Wednesday, September 22, 2010

बर्षातको सङ्गीत

पर्ख, बादलको पर्दा सर्न देऊ
बर्षातको सङ्गीत झर्न बाँकी छ


















ढम्म ढोका थुनिएको
बिशाल रंगमंचका दर्शक झैं
हरियो चौरमा बसेर
ब्यग्रतापूर्वक माथि हेर्दै
हामी कुरिरहेका छौं
आज फेरि आकाशमा
बृहत संगीतसभा बसेको छ
असंख्य सुरहरुका सारंगी
अनगिन्ती धूनहरुका बाँसुरी
कुन छंद र द्वन्दले
छलांग मार्ने हो आज
ठूलो खलबल छ
ठूलो छलफल छ
त्योदेखि बिल्कुलै अन्जान हामी
बेखबर, बेठेगान छौं
अबोध नानीहरु जस्तै
हलचल नगरी बसेका छौं
एकतमास हेरी बसेका छौं

पर्ख, बतासलाई निम्तो पस्किन देऊ
फूलको कम्मर लच्किन बाँकि छ
 
एकै छिनमा
बेतको मसिनो छडी सर्काएर
सभा नाइकेले
झिलिक्क संकेत गर्नासाथ
ढर्र ढर्र ड्रमहरु बज्नेछन्
र झर्र झर्र, स्यार्र स्यार्र
सुरहरुको तानाबाना गुन्जिनेछ
सबथोक फेरिनेछ त्यसपछि
हामी आफैं सङ्गीत बन्नेछौं
हामी आफैं गीत रच्नेछौँ
श्रोता र संगीतकारमा
औंला र गितारमा
कुनै भेद रहने छैन त्यतिबेला
अहँ,
संगीतले नछोपेको
कुनै ठाउं रहनेछैन त्यसपछि
त्यतिन्जेलको हाम्रो बेचैनी
पाली पालीमा,
डाली डालीमा,
सलल सल्बलाउँदै बगिजानेछ

पर्ख, एक फुर्का समय हुत्तिन देऊ
भुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ

संगीतले टिलपिल यो घडीमा
रुझिने डरले
घर फर्किन हतारिने
ए मेरा शंकालु साथी,
पर्ख, झ्यालको पर्दा रहन देऊ
बुँद बुँदले सुर-ताल कहन बाँकी छ!
थोपा थोपामा झंकार बहन बाँकी छ!

Monday, August 30, 2010

राजनीति / बिनसित्ति

भो, अब बिनसित्तिका कुरा नगरौं
सबैले देखे जानेको
राजनीतिका कुरा नगरौं

भर्खरै
तिमीले मलाई 'चोर' भन्यौं
बदलामा मैले 'घूसखोर' भनें
तिमीले 'दलाल' र 'पुच्छर' भन्यौ
बदलामा मैले 'गुप्तचर' भनें
अब तिमीले
मलाई 'शत्रु' भन्यौ भने
तिमीलाई 'पत्रु' भन्ने छु
मलाई 'हरुवा' भन्यौ भने
तिमीलाई 'पानीमरुवा' भन्ने छु
शब्दको के नै कमि छ र?
हाम्रो राजनीति,कमसेकम
एउटा उर्बर शब्द भण्डार जो बनेको छ !
खूब कडकिंदै तिमीले
'शिशामहलबाट ढुंगा हान्ने' का कुरा गर्यौ भने
म पनि 'पहरामा टाउको ठोक्ने' का कुरा गर्नेछु
तिमीले 'बाह्र बर्षदेखिको ढुंग्रो'को कुरा गरे
म पनि 'आफ्नो आंगको जुम्रो'को कुरा गर्ने छु
र यसरी त्यो कण्ठस्थ शब्दकोशको
हामी भरपुर उपयोग गर्नेछौं

जति खोश्र्यो, उति रन्कने
कोइलाको आगो जस्तो
यो शब्दयुद्धमा
बाजी मारेरै देखाईछोडुंला भनेर
घरै नगई
तिमी र म यहिँ टुंडिखेलमा बाझ्दै बसेपनि
साँझ पर्ला,
रात समेत झर्ला,
अहँ,
हामी दुबैले जित्ने छैनौं
जित्ने जोशमा
जबर्दस्त तर्क कुतर्क पर्गेल्दै
कसौंडीमा बफाएका कर्कलाका पात झैं
हामी दुवै लखतरान पर्नेछौं र
अझै नछोड्ने बहाना गर्दै
पर पर सर्नेछौं
र जब
आक्कल झुक्कल आउने बिजुलीले
करेन्ट लागेर छुटेको झैं
भारी टाउको लिएर
गृहप्रबेश गर्नेछौं
घरमा चुलो कुरेर बस्नेको
हैरानीको फेला पर्नेछौं

त्यसैले
भो अब चल्तीका कुरा छोडौं
मिल्तीका कुरा गरौं

एकैपल्ट,
तिमीले मलाई
'साथी' भनेर हेर त
म पनि तिमीलाई 'नजाती' भन्न कहाँ सकुँला ?

