Thursday, January 20, 2011

रण प्रताप

यस्तै हो रण प्रताप,

नदी किनारमा उभिएपछि

पानीमा प्रतिबिम्ब देखिन्छ

जमीनमा छायाँ |


हिंजो तिमीले

ओडारमुनि बसेर

या घना जंगलभित्र डेरा कसेर

जहरिलो आगो ओकल्दा

तिम्रो छायाँ त देखिन्नथ्यो

तैपनि

तिम्रो नाम बोकेर

तिमीजस्तै बनेर

हजारौं छायाँहरु यता उता सल्बलाउँदा

गाउँ बस्तीको निद हराउँथ्यो

बच्चाहरु थर्र काम्थे

र रुखका चरा समेत चुप बस्थे

तिनै छायाँको भाव भंगिमा हेरेर

हामी तिम्रो अद्भुत तस्बिर कल्पिन्थ्यौं


बाफ रे !

यत्तिका छायाँ सल्बलाउन सक्ने मान्छे

घाम जुनको रीत खल्बल्याउन सक्ने मान्छे

भनिनसक्नु तिम्रा किम्बदन्ती

गनिनसक्नु तिम्रा रणनीति

कसै कसैले तिमी छँदै छैनौ पनि भने


आज तिमी ठम्म खडा छौ

दिउँसोको घाममा

साँच्चिकैको तिमी देखिदैछौ

तस्बिरको तिमी मेटिदैछौ


यहि नदी हो

तिम्रो अँगेनाबाट उडेको

भर्भराउँदो आगोले जब राम्रा नराम्रा

सबथोक पोल्न थाल्यो

असह्य पीडाको चित्कार गर्दै

निर्दोष रक्त भेलहरु यसलाई गुहार्न आएपछि

नदीको मन रहेन,

बडो ग्लानि भयो नदीलाई र

आफु साँघुरिएको पश्चातापमा

नदी ओडार सम्मै आयो पानी बोकेर

नदी जंगलभित्रै धायो खोज्दै खोज्दै

र बाहिर ल्याइपुर्यायो तिमीलाई

डुंगा चढायो र

उसले भन्यो - अब तिमी मलाई त्यतै हाँक

जता हिंडे यो चित्कार रोकिन्छ,

निर्दोष प्राणीको संहार रोकिन्छ

............................................

नदी विस्मित छ फेरि यतिखेर

आफैं किनारमा ओर्लेका तिमी

डुंगा र ढुंगा दुवै ताक्दैछौ

दुश्मन र दर्शनको चक्करमा अल्झेर

जिम्मेवारीबाट पर भाग्दैछौ

सुल्टो हिंड रण प्रताप,

सोझो हिंड,

संगै जाउँ भन्नेसँग काँध नउचाल,

यदि तिमीले

आफ्नालाई आफ्नो सम्झेनौ भने यतिवेला

तिमीलाई कसैले आफ्नो भन्नेछैन

पाउमुनिको बालुवा खस्के जस्तै

पल पल घडकिँदो

यो समयलाई चिन्न सकेनौ भने

समयले पनि तिम्रो ख्याल गर्नेछैन


नदी त बग्छ नै, (छेक्न सकिन्न यसलाई)

बग्दा बग्दै गर्छ सबै काम यसले

हेर, अहिले छर्लंगै तिम्रो प्रतिबिम्ब देखिएको छ यसमा |


Monday, January 10, 2011

केहि थुंगा कविताहरु

'हाइकु' शब्द स्कुल पढ्दै थाहा भए पनि यसको वास्तविक परिचय प्राध्यापक अभि सुबेदीको किताबमा पढेको थिएँ | ५-७-५ अक्षरको बन्देजले गर्दा हामीले लेख्ने यस्ता साना साइजका कवितालाई ठ्याक्कै हाईकु भनिहाल्न नमिल्ने भए पनि केहि जापानी साहित्यकारहरुले बिदेशी भाषाका कवितालाई पनि ५-७-५ जापानी शब्दमा ढालेर हाइकुको दर्जामै राखिदिएका छन् |

छोटा, टुक्रा, खुद्रा, साना आदि नाम दिंदा तिनले कविताको अर्थ र गरिमालाई सही ढंगले प्रकट गर्न सक्दैनन् भन्ने मलाई लाग्छ |

मुक्तकभन्दा पनि साना र सांकेतिक खालका यस्ता कवितालाई मैले 'थुंगा कविता' नाम दिएको छु | सापेक्षिक रुपमा हेर्दा हामीले अक्सर लेख्ने कविताहरु फूल, पात, डांठ, जरा र हाँगाबिंगा समेत सबै बुझिने खालका हुनाले ती रुख कविता हुन् भने प्राध्यापक सुबेदी स्वयंका (मैले पढेका) कविता चाहिं

झुप्पा (

गुच्छा ?) कविता जस्ता लागे मलाई |

(यहाँ केहि थुंगा कविताहरु प्रस्तुत छन्, जो पृथक पृथक सिलसिलामा लेखिएका हुन् |)


सखारै

गुराँसथुंगा चढाईएका ! 

