Thursday, July 28, 2022

समयान्तरमा जीवन

टाँसिएकै रहेछन् आकाशमा ग्रह र ताराहरु उहिल्यैदेखि
कोरिएकै रहेछन् धर्तीमा हजारौं बाटाहरु उहिल्यैदेखि
कोही हिंडिसकेका रहेछन् अपत्यारिला यात्राहरु
जहाँ पुगेपनि
अघि कसैले देखिसकेको ठाउँ पुगिने
जहाँ टेकेपनि
अघि कसैले टेकिसकेको ठाउँ भेटिने
तिम्रो दुखाइ अरु कसैलाई दुखिसकेको हुने
तिम्रो भोगाई अरु कसैले भोगिसकेको हुने
सुरुंगहरुको लामो शृंखलामा भर्खरै उभ्याइएको एउटा पथचिन्हले
नियालेर भित्र हेर्दा देखेजस्तै
तिमी एक्लो होइन रहेछौ
समयको अघि पछिको फरक मात्रै न हो
तिमी जस्ता हजारौं रहेछन्
बाढीले उप्काएर किनारामा फालेको कन्टकारीको झ्यांग झैं
हुरीले पींग झैं मच्चाएर पिटिक्क भाँचेका मसलाका रुख झैं
हिउँले ढाड अँठ्याउँदै कुल्चिंदै पुरेका लहरे पीपल झैं
पटक पटकका प्रलय पछि
कोही क्रमश: वैलिएका, थलिएका रहेछन
कोही परखले सम्हालिएका रहेछन
यो सब भैसकेको रहेछ परापूर्वमै
तिमीले अचम्म, अभूतपूर्व भनेको कुरा
अघि नै लेखिसकिएको रहेछ
बिल्कुल नौलो होइन रहेछ संसार
मानिसका कथाहरु पनि नौला रहेनछन्
झन प्राचीन रहेछ भावनाको संसार
जहाँ हलाहल बिष पिएर जिउनेहरु पनि भेटिए
सत्यको मशाल बोकेर रेटिनेहरु पनि भेटिए
निर्दोषले पनि एकजुग ढुंगा हुने श्राप खेपेको
पापीले देउताको चरण छुनासाथ स्वर्गको भाग ओगटेको
कहीं मौनताभित्र पनि ज्वालामुखी सल्किएको
कहीं चित्कारमा पनि कपट छचल्किएको
ढोंगी जोगी भएर हिंडेको
कुनै घटना नौलो होइन रहेछ
खालि समयान्तरमा बुझिने रहेछ
जिन्दगीको एउटा रोलर कोस्टरमा घुमेर
तिमीलाई फेरी त्यहीं आइपुग्नु रहेछ
जहाँबाट तिमी चढेका थियौं
तिमी यसलाई आफ्नो खेल भन्दारहेछौ
खेल अघि कसैले खेलिसकेको हुँदोरहेछ
उही खेल आज कसैले खेलाईरहेको हुँदोरहेछ
तिमी शिर्फ अर्को घानका खेलाडी रहेछौ
एउटा अर्को घारका माहुरी
एउटा अर्को खेप माछाका भुरा
तिमी भुन्भुनाउंदै, सल्बलाउँदै यहीं घुम्ने रहेछौ
कुनै नयाँ संसार पाएसरी
र किन्चित बुझ्न थालेपछि
‘पृथ्वी गोल छ’ भन्दै
परम सन्तोषका ठीम्रा गोली निलेर
तिमी आफैंलाई ढाडस दिईरहेका हुँदारहेछौ |

No comments:

Post a Comment

javascript:void(0)