भो, अब बिनसित्तिका कुरा नगरौं
घांटीसम्मै भरिंदै आएको
राजनीतिका कुरा नगरौं

Tuesday, July 6, 2010

छोरो घर आउँदा















छोरो आयो
र ऊ जताततै छायो
आँगन, पिंढी
छत, बार्दली
कोठा कोठामा
चोटा चोटामा
उही छायो
दौंतरीहरुले भने
छोरो आयो-लौ जाती भयो
अब तिम्रो एकलासको साथी भयो
हामी त मेसो मिले आउने न हौँ
तिम्रा कुरा सुन्ने भन्दा बढ्ता
आफ्नै गन्थन सुनाउने न हौँ
ऊ छोरो आयो
अब तिम्रो पीर हरायो
तिमी आफैंले जन्माएको,हुर्काएको
साथी हुनाले
उसले
तिम्रो कुरा पहिले सुन्ने छ
र यसो पो हो कि भन्ने छ
उसलाई बच्चा ठान्नुहुँदैन तिमीले
मुखले नभनेपनि
तिम्रा शब्द शब्द गुन्नेछ उसले
तिम्रो आकांक्षालाई अन्तर्मनमा उनेर
आफ्नो बाटो चुन्नेछ उसले
हेर आज यो घर
निकै उज्यालो देख्छु म |

हो त, साँच्चिकै
ऊ यहीं छ भन्ने हुँदा
फूलका रंग अझ गाढा लाग्दा रहेछन
झार-काँडाले पनि हेप्न छाड्दा रहेछन
बाटो हिंड्दा ठेस लागेपनि
मनमा उस्तो बिझ्दो रहेनछ
चर्को झरीमा एक्लै रुझेपनि
अत्यासले आँखा भिज्दो रहेनछ
सम्झी सम्झी हरेक कुरा
भरे छोरोलाई भनुँला भनेर
एउटा भरोसाको डोरो बन्दोरहेछ र
त्यसैले आफूलाई तान्दोरहेछ
आज ढुक्कै छु म
छोरो आएको खुशीले
सधैं हिंड्ने गरेको
यो अंधेरीखोला र एक्लेभीरको बाटो पनि
नौलो-पौलो लाग्दैछ मलाई |

धेरै समय बिराएर
घर आएको छोरो
झालमा फलेका लौका,करेला हेरेर खूब रमायो
कलिलो काँक्रोमा पिरो दलेर खूब खायो
हरिया मकै भाँच्न बारीमा पनि गयो
धान रोपेको हेर्न टारीमा पनि गयो
परदेश बसे पनि
छोरो परदेशी हुँदो रहेनछ
पराई झैं गजक्क फुलेर बस्तो रहेनछ
बिरलै बज्ने यो घरको फोन
आज तारन्तार बजिरहेछ
मतिर नहेरी हिंड्ने मान्छे समेत
उसलाई खोजिरहेछ
उफ!बार्दलीबाट चियाउने र बाटोमै घेर्नेहरु !
गौंडा उक्लेर / ओर्लेर उसलाई हेर्नेहरु ! 
आफूलाई त छोरो सानो लाग्छ अझै
छोरो त धेरैको छानो भैसकेको रहेछ
आफ्नो सोच पुरानो भैसकेको रहेछ
आफ्नो स्मृतिमा खेल्ने/ कुद्ने सन्तति
साँच्चिकै सबैको सम्पति भैसकेको रहेछ











अब फेरि छोरो
परदेश जान नपरे हुन्थ्यो नि है !

