शरद लागेपछि
एक जिस्ता खाली कागज लिएर
सोचें-अब फूलसंग कविता माग्छु
अब जुनसंग कविता माग्छु
पहाडसंग, खोलासंग, रुखसंग.......
सबै सबैसंग कविता माग्छु
फूलसंग भनें - तिम्रो अलिकति मात्रै महक दियौ भने
मेरो कविता उत्कृष्ट हुनेछ
फूलले भन्यो - कविताका जरा माटोमा हुनुपर्छ
मेरोजस्तै,
तिम्रो कविताका बिउहरु माटोमा रोपिहेर,
समय लाग्छ
जुनसंग भनें - तिम्रो अलिकति मात्रै चहक दियौ भने
मेरो कविता श्रेष्ठ हुनेछ
जुनले भन्यो - कवितामा पुर्णिमाको रोशनी भर्नलाई
अँध्यारोमा एक्लै सुत्नुपर्छ केहि रात
मैलेजस्तै,
समय लाग्छ
भएन,
सबैले यसरी जवाफ फर्काएपछि
मैले कवितालाई भनें-
कविता !तिमी आफैं कोरिए कसो होला मेरो जिस्तामा ?
पर्ख - कविताले पनि भन्यो,
समय त लाग्छ नै
मलाई उमार्नुपर्छ
उसले मसंग बीउ माग्यो
आँखाको कोषबाट निकालेर अलिकति बीउ दिएँ
उसले माटो पनि माग्यो
मनको खँदिलो बारी खनेर
अलिकति माटो दिएँ
यसरी नै,
उसले मागेका सबैथोक दिएपछि
कविताले भन्यो-सुन,
तिम्रो जिस्तामाथि मलाई रोपेपछि
अंध्यारोमा केहिदिन गुम्स्याएर राख
कहिलेकाहीं जलसिंचन गर
त्यो दिन घटस्थापना रहेछ
एकसाता पछि
कविता जमरा भएर पो उम्रियो !
रंगीन अक्षताको शिर्षक थपिदिंदा
पूर्णिमाको चहक
र फूलको महक
दुवै पायो,
मेरो त हर्षको सीमा रहेन,
सबैलाई बोलाएर भनेँ-
लौ, दशैं आयो