दा

तिम्रो छायाँ त देखिन्नथ्यो

तैपनि

तिम्रो नाम बोकेर

तिमीजस्तै बनेर

हजारौं छायाँहरु यता उता सल्बलाउँदा

गाउँ बस्तीको निद हराउँथ्यो

बच्चाहरु थर्र काम्थे

र रुखका चरा समेत चुप बस्थे

तिनै छायाँको भाव भंगिमा हेरेर

हामी तिम्रो अद्भुत तस्बिर कल्पिन्थ्यौं


बाफ रे !

यत्तिका छायाँ सल्बलाउन सक्ने मान्छे

घाम जुनको रीत खल्बल्याउन सक्ने मान्छे

भनिनसक्नु तिम्रा किम्बदन्ती

गनिनसक्नु तिम्रा रणनीति

कसै कसैले तिमी छँदै छैनौ पनि भने


आज तिमी ठम्म खडा छौ

दिउँसोको घाममा

साँच्चिकैको तिमी देखिदैछौ

तस्बिरको तिमी मेटिदैछौ


यहि नदी हो

तिम्रो अँगेनाबाट उडेको

भर्भराउँदो आगोले जब राम्रा नराम्रा

सबथोक पोल्न थाल्यो

असह्य पीडाको चित्कार गर्दै

निर्दोष रक्त भेलहरु यसलाई गुहार्न आएपछि

नदीको मन रहेन,

बडो ग्लानि भयो नदीलाई र

आफु साँघुरिएको पश्चातापमा

नदी ओडार सम्मै आयो पानी बोकेर

नदी जंगलभित्रै धायो खोज्दै खोज्दै

र बाहिर ल्याइपुर्यायो तिमीलाई

डुंगा चढायो र

उसले भन्यो - अब तिमी मलाई त्यतै हाँक

जता हिंडे यो चित्कार रोकिन्छ,

निर्दोष प्राणीको संहार रोकिन्छ

............................................

नदी विस्मित छ फेरि यतिखेर

आफैं किनारमा ओर्लेका तिमी

डुंगा र ढुंगा दुवै ताक्दैछौ

दुश्मन र दर्शनको चक्करमा अल्झेर

जिम्मेवारीबाट पर भाग्दैछौ

सुल्टो हिंड रण प्रताप,

सोझो हिंड,

संगै जाउँ भन्नेसँग काँध नउचाल,

यदि तिमीले

आफ्नालाई आफ्नो सम्झेनौ भने यतिवेला

तिमीलाई कसैले आफ्नो भन्नेछैन

पाउमुनिको बालुवा खस्के जस्तै

पल पल घडकिँदो

यो समयलाई चिन्न सकेनौ भने

समयले पनि तिम्रो ख्याल गर्नेछैन


नदी त बग्छ नै, (छेक्न सकिन्न यसलाई)

बग्दा बग्दै गर्छ सबै काम यसले

हेर, अहिले छर्लंगै तिम्रो प्रतिबिम्ब देखिएको छ यसमा |


Monday, January 10, 2011

केहि थुंगा कविताहरु

'हाइकु' शब्द स्कुल पढ्दै थाहा भए पनि यसको वास्तविक परिचय प्राध्यापक अभि सुबेदीको किताबमा पढेको थिएँ | ५-७-५ अक्षरको बन्देजले गर्दा हामीले लेख्ने यस्ता साना साइजका कवितालाई ठ्याक्कै हाईकु भनिहाल्न नमिल्ने भए पनि केहि जापानी साहित्यकारहरुले बिदेशी भाषाका कवितालाई पनि ५-७-५ जापानी शब्दमा ढालेर हाइकुको दर्जामै राखिदिएका छन् |

छोटा, टुक्रा, खुद्रा, साना आदि नाम दिंदा तिनले कविताको अर्थ र गरिमालाई सही ढंगले प्रकट गर्न सक्दैनन् भन्ने मलाई लाग्छ |

मुक्तकभन्दा पनि साना र सांकेतिक खालका यस्ता कवितालाई मैले 'थुंगा कविता' नाम दिएको छु | सापेक्षिक रुपमा हेर्दा हामीले अक्सर लेख्ने कविताहरु फूल, पात, डांठ, जरा र हाँगाबिंगा समेत सबै बुझिने खालका हुनाले ती रुख कविता हुन् भने प्राध्यापक सुबेदी स्वयंका (मैले पढेका) कविता चाहिं

झुप्पा (

गुच्छा ?) कविता जस्ता लागे मलाई |

(यहाँ केहि थुंगा कविताहरु प्रस्तुत छन्, जो पृथक पृथक सिलसिलामा लेखिएका हुन् |)


सखारै

गुराँसथुंगा चढाईएका ! 

लेकका पंधेराहरु

.......१.......


झिस्मिसेको कुहिरोले

सिनित्तै पुछी गएछ

दिनको झ्याल

.......२.......

एक्लो गोब्रेच्याउ

वर्षा लाग्नासाथ

छाता फुकाउँछ

.....३.......

साँझको वर्षा

बिजुली चम्काउँदै

कसको पिछा गर्दै हो ?

.......४.......

आकाशमै कोरेपनि

आगोको हस्ताक्षर

धेरैबेर रहँदैन

.......५..........

ठुलो हुरी र झरीपछि

सबथोक बिर्सिसकेको हुन्छु

विषमज्वरले छोडे झैं

.......६.......

इन्द्रधनुष,

तिम्रो द्वारमा

एउटा पिङ्ग बाँध्न मिल्थ्यो कि ?

.......७.......

तह तह पातहरुमा

शीत झर्दैछ

भरेंग ओर्ले जस्तै

........८.......

पहिलो हिमपात

बचेराहरु

झन् झन् टाँस्सिदैछन्

.......९........

रुखहरु

जताबाट हावा चलेपनि

'नाईं' भन्दैनन्

.......१०.......

छक्क माहुरी

रेलभित्र केही फन्का मारेर

छिट्टै बाहिरिन्छ

.......११.......


(पछिल्लो टुक्राले यसप्रकारका कविता लेख्ने मेरो प्रयासलाई प्रतिबिम्बित गर्छ |)

javascript:void(0)