(साथी बसन्त गौतमजीको स्वदेश फर्कने खबरले उब्जाएका बिबिध तरंगहरुको ज्वार|उहाँलाई हार्दिक शुभकामना र धन्यबाद ! कविताका पात्र र परिदृश्य भने काल्पनिक हुन्|)

Wednesday, June 30, 2010

जीत-हारको सवाल र सहानुभूति

फेरि पनि तिमीलाई जित्नै पर्ने होला
यहाँ तिम्रो जीतमा भयभीत हुने धेरै छन्
तिम्रो जीतलाई पनि हार देख्नेहरु छन्
तिमीले हार्यौ भने त किताबै लेख्नेहरु छन्

हुन त,
जित्नलाई
गर्नुसम्म गर्यौ होला नै तिमीले
तन मन लगाएरै गर्यौ होला
वाचा-प्रतिज्ञा पनि, मिहिनेत पनि,...सबकुरा
त्यो त झल्झली तिम्रो सम्झनामा होला
सोचे भन्दा बढ्तै जित्यौ तिमीले
तर त्यसलाई अहिले रौँ नगन्नेहरु छन्
हामी पनि कम थिएनौं भन्नेहरु छन्
तिनलाई शंका गरिहाल्न नपरेपनि
अचेल यस्तो भएको छ
तिनको बाँकी केहि नरहेपनि
तिम्रो बाँकी दिनानुदिन झरेको छ
तिनको शिर माथि नगए पनि
तिम्रो शिर तल तल सरेको छ
धरोधर्म,
हामीलाई त पर्नु पीर परेको छ
टेक्ने धरातलै गढेको छ
हार्नेले शिंहासन चढेको छ
जित्ने भुइंमा लडेको छ
लौ न, समातेर उठाईदेउ न भन्दै
उनैसँग अनुनय गरेको छ
यो कस्तो कली छाएको हो कुन्नि,
जता हेर्यो खडेरी परेको छ

जसले जे भनेपनि
तिमीले जितेकै हौ
एकचोटी लगाम खिचेकै हौ
जित्नेले धेरै होशियार हुनुपर्थ्यो
जित्नेले जिताउनेको मन छुनुपर्थ्यो
एकपल्ट जितेर
पछि फर्कि हेर्नैनपर्ने
पेशा भए पो त यो !
हार्नेलाई त के छ र,
नहारेको बहानामा तर्किबस्नु
यसो उठ्ने मौका पर्खिबस्नु
तिनको धर्मै हो त्यो,
जित्नेले अझ जित्दै गए
लगाम राम्ररी खिच्दै गए
हार्नेलाई पनि पाठ हुँदो हो
उल्टो हिंड़ेकोमा लाज हुँदो हो
हेर त अहिले,
तिमीलाई जिताएर पनि
हामीलाई लाजै भएको छ
उनलाई हराएर पनि तिमीलाई
लाजै भएको छ !
साँच्चिकै यो कुरा
कसैलाई राम्रो लागेको छैन
जीतहारको बेतुक रस्साकसी
जिताउनेलाई कहिल्यै फापेको छैन

अब तिम्रो जीत स्थापित गर्नलाई
तिमीले जितेको दम्भ फाल्नुपर्छ
अरुलाई 'हरुवा' भन्न छाडेर
जिताउनेका आकांक्षा गन्न थाल्नुपर्छ
फेरि फेरि पनि जित्ने मन छ भने
जित्नेको जिम्मेवारी सम्हाल्नुपर्छ

दुर्भाग्यबश, फेरि
जित्दा जित्दै पनि तिमीलाई
जितेरै देखाउन मन होला
यहाँ तिमीले जितेको मन नपर्नेहरू धेरै छन्
तिम्रो जीतमा पनि हार देख्नेहरु छन्
तिमीले हारेपछि त झन् किताबै लेख्नेहरु छन् |

Tuesday, June 8, 2010

बसन्त-गान




















यी बोटहरुको जुर्मुराहट हेर
सुक्ष्म ओठहरुको चुलबुलाहट हेर
मग्न माधुर्य, मन्द मुस्कुराहट हेर
नौलो संसार नियाल्ने कुत्कुत्याहट हेर

यी पातहरुको सर्सराहट हेर
सुक्ष्म हातहरुको चल्मलाहट हेर
रंग, लालित्य, रौनक, रुन्झुनाहट हेर
एक बहार बसंत बाँच्ने चाहट हेर

यी खोली, तरेली कल्कलाहट हेर
यी निश्चल परेली सल्बलाहट हेर
सुर, सौन्दर्य, स्वप्न, सुस्त-आहट हेर
यो मायाँ यो छायाँ भुल्भुलाहट हेर

यी पक्षीहरुको चिर्बिराहट हेर
प्यारो गुंड, प्रभाती तिल्मिलाहट हेर
ठण्डी रात र बर्षात, जूनको राहत हेर 
चर्को घाम र तूफान झेल्ने साहस हेर





















यो मौसम र मेरो तुल्बुलाहट हेर!
यी शब्दैपिच्छेका घबराहट हेर!
यो शान्त कलमको लड़खडाहट हेर!

