यो सधैंजसो पानी पर्ने शहर र
म सधैंजसो छाता भुल्ने मान्छे
समझदारीमै बसेका छौं
उज्यालो हुनासाथ
काममा हिंड्न बेचैन म
कपालले बिर्सेको तालु सुकाउँदै
घाममा हिंड्न बेचैन म
हिंजोकै झोला जुरुक्क उठाएर हिंड्छु
झोलाभित्र के छ, सधैं गुट्मुट्याएर हिंड्छु
खोलेर हेर्नलाई सधैं हतार हतार
कहिलेकाहीं सुनिहाले पनि
एफएममा मौसमको समाचार
झ्यालबाट बाहिर हेर्दा
उतिसारो लाग्दैन पत्यार
सधैं झैं
खाजा खान निस्कंदा एक बजेतिर
यो धोकेबाज आकाशमा
कालो-कालो बादल सरेको देख्छु
पातला दुई-चार सर्का
सिम सिम झरेको देख्छु
बिश्वास हुँदैन यार
आफ्नै आँखैअघिको दृश्य!
बिहानको भाग्यमानी शिर
फेरि एकपल्ट छाम्छु
र मनमनै भन्छु-
ला! सत्यानाश भयो !
आज पनि छाता घरमै रह्यो!
अब फेरि माग्नुपर्ने भयो अफिसमा गुहार
छाताभंदा पनि, इन्द्रध्वज,
हाकिमसाहेबको अनुहार !
यत्रो अफिस हाँक्ने मान्छे हाकिमसाहेब,
कुरा पलकमै जाँच्नुहुन्छ
म भित्र पस्नासाथ मुसुक्क हाँस्नुहुन्छ
र भन्नुहुन्छ -
अफिसको छाता इन्द्रध्वज,
तिम्रै व्यक्तिगत खाता भएको छ !
सोच्छु- धन्य!, पानीले पगाल्दैन छाता
भोलिपल्ट दुरुस्तै फिर्ता आउँछ
पेश्कीको पैसा झैं सकिईहाल्ने भए साहेब,
इन्द्रध्वजले सापट फेरि पाउँछ ?
यसरी नै,
सधैंजसो गुहार लगाइरहने म
र सधैंजसो बचन लगाइरहने हाकिमसाहेब
समझदारीमै बसेका छौं
छाता माग्नको लाजले कहिलेकाहीं
रुझ्दै घर हिंडेको पनि छु
छाता माग्दाको भोलिपल्ट,
सफा दिनमा,
दुई-दुईटा छाता भिरेको पनि छु
घरको छाता अफिसमै छुटेर
छिमेकीको पैंचो तिरेको पनि छु
कहिलेकाहीं,
आफ्नै जहान र छर-छिमेकीसमेत
कतै कसैबाट सहारा नमिल्दा,
जाबो छाता पनि नदिने भनेर झोक नचलेको होइन
जाबो छाता दिएनन् भनेर झोक चलाइहाल्न पनि भएन
यसरी, छाताको रडाको गरिरहने म
र त्यो कत्ति नरुचाउने मेरै आफन्तहरु
समझदारीमै बसेका छौं
----------------------------------
(जागिरे जीवनकाल त यसैगरी गयो
अब बाँकी भन्नु एकै साल रह्यो,
त्यसपछि पनि छाता चाहिएला कि ?
यसैगरी माग्दा पाईएला कि?)
Nepal has officially called off its search
12 hours ago
बडा चित्त बुझ्यो समझादारीमा बाँच्नुको कहानी । यो कहानी जागिरे जीवनकालकै मात्र त हैन होला - त्यसपछि पनि छाता चाहिने , आफ्नो बिर्षेर अर्काको माग्दा पाईने क्रम चलिरहला ।
ReplyDeleteसाह्रै चित्त बुझ्दो कबिता। रमाईलो पनि लाग्यो र अर्थ पुर्ण पनि लाग्यो। यस्तै अनेकौ साना ठूला जन्जालले नै त रहेछ दिनचर्या जाने हैन? तपाईको कबिताको लेखन तरिका तारिफ योग्य छ ।
ReplyDeleteगज्जब छ चैतन्यजी! कविताको दृशयले आफ्नो पोखरा बसाई झलझली सम्झायो मलाई:) हुनत, अझै त्यस्तै छ मति तर बढी पानी पर्ने पोखरामा ठ्याक्कै यहि कविताको पात्र बनिएको छ धेरै पटक।
ReplyDeleteसुन्दर र सटीक! आफैंमाथि र सबैमाथि ब्यंग्य गर्न सफल!
यत्रो अफिस हाँक्ने मान्छे हाकिमसाहेब,
ReplyDeleteकुरा पलकमै जाँच्नुहुन्छ
म भित्र पस्नासाथ मुसुक्क हाँस्नुहुन्छ
र भन्नुहुन्छ -
अफिसको छाता इन्द्रध्वज,
तिम्रै व्यक्तिगत खाता भएको छ !
सोच्छु- धन्य!, पानीले पगाल्दैन छाता
भोलिपल्ट दुरुस्तै फिर्ता आउँछ
पेश्कीको पैसा झैं सकिईहाल्ने भए साहेब,
इन्द्रध्वजले सापट फेरि पाउँछ ?
वाह!!! कविता निकै राम्रो लाग्यो । विशेषगरी माथिका हरफहरुले मलाई छोयो । सामान्य कर्मचारी र छाताको नियती वास्तविक लाग्यो । यस्तै पोष्टहरुको आशमा छु है ।
www.onlinekhaskhas.blogspot.com
पानी पर्ने शहर र छाता भुल्ने बानीको प्रसंग जोडेर व्यंग्यसँगै समझदारीको गहिरो सन्देश दिन सफल छ कविता। आखिर यस्तै समझदारीको अर्को नाम त हो जिन्दगी।
ReplyDeleteवाह ! निकै राम्रो कविता ।
ReplyDeleteढिला भएछु म त ! तर कविता भने मुक्त कण्ठले प्रंशसागर्न लायक पाएँ ।
ReplyDeleteबहुआयामिक अर्थ राख्ने तपाईको यो रचना साँच्चै पटक पटक पढें । वाह !
छाता माग्नको लाजले कहिलेकाहीं
ReplyDeleteरुझ्दै घर हिंडेको पनि छु
छाता माग्दाको भोलिपल्ट,
सफा दिनमा,
दुई-दुईटा छाता भिरेको पनि छु
Wonderful write as always! really felt your words... simply loved it.
यो सधैंजसो पानी पर्ने शहर र
ReplyDeleteम सधैंजसो छाता भुल्ने मान्छे
समझदारीमै बसेका छौं
यसरी, छाताको रडाको गरिरहने म
र त्यो कत्ति नरुचाउने मेरै आफन्तहरु
समझदारीमै बसेका छौं
यि दूई हरफले असाध्यै मन छोयो मेरो । कति कलात्मक समझदारी हो यो । पोखरा साच्चैँ तपाईँको आँखाले हेर्न पाए झन् कति रमाइलो हुन्थ्यो होला!! म सोच्दैछु...
सारै राम्रो लग्यो . सुभ कामना छ. अझ धेरै र उत्कृस्ट साहित्यिक कविता पढ्न पाए थेसिस लेख्दा बोर भाको दिमाक जागरुक हुने थियो कि ?
ReplyDeleteसार्है राम्रो छ कविता ........छाता माग्नको लाजले कहिलेकाहीं
ReplyDeleteरुझ्दै घर हिंडेको पनि छु
छाता माग्दाको भोलिपल्ट,
सफा दिनमा,
दुई-दुईटा छाता भिरेको पनि छु
घरको छाता अफिसमै छुटेर
छिमेकीको पैंचो तिरेको पनि छु
यी हरफहरुले मन छोयो.........लेख्दै गर्नुहोला
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ! बसन्तजीको अनुभवसंग मिल्न गएको कुरा निकै रमाइलो लाग्यो|अशेषजी र सुजनजीलाई ब्लगमा स्वागत गर्छु |
ReplyDelete