Thursday, November 25, 2010

गाउँको यादमा

आज गाउँको यादमा चुर्लुम्म डुबेको छु

गाउँ भुलेको लाजमा रुझेको छु








गाउँ उस्तो टाढा त होइन

तैपनि धेरै टाढा भयो

मनै अग्लो डाँडा भयो


भिरालो चौर र पीपलडाली

नहिंडी नहुने खेतका आली

कुलो र खोलो, बर्खे-भेल

भीर पहरा, रुखका छेल


उक्लने ओर्लने गौंडा खोल्सा

बाघचाल कुँदेका ढुंगे छपनी

बिपनामा उस्तो ख्याल हुँदैनन्

टिलपिल भर्छन सपनी


हिउँदे गोठ र बस्तुको ध्यान

ढुंगाको चुलो, परालको ओछ्यान

पकायो, खायो, सुत्यो लम्पसार

सुक्ख होइन, ढुक्कको संसार


कमेरो र रातो माटो लिपेका

जोडी आँखामा पर्बत छिपेका

आँगन जोडिएका घरै घर

स्मृतिले ढाक्छन दुवै नजर


स-सानो स्कूल, ठुल्ठुलो घाँस

हेडसरको लट्ठी र सिस्नुको डांठ

'सानु खरायो' को चर्को स्वर

मच्चिंदै रट्नु 'गोनुझा र चोर'


गाउँ उस्तो टाढा त होइन

तैपनि धेरै टाढा भयो

शहरियापन नै काँडा भयो


गाउँ अझै उस्तै होला कि ?


युद्धले गाउँ खाएको पढें

गाउँको कान्ति धुवाँएको पढें

घर घरको शान्ति मुर्झाएको पढें


माना सामल भरेर पनि

गाउँ नै धावामा रेको सुनें

सन्ततिलाई मुग्लान धपाएर

गाउँ आफैं बसाईं सरेको सुनें

(भाई भाई निर्घात लडेको सुनें)


आज गाउँको यादमा बिह्वल भएको छु

गाउँ थलिएको खबरले धरधरि रोएको छु

javascript:void(0)