Wednesday, May 26, 2010

प्रतिगामी कविता

आऊ, साथी
एउटा बुर्जुवा कविता सुनेर जाऊ
यसपालि पनि
सर्बहाराको कविता लेख्न सकिएन

तिमीले भनेका थियौ-
सधैं उखरमाउला मायाप्रीतिका
थोत्रा घरायसी गन्थनका
र पुरानो संस्कारका महिमा गाउनेहरु
प्रतिगामीका खेलौना मात्र हुन्छन
असली जनताका घृणापात्र हुन्छन,
सच्चा प्रगतिशील कविता पो कविता !
सर्बहाराको कविता पो कविता!

तिम्रो आग्रहपछि
'हो क्यार' भन्ठानेर
मैले पनि खूब खोजी गरें सर्बहाराको

ठेला ठेल्ने ठेलावाललाई गएर सोधें
दाई, तिमी सर्बहारा हौ ?
उनले सोधे
के हारेको देख्यौ तिमीले मलाई,
गरिबी छ, दुख छ, ठेलेकै छु
छिंडिको बास छ झेलेकै छु
तैपनि,
सपना अझै हारेको छैन मैले
हरेश खाएर आफैंसँग
जहान बच्चा मारेको छैन मैले
त्यसैले
तिमी मलाई सर्बहारा नभन,
(कि आज काम नपाएको देखेर हो ?)
यो नेपाल बन्दले गर्दा
साहुको ऋण बेलैमा तिर्न पाईएन
अलिकति बचन हारें
त्यस्तो त कत्रा कत्रा संबिधान लेख्नेले त
मेलो छोडेर
ई,'बन्द!’ भन्दै हिंडेका छन्
पुलिस र पसलेसंग भिडेका छन्
तिनले तान्न खोज्दै थिए जुलुसमा
तैपनि यो चोक छाडेको छैन मैले
काम आफ्नो अलपत्र पारेको छैन मैले

फेरि अर्को दिन
डोको बोक्ने ढाक्रेलाई सोधें
दाई, तिमी सर्बहारा हौ ?
उनले भने
यो कुरो मलाई सोध्न
तिमी कसले खटाएर आएका हौ
पोहोरकै मान्छेले पठाएर आएका हौ?
यसपाली त चन्दा सक्दिन है धरोधर्म,
दिनदिनै थप्दैछु ऋणको भार
महँगीले आकाश छोएपछि
नुन चामल गर्दैमा छु बेहाल
तैपनि यसोकसो
काम पाईएकोमा आभार
म भारी बोक्ने मान्छे हुँ
म न सर्बहारा, न कर्महारा
न बाटैघाटै मान्छे छेकेर हैरान पार्ने
तिमीजस्तो आबारा !

यी दुबैजना
दुश्मनको कित्ताका मान्छे जस्तो लागेपछि
हलो जोत्ने हलीसंग सोध्न गएँ
उनले भने
म जोत्ने मान्छे,जोतेकै छु
आफू पनि जोतिएकै छु
यत्रो जमिन हराभरा बनाउने
म कसरी सर्बहारा
ठिक भएन तिम्रो सोध्ने पारा
नसुनाउ मलाई कसैका नारा
समाजबाद बुझें, जनबाद बुझें
भूमिसुधार’देखि 'स्वरोजगार’ बुझें
नयाँदेखि पुराना जम्मै नेपाल बुझें
हामी त खालि रहेछौं, बेसहारा
'सर्बहारा' भन्दै धुत्न आउने
तिम्रै नेता हुन् सर्बहारा
चंदा र मुफतको धन्दामा टिकेका
भातमारा,हुतिहारा!

