हावालाई सोधें-
सधैं यतैतिर,
यसै यसै बहकिईरहेको देख्छु
तिमीलाई
कहाँ पुग्न हिंडेका हौ, कहाँ पुग्यौ
तिमी खुशी छौ ?
हावाले भन्यो- अबश्य
बहकिंदा बहकिएकै खुशीमा हुन्छु
रोकिंदा रोकिएकै खुशीमा रम्छु
कुनै भार छैन मसंग
म उड्न खोज्नेको आधार बन्छु
सोचें- म पनि हावा झैं बहकिन्छु पटक
पटक
भगवानले मलाई हावा किन बनाएनन् ?
पानीलाई सोधें-
जलचक्रमा घुमिरहन्छौ
ओरालोमा एकोहोरो बगिरहन्छौ
लक्ष्य के थियो, के भेट्यौ
तिमी खुशी छौ ?
खोलाले भन्यो- अबश्य
बगुन्जेल बग्दाकै खुशीमा हुन्छु
रोकिंदा रोकिएकै खुशीमा रम्छु
बोकी हिंड्नुपर्ने केहि छैन
तैरिनेहरुको माध्यम बन्छु
सोचें- म पनि खोला झैं एकोहोरो बग्छु
भावनामा
भगवानले मलाई खोला किन बनाएनन् ?
म मान्छे भएं, ठीकै छ,
ठीकै छ अबदेखि
भगवानसंग कुनै गुनासो नगरेर
जगतसंग आग्रह, पूर्वाग्रह नराखेर
कुनै तृष्णा, बितृष्णा नबोकेर
हलुका बाँच्छु – मान्छे भएरै सही
बतास र खोला जस्तै |
No comments:
Post a Comment