Sunday, September 2, 2018

एक कप चिया र जीवन
















जीवन भर पिइयो होला लाखौँ कप चिया
तैपनि अझै म
एक कप चियाकै तारिफ गर्दैछु

अहँ, कुनै चिज संग हुन सक्तैन
एक कप चियाको तुलना

पाँचतारे होटलका सम्मेलनमा 
साथीभाईका जमघटमा
मेला, जात्रा, कन्सर्ट, महोत्सबमा 
बिहे, ब्रतबन्ध, पुजा यज्ञमा
रेल, बस र जहाजका पट्यारलाग्दा यात्रामा
अहँ कहिं कतैपनि खाएका पिएका कुराले भेट्दैन
एक कप चियाको भाउ

मैले सम्झेकै छु
रात भरी जाँचको लागि पढेर
बिहान सबेर हुँदा पिएको एक कप चिया,
दिनभरी हिंडेर बल्ल बल्ल गाउँ भेटेपछि
बाटोछेउको पसलमा पिएको एक कप चिया,
दिनभरी बाँझो खेत खनेर 
अपरान्हतिर
बाटुलो रोटीसंगै पिएको तात्तातो एककप चिया,
हिंड्दा हिंड्दै
चिसो बतासले थप्पड मारेको  
या पानीले निथ्रुक्क पारेको बेलाको 
घरमा पाकेको एक कप दूधचिया, 
या
अस्पतालमा बिरामी कुर्दा कुर्दा
बल्ल पालो पाएर 
क्यान्टिनमा पिएको एक कप चिया,
पहिरोमा घन्टौं रोकिएर बल्ल खुलेको बाटोमा 
बसले खुवाएको चिया

अहँ तुलना हुनैसक्तैन अरु केही संग
एक कप तातो चियाले ल्याउने सान्त्वना
एक कप तातो चिया जस्तो संजीवनी

जीवन त्यही एक कप चियाजस्तो बनोस्
जीवन अरुबेला पिएको
हजार कप चियाजस्तो नबनोस्
जीवन मन लागी नलागी टाँस्सिएको
फलामको खिया जस्तो नबनोस् |
जीवन त्यही एक कप चियाजस्तो बनोस् |

No comments:

Post a Comment

javascript:void(0)