अब,
सडक छेउमा गिटी कुट्नेलाई सोधुँ कि,
स्कूल छेउमा चिया फिट्नेलाई सोधुँ कि,
खोला छेउमा माछा मार्नेलाई सोधुँ कि,
ताल पारि डुंगा तार्नेलाई सोधुँ कि,
म कसलाई सोधुँ,
आजसम्म भेट्न सकिन मैले सर्बहारा

आऊ, साथी
यसपालि पनि
एउटा बुर्जुवा कविता सुनेर जाऊ
सर्बहाराको कविता अझै लेख्न सकिएन

Saturday, May 8, 2010

गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब
बर्षभरी कुटो कोदालो
र डोको नाम्लो गरेर पनि
पाल्न सकिंदैन जहान
हात पसार्दा
कुहिएको चामल मिल्छ
बिदेशीको स्नेहपूर्ण दान
त्यसैले पेटमा पहिरो चलेपछि फेरि
समयमा हुँदैन निदान
र बस्ती नै सोत्तर हुने गरेर
अकालमा जान्छ मान्छेको ज्यान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब

पटक पटक आन्दोलन हुन्छन
(असंख्य आन्दोलन हुन्छन)
तिनै निमुखा जनताको नाउँमा
र उही गरिबी हटाउने निहुँमा,
चटक गर्दै नेताहरु सिंहदरबार छिर्छन
र उतै हराउँछन्
हरबखत कुर्चीकै गरेर तानातान
तिनको त महल ठडिन्छ कान्तिपुरीमा
गरिबीको कुनै निस्कन्न समाधान
र हरेकपल्ट टीठलाग्दो बन्छ
शहिदहरुको बलिदान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब

पढेर पनि बाटो देखिन्न
हिंड्न खोजेर पनि बाटो भेटिन्न
बेरोजगारी उम्लन्छ भकभकी तातो रगतमा
र भएको घर जग्गा धितो राखेर
काखीमा लाखौंको ऋण च्यापेर
बुढा बाबु आमा र नवदुलहीलाई घर सुम्पेर
यो देशका छोराहरु
कमाउनकै निम्ति निस्किन्छन
युद्धमैदान
इराक र अफगानिस्तान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब भेट्छु
तिनै दाजुभाइको सिको गर्दै
दलालको हातमा लाखौं तिरेर
एउटा सुटकेस र पासपोर्ट भिरेर
अरब कतार जान ठिक्क परेकी
यो देशकी छोरीलाई
त्रिभुवन बिमानस्थलमा एकाबिहान
र उनलाई भाबपूर्ण बिदाइ गर्छन
उनैका बाबुआमा र श्रीमान
अनायासै सुस्केरा निस्किन्छ मुखबाट  
र पुकार्छु ‘हे भगवान !’
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब

दिनदिनै निर्दोष मानिस मरेको सुन्छु
अपहरणमा परेको सुन्छु
र यो पनि सुन्छु कि
सुरक्षाको पहरेदार नै भेटियो
अपराधीको साझेदार
घरभित्रै डकैत घुसेपनि
कसरि गुहार्नु तिनैलाई जानाजान
बगरेले छिस्स छिन्ने कुखुरा भन्दा
सस्तो हो कि झैँ हुन्छ आफ्नो प्राण
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब

पेल्दै पेल्दै ठेल्दै ठेल्दै
छिमेकीले लुट्छ हाम्रो आँगन
झट्ट बोल्न कोही तम्सिंदैन
तम्सिनेको पनि खासै हुन्न मन्
घुर्कीको भाषा
र आशिर्बाद्को आशामा
कहिलेकाहीं (अक्सर बेमौकामा! )
बज्ने गर्छन ठुल्ठूला गर्जन
उही मिच्नेसंगको एकै भलाकुसारीमा
मैनबत्ती झैं खर्लक्क पग्लिएको देख्तछु
हाम्रो सम्पूर्ण राष्ट्रिय स्वाभिमान
र यसरी
युद्धमा पराजित सिपाहीका परिबार झैं
परदेशी बन्छन यै माटोका सन्तान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब
अदना मानिस हिंड्ने बाटो रोकी हुने
नाराबाजीमा सुन्छु जनताको नाम
मंत्री प्रधानमन्त्री बनेपछि फेरि
स्वागतमा जनता नै लाग्नुपर्ने लाम !
सडक उनैलाई छोडेर खुलेआम
पेट मिचेर निर्लज्ज हाँस्ने बाहेक
मलाई सुझ्दैन अरु गतिलो काम
खैर यी त सामान्य कुरा भए,
त्यतातिर उस्तो नगरुँ ध्यान
कुनै दिन तिनैले भनेको सम्झिन्छु
यो देशलाई बनाउँछौं स्वीजरल्याण्ड या जापान 
बन्छ बन्छ भनेर कुर्लिंदा त बर्षौंदेखि
समयमा बन्दैन हाम्रो संबिधान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान


(भूपी शेरचनलाई उपहार पठाउने सुरमा लेखिएको कविता)
javascript:void(0)