खराब त नगल्ने, नकुहिने चिज पो रहेछ
राख्दा पनि प्रदुषण
फाल्दा पनि |
एकदिन म फोहोर बेच्न हिंडें
सरकारलाई मैले भनें-
हामीसित फोहोरै फोहोरको थुप्रो छ – कुहिने, लिन्छौ ?
सुन्नेबित्तिकै तिम्रा मन्त्रीहरु नाक खुंच्याएर हिंडे
मैले अझै फकाएं-
त्यो कुहिएपछि मल बन्छ - उखुबारीमा राखौंला
ग्यास बन्छ घरघरमै - मार्सीभात पकाउँला
बिजुली पनि बल्छ – नाथे कुलमान बेगरै
ठोरीधाम र भ्युटावर समेत झलमल्ल पारौँला
लिन्छौ ?
अहँ तिम्रो रस बसेको देखिन
सोच्यौ होला - यस्तो मैलो धैलोमा के चल्नु ?
(आफूलाई चाहिँदा हेलिकोप्टरमै केक आउँछ !)
म पनि गम्दै थिएं- धत्, मेरो धन्दा !
त्यत्तिका सुकिला हिमाल,
सुनौला फाँट
र मनोरम तालको त कसैले चाल नपाएको बेला
यस्तो फोहोरी प्रस्ताव !
त्यत्तिकैमा
सरासर तिम्रो मझेरीमै छिरेर
कसैले खासखुस गरेको सुनें-
सरकार,
एक पेग सिनित्त पिएपछि
एक अर्ब सित्तैंमा मिल्ने
पबित्र रक्सी छ, लिन्छौ ?
तिम्रो अटेरी सिन्थेटिक मन
त्यतैतिर भुतुक्कै फर्किएको देखें |
No comments:
Post a Comment