लेकका पंधेराहरु

.......१.......


झिस्मिसेको कुहिरोले

सिनित्तै पुछी गएछ

दिनको झ्याल

.......२.......

एक्लो गोब्रेच्याउ

वर्षा लाग्नासाथ

छाता फुकाउँछ

.....३.......

साँझको वर्षा

बिजुली चम्काउँदै

कसको पिछा गर्दै हो ?

.......४.......

आकाशमै कोरेपनि

आगोको हस्ताक्षर

धेरैबेर रहँदैन

.......५..........

ठुलो हुरी र झरीपछि

सबथोक बिर्सिसकेको हुन्छु

विषमज्वरले छोडे झैं

.......६.......

इन्द्रधनुष,

तिम्रो द्वारमा

एउटा पिङ्ग बाँध्न मिल्थ्यो कि ?

.......७.......

तह तह पातहरुमा

शीत झर्दैछ

भरेंग ओर्ले जस्तै

........८.......

पहिलो हिमपात

बचेराहरु

झन् झन् टाँस्सिदैछन्

.......९........

रुखहरु

जताबाट हावा चलेपनि

'नाईं' भन्दैनन्

.......१०.......

छक्क माहुरी

रेलभित्र केही फन्का मारेर

छिट्टै बाहिरिन्छ

.......११.......


(पछिल्लो टुक्राले यसप्रकारका कविता लेख्ने मेरो प्रयासलाई प्रतिबिम्बित गर्छ |)

Tuesday, December 28, 2010

बिचार/सुझाब

विचारै नभएदेखि तिमी बिचरा हौ

पन्छी बिनाका पिंजडा हौ


तिमी खोला भए बिचार पानी हो

हरपल सफा,कलकल पानी

खोलाको सफल जिन्दगानी हो

त्यसको मुहानीमा मैला भरियो भने

हरिया वृक्षको दोहोलो गरियो भने

पानी अबश्य सुक्छ

तर 

पानी हिड्नलाई नै खोला हो

पानी नै नभएपछि त्यो बगर हो

बग्ने शाखै गुमाएको सुक्खा डगर हो


हुन त कहिलेकाहीं

विचारहरु

भलबाढी बनेर पनि आउँछन्

आफुलाई गाँजिराखेका

झार पतंग उप्काउँछन्

त्यतिबेलै त्यसलाई चट्ट छोपेर

कुलेसो खोपेर

आफ्नो सामर्थ्यको बारीमा

सोझ्याउन सक्यौ भने पनि

ठूलो परिबर्तन हुनेछ - नसोचेको परिवर्तन !

यसरी

बेलैमा

विचारलाई संगाल्न र अंगाल्न जान्यौ भने

तिमी कहिल्यै कम्जोर हुनेछैनौ

तर, होस गर

बेला टरेपछि,

एक कदम पनि अघि नसरेपछि

विचारहरु फेरि भलबाढी झैं हराउने छन्


तिमीसंग थुप्रै राम्रा बिचारहरु छन् भने

नलुकाऊ

ल्याऊ, बिचारहरुको बिस्कुन फुकाऊ

र आँगनमा उज्यालो घाममा सुकाऊ

तिम्रा बिचारहरु,

एकपल्ट जांची हेरौं

हावामा तैरिंदै सर्दै जाने विचार

विचार होइन, भुस हो त्यो

भुक्क फुलेर फिस्स घट्ने विचार

विचार होइन, तुष हो त्यो

यस्तै नक्कली बिचारहरुले

हाम्रो सारा यौवन खाएका छन्

देशका पुर्जामा खिया जमाएर

उर्जालाई लाहुर पठाएका छन्

रंगीन चुनावी आवरणमा बेरिएका

निकम्मा परजीवी बिचारहरुले

जगदेखि धुरीसम्मै

गाँजेका छन् हामीलाई

जागिर पकाउन गुरुहरुले

स्कूलमा यस्तै पढाउँछन्

अखबार यस्तैमा गुजारा चलाउँछन्

नेता, प्रणेता, पाका, पठित

यस्तैमा गोलचक्कर लगाउँछन्

आजित भैसकेका छौं हामी


ल्याऊ निकाल स्वाभिमानी बिचारहरु

तिता अमिला नै किन नहून

दिगा भरिला बिचारहरु

खोइ कहाँ छन् खंदिला बिचारहरु ?

खोइ कहाँ छन् जुग परिबर्तनका आधारहरु ?

परिबर्तनको नाममा पटक पटक

उही टिस्स्युले

मुख पुछेका छौं हामीले |


विचारै छैन भने भो आँखा नचम्काऊ

बिचारले हाँक्नेका पछाडी आऊ

किनभने

विचारै नभए तिमी हलुका सुत्ला हौ

घोगाबिनाका भुत्ला हौ


विचारै नभएदेखि तिमी बिचरा हौ

पन्छी बिनाका पिंजडा हौ


javascript:void(0)