प्रेतात्मा भएर घुमिरहेको
एउटा उहिल्यैको मृत मानिस
सुस्केरा हाल्दै भनिरहेको थियो-
साथी हो, म कसरी बाँचें
त्यतिविधि कुरूप जीवन
त्यतिविधि विभत्स शृंखला रचेर
यो जता हेर्यो उतै सुन्दर धर्तीमा
मैले किन काँडा र पर्खाल मात्रै देखें ?
मैले किन आक्रमण र प्रतिरक्षा मात्रै सोचें ?
किन जोकोहीलाई दुश्मन या साधन मात्रै सम्झें
सामान्य मानिस भन्दा अलग्गै रुपमा ?
यतिबेलाको जस्तो निरपेक्ष बोध
किन भएन त्यतिबेला, म बाँचुन्जेल ?
साँच्चै मैले मभित्रको संसारमा
कतिबिधि फोहोर थुपारेको रहेछु
या कोही थियो ममा त्यो भरिदिने ?
मैले त्यसो किन गरें ?
हरे,
मसंग आज शरीर छैन
र छैनन् इन्द्रियहरु
कसैसंग कुनै सम्पर्क गर्ने माध्यम पनि छैन
तर एउटा सुन्दर जीवन
सुन्दरताको अनुभव बिना नै गुमाएको
सुन्दरताको अनुभव बिना नै गुमाएको
पश्चातापमा छटपटाउँदै
म घुमिरहेको छु |
अविश्वास
शंका
घृणा
लालच
अहंकार
इर्श्या
प्रतिस्पर्धा
क्रोध
कटाक्ष
बदला
प्रतिशोध
प्रतिशोध
अपमान
अपशब्द
घोचपेच
पक्षपात
शोषण
दमन
जालसांजी
झूठ
.......................................
आदि आदि !
ए सुन, मेरो कुरा ध्यान दिएर सुन-
अरुप्रति खराब सोच्दा सोच्दै सकिन्छ
खराब मान्छेको जीवन शक्ति
आफ्नै बडप्पन गाउँदा गाउँदै घटेर
सानो भैसक्छ अभिमानी व्यक्ति
सुन्दैछौ नि, अझै सुन !
अरुलाई नराम्रो देख्दा देख्दै निभ्छ
नराम्रा मान्छेको आँखाको ज्योति
अरुलाई नराम्रो भन्दाभन्दै
सकिन्छ……………………
नराम्रा मान्छेको जिन्दगी !
हो,
म त्यही नराम्रो मान्छे थिएँ,
र आज
एउटा सुन्दर जीवन खेर फालेको पश्चातापमा
भट्किरहेको छु, भट्किरहेको छु |
No comments:
Post a Comment