'तिमी ठूलो मानिस बन्नुपर्छ,
कुनै विदेशीले मलाई भन्यो –
राष्ट्राध्यक्ष, प्रधानमन्त्री, सभाध्यक्ष
या त्यस्तै कोही आफ्नो देशको',
'अहँ म केही बन्दिन' मैले भनें
मैले ठप्पै त्यस्ता सपना देख्न छोडिसकेको थिएँ
हुन त अनौठो केही थिएन
हरेक साल बिजया दशमीमा मान्यजनले दिने आशिर्बाद
भाइटिकामा दिदीबहिनीले गर्ने कामना
र स्वस्थानी या तीज ब्रतका उपासनाले
यो भन्दा चर्को सुभेच्छा बर्साउंथे
तर म
ठूलो मान्छे हुनुको भयले
भागिरहेको थिएँ
मैले जो देखें ठूल्ठूला मानिसहरु
भित्तामा झुन्ड्याईएका उनीहरुका तस्विरहरुमा
छातिको मध्यभागमै
बलैजफ्ती मुसाले काटेजस्ता
अँध्यारा काला भ्वांगहरु देखेपछि
म तर्सें
त्यहींबाट च्यातिने या खस्ने डरले
यो भयको कुनै उपचार छैन |
बरु म कार्पेन्टर बनेर
झ्यालढोका बनाउँछु-
मानिसहरुलाई बाहिर निस्कन या हेर्न मिल्ने
बरु माली बनेर गोड्छु फूल
ताकि मानिसहरुले हेरेरै मक्ख परुन्
बरु ढुंगा कुंद्छु
डुंगा तार्छु
या मीठा मीठा अचार पार्छु
तर ठूलो मान्छे बन्ने सपनाको पछि लाग्दिन,
कदापि लाग्दिन |
No comments:
Post a Comment