Wednesday, October 17, 2012

जवानी / कहानी

यार हाम्रो पनि जवानी थियो

रिसानी खुशानीको लगानी थियो

साँझसम्मै हराउने बिहानी थियो

घरै पनि बिर्साउने कहानी थियो



नसोध कहाँ कहाँ गएका थियौ ?

कुन आश / मीठासमा बहेका थियौ ?



जब हर नजरमा दिवानी थियो

सारा शहर लहडकै चलानी थियो

पत्थरै जब नरम सिरानी थियो

हरेक स्वप्न सुन्दर, रुमानी थियो



नसोध के कस्ता बहाना जुटे ?

क-कस्ता तरंग, तराना उठे ?



जब नौनीदिलै खुद मदानी थियो

हर श्वास बहानाको खानी थियो

छटपटी, हुटहुटी, हैरानी थियो

मनै मनको बेहद उडानी थियो



न धर्ती पाउमुनि, न पानी थियो

नयनभित्र उत्ताल राजधानी थियो

यो कच्चा उमेरको निशानी थियो ?

या सच्चा जीवनको फूलदानी थियो ?



पक्षीपंख खुलेझैं क्यै बाणी थियो

यार हाम्रो पनि जवानी थियो.......

2 comments:

javascript